नेपाल–भारत सीमा नाका धार्चुलामा उद्धार गरेर ल्याएका अछामका ५० जनालाई सम्बन्धित गाउँपालिकामा २१ दिन क्वारेन्टाइनमा राखिने भएको छ । तुर्माखाँद गाउँपालिकाका १८ जना र ढकारी गाउँपालिकाका ३२ जनालाई सम्बन्धित गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा शनिबारबाट राखिने भएको हो । धार्चुलाबाट अछाम आएका मध्येमा ४६ पुरुष र चारजना महिला रहेका छन् ।
सम्बन्धित स्थानीय तहमा पुग्ने वित्तिकै परिवार र अन्य व्यक्तिको सम्पर्कमा आउन नदिएर सिधै क्वारेन्टाइमा राखिने भएको छ । अछाम आएका सबै जना धार्चुलामा समेत पूरा दिन क्वारेन्टाइनमा नबसेको र एकै बसमा आएका कारण सबै जनाले २१ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको बताइएको छ ।
सबैलाई क्वारेन्टाइनमा राखेर केही दिनमा आरडिटी परीक्षण समेत गरिने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । अछाममा प्रवेश गर्ने कुनै पनि व्यक्तिले सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा २१ दिन बस्नुपर्ने अनिवार्य गरिएको छ ।
दुवै नगरपालिकाले धार्चुलाबाट आएका व्यक्तिलाई खान र बस्न सुविधा गाउँपालिबाटै व्यहोर्ने तुर्माखाँद गाउँपालिकाले भने वडा नम्बर १ मा रहेको रहफमा रहेको क्वारेन्टाइनमा तीन हप्ता बस्ने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माको भनाइ छ ।
ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर ओलीले केहीलाई गाउँपालिकाको र केहीलाई वडाले निर्माण गरिएका क्वारेन्टाईमा राखिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
अछाम प्रवेश गर्ने डोटी–अछामको सीमा नाका चौखुट्टेमा धार्चुलाबाट ल्याइएका अछाम, बाजुरा, सुर्खेतका व्यक्तिहरुको सामान्य स्वास्थ्य परीक्षण समेत गरिएको छ । अछामका व्यक्तिसँगै सुर्खेतका २३ जना, तीन जना कालिकोट र एकजना डोल्पाका भएकोले उनीहरुलाई सम्बन्धित ठाउँमा पठाएको बताइएको छ । / गोरखापत्रबाट साभार गरिएको