विवेक राई
भोजपुरमा कोरोना संक्रमणको जोखिम बढ्न नदिनका लागि बाहिरबाट आएकाहरुलाई राख्न बनाइएका क्वारेन्टाइनहरु ब्यवस्थित हुन नसक्दा त्यहाँ राखिएकाहरुलाई समस्या देखिन थालेको छ ।
कोरोना रोकथामका लागि स्थानीय सरकारले बनाएको क्वारेन्टाइनहरु उचित व्यवस्थापन हुन नसक्दा समस्या हुन थालेको हो । स्थानीय सरकार र प्रशासनबीच राम्रो समन्वय नहुनाले पनि क्वारेन्टाइनमा बस्नेहरु सास्ती खेप्न बाध्य भएका हुन ।
जिल्लाको पूर्वी अरुण गाउँपालिकामा बनेका क्वारेन्टाइनहरुमा सवै भन्दा बढी मानिसहरु राखिएका छन । स्थानीय तहले भने क्वारेन्टाइनहरु ब्यवस्थित भएको बताए पनि त्यहाँ बसेकाहरुले भने आफुहरुलाई आवश्यकता अनुसार सुबिधा नभएको गुनासो गरेका छन ।
अरुण गाउँपालिकाको वडा नम्वर ४ चरम्वीमा रहेको क्वारेन्टाइनमा राखिएकी नमुना घिमिरेका अनुसार ‘हामी बसेको क्वारेन्टाइनमा १२ जना छौ, तर पनि हामीलाई उचित ब्यवस्थापन र सामग्रीको अभावमा सहजरुपमा बस्न समस्या भएको छ खानेपानी, साबुन, सेनिटाईजर लगायतका सामग्री उपलव्ध छैन ।’
क्वारेन्टाइनमा आवासका सामग्री, खानेपानी, सेनिटाइजर लगायतका अत्यावश्यक सामग्रीको अभाव खड्किएको अधिकांश क्वोरेन्टाइनमा बस्नेहरुको गुनासो रहेको छ । उचित व्यवस्थापन नहुँदा विशेष गरी बालबालिकाहरुमा स्वास्थ्य समस्या देखिने समस्या आएको अभिभावकहरुले बताएका छन ।
जिल्लाको पूर्वी अरुण गाउँपालिका १ याङपाङ स्थित क्वारेन्टाइनमा रहेका संगिता श्रेष्ठका अनुसार बस्नका लागि एउटा म्याट र तन्ना दिइएको र बच्चा समेत रहेकाले वस्न त समस्यानै छ क्वारेन्टाइनमा रहेका वच्चाहरुलाई स्वास्थ्य समस्या देखिएको छ । बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुले राम्रो ब्यवस्थापन हुन नसकिरहेको बताई रहदाँ स्थानीय तहले भने मापदण्ड अनुसार नै क्वारेन्टाइन बनेको बताएका छन ।
अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्की भने पालिकाले श्रोत साधन अनुसार क्वारेन्टाइन ब्यवस्थित गरेको बताउँछन । जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाका अनुसार भोजपुर जिल्लाभर हाल २ सय चौरहत्तर जना क्वारेन्टाइनमा राखिएकोे छ ।
यस्तै भोजपुरमा कोरोना संक्रमणको अवस्था र ब्यवस्थापनको अवस्था अनुगमन गर्न बनेको मानव अधिकार अवस्था अनुगमन समितिका सदस्य शम्भू राईका अनुसार मापदण्ड अनुसार क्वारेन्टाइनमा आवश्यक पूर्वाधार, खानेपानी र अन्य सामग्रीहरु प्रर्याप्त मात्रमा नपाएको देखिएको छ ।