कोरोना पछिको नेपाल, एक आर्थिक प्रक्षेपण – भुवन कुमार वाग्ले

कोरोना पछिको नेपाल, एक आर्थिक प्रक्षेपण – भुवन कुमार वाग्ले

नेपालको सेवामूलक निजीक्षेत्र, होटल, पर्यटन, चलचित्र, निजी विद्यालय, परामर्श सेवा लगायतका क्षेत्र यस कोरोना प्रकोपले लामो समय वन्द हुंदा र आर्थिक गतिविधि ठप्प भएपछि लगभग ध्वस्त हुने अवस्थामा पुगेका छन । अझ भरखरै वैकवाट लोन लिएर ठुलो लगानी गरेकाहरु त उठिवास लाग्ने पक्का छ । वैकहरुको दुई प्रतिशत छुटले थोरै राहत देला तर आम्दानी नै ठप्प र साधारण खर्च र व्याज नियमित खर्च भएपछि उनीहरु पलायन हुने अवस्थामा पुगेका देखिन्छन् ।

यसको मुल कारणचाहिँ के हो भने कोरोना केहीगरी साम्य भएपनि यिनीहरू अरु क्षेत्र सुचारु भैसकेपछि अन्त्यमा मात्र खुल्ने हुन । हालसम्म कुनै औषधि नभएको, भ्याक्सिन पत्ता नलागेको र यसको विश्वव्यापी अधिक फैलावट हेर्दा कोरोना पुर्ण साम्य हुन अझै निकै समय लाग्ने देखिन्छ । त्यसैले अवको केही महिना निजी विद्यालय, होटल, सिनेमा, सार्वजनिक यातायात वन्द रहन्छन् र यसमा आधारित लगानीकर्ता र लाखौ जागिरे र श्रमिकहरु र तिनका आश्रित परिवार ठुलो जोखिमको अवस्थामा देखिन्छन् ।

यस महामारीले गर्दा मानिसको क्रय शक्ति घटेकोले उनीहरु निजी विद्यालयमा वच्चाको फी तिर्न असमर्थ हुन्छन् । वैदेशिक रोजगारीमा गएकाहरुको काम नभएकोले उनीहरूले पैसा पठाउने साटो यतै आउने वल गर्नेछन् । अधिकांश निजी विद्यालयमा पढ्नेहरुको आर्थिक श्रोत वैदेशिक रोजगारी हो, जुन कमजोर भएपछि अधिकांश निजी स्कुल अव वन्द हुन्छन । केही विद्यालय जहाँ अभिजात वर्गका विद्यार्थी पढ्छन, तिनीहरु मात्र टिक्छन । शिक्षा क्षेत्रकै अर्को विध्यार्थी वाहिर पठाउन परामर्श र कक्षा सन्चालन गर्ने कन्सल्टेन्सी व्यवसाय धराशायी भएको छ । अव गन्तव्य मुलुकमा कामको अभाव हुनाले उही काम गरेर पढ्ने सम्भावना कम भएकोले विद्यार्थीहरुको आकर्षण घट्ने मात्र नभई गएका विद्यार्थी समेत फर्कने भएकोले केही ठूला कम्पनी वाहेक सबैले वैकल्पिक व्यवसाय खोज्नु वान्छनिय छ ।

त्यसैगरी जताततै खुलेका होटल रेष्टुराँ ग्राहकको क्रयक्षमतामा कमी आएपछि वन्द हुन्छन, केही वाहेक पर्यटक लक्षित होटलहरू धितो लिलाम भएर टाट पल्टन्छन । रेमिट्यान्स तथा तरलता घट्ने, निक्षेप संकलन प्रभावित हूने र खराब कर्जा वढ्ने हुनाले केही वैक पनि डुव्नेछन । नेपाललाई लोन तथा अनुदान दिने देशहरुमा आर्थिक मन्दीको कारणले हामीले सो सुविधामा कटौति वेहोर्नुपर्ने छ । जसको कारण हाम्रो वजेट र आर्थिक प्रगति रिणात्मक हुनेछ ।

विदेश गएका नेपालीहरु नेपाल फर्केर आएपछि यहाँ रोजगारीको समस्या चर्कने छ । शहरी गरीवीको संख्या वढेपछि अपराध लुटपाट वढ्नेछ । रियल ईस्टेट व्यवसाय धराशायी हूनेछ ।

देशले आर्थिक अभावका कारणले कुनै प्याकेज ल्याउने आशा नभएकोले अस्थिरता अशान्ति हुने सम्भावना छ । संघियता जस्तो खर्चिलो प्रणाली अपनाइएको हाम्रो देश यी कारणले पछि पर्ने निस्चित छ ।

तसर्थ अवका दिनहरु बर्षहरुमा नेपालीहरुलाई सजिला छैनन । यसको समाधानका लागि वहस केन्द्रित हुन जरुरी छ । अनावश्यक काममा अलमलिएको नेपाली समाज आगामी विपत्ति टार्न तयारीमा लाग्न आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्