धरानका किरातीहरुले आफ्नो मौलिक पर्व उभौली सार्वजनिक स्थलमा नमनाउने

धरानका किरातीहरुले आफ्नो मौलिक पर्व उभौली सार्वजनिक स्थलमा नमनाउने

इनरुवा, बैशाख १९ गते ।

सुनसरीको धरानका किरातीहरुले आफ्नो मौलिक पर्व उभौली सार्वजनिक स्थलमा नमनाउने जनाएको छ । किराँत जन्य संस्थाहरूले कोरोना भाइरस (कोभिड(१९)ले गर्दा किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवार लगायत जातिले घर(घरमा पूजा मात्र गरेर मनाउन संस्थागत निर्णय भएको हो ।

तिथि अनुसार यो पटक वैशाख २५ गतेको उभौंली चाड परेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सांस्कृतिक विधिअनुसार पारिवारिक रूपले घरभित्र मात्र मनाउने र साकेला थानमा पनि परिस्थितिअनुसार सम्बन्धित ठाउँको आधिकारिक सरकारी निकायको समन्वयमा सीमित व्यक्तिको सहभागितामा उभौली पूजा गर्न, गराउन अनुरोध छ ।’

त्यसैगरी किरात चुम्लुङका अध्यक्ष योगराज लिम्बूले कोरोना महामारीका कारण सार्वजनिक स्थलमा पूजाआजा र च्याव्रुङ नाच प्रदर्शन नगर्ने निर्णय गरेको बताउनुभएको छ । याक्खा छुम्माका केन्द्रीय अध्यक्ष लीलबहादुर रोगुले विश्वव्यापी महामारीका कारण सामूहिक पूजाआजा नगरिने जानकारी दिनुभयो ।

किराँती जातिले हरेक वर्ष अन्नबाली छर्ने बेलामा उभौली चाड मनाउने गर्दछन् । अन्नबाली राम्रो होस, सुखशान्ति मिलोस् भनेर प्रकृति र पितृको पूजा गरी ढोल, झ्याम्टा बजाएर सामूहिक रूपमा नाच प्रदर्शन गर्ने गर्दछन् । अन्नबाली पाकेपछि मङ्सिरे पूर्णिमा तिथिमा उधौली पूजा गर्दछन् । यो चाडलाई किराँत राईले साकेला, लिम्बूले चासोक, याक्खाले चासुवा र सुनुवारले फोलषादर भनेर पुकार्दछन् ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणका कारण सीमित व्यक्तिहरूका बिचमा यस वर्षको बुद्ध जयन्ती प्रार्थना र पूजापाठ गरी मनाइने भएको छ । २५६४ औँ बुद्ध जयन्ती वैशाख २५ गते परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्