सप्तरीमा गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि गाउँकै नाका बन्द गर्दै स्थानीय

सप्तरीमा गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि गाउँकै नाका बन्द गर्दै स्थानीय

देवरामप्रसाद यादव
सप्तरी, वैशाख १६ गते । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न ठाउँका नाका बन्द गरिएका छन् ।

राजविराज नगरपालिका –१ को पडरीया आघारभुत विद्यालयबाट पडरीया, दिधवा जाने मुख्य सडकमा सवारी साधन आवतजावतमा रोक लगाएको छ । सडकमा बाँसको तगारो राखेर सूचना टाँस गर्दै नयाँ मान्छेलाई प्रवेश निषेध गर्नुका साथै सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यो सडकमा साढे तीन सातादेखि नै रोक लगाएको हो । नयाँ मान्छेको ओहोरदोहोर बढेपछि कोरोना सङ्क्रमणको जोखिम पनि बढेको भन्दै स्थानीयवासीले लक डाउनका समयमा नयाँ मान्छे र जथाभावी सवारीसाधनको आवतजावत रोक्न यस्तो व्यवस्था गरिएको स्थानीयवासी सुरेश चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी, राजविराज नगरपालिका –१० बिरौलका स्थानीयवासीले लकडाउनलाई उल्लङ्घन गर्नेको सख्या बढेको भन्दै नाका बन्द गरेको छ । एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारी साधन र प्रेस समेतको सवारी साधन चलाउन पाइने र बाहिरका मानिसलाई गाउँमा प्रवेश निषेध गर्नेगरी बाटो बन्द गरेको स्थानीयवासीको भनाइ छ ।
यता, महादेवा गाउँपालिका–१ पकरी, सोनराको विभिन्न नाकामा स्थानीयवासीले बन्द गराएको वडाध्यक्ष जयश्वर किशोर दासले जानकारी दिनुभयो । उहाँले लक डाउनको व्यापक उल्लङ्घन भएको र नयाँ मान्छेको आवतजावत बढेको भन्दै स्थानीयवासीले आफ्नो गाउँटोलमा बाहिरका मानिसलाई प्रवेश निषेध गर्नुका साथै सवारी साधन बन्द गराएको बताउनुभयो ।

सप्तरीको भित्री टोल जाने सडकमा पनि तगारो हालेर बाटो बन्द गरिएको छ । डाकनेश्वरी,कञ्चनरुप,शम्भुनाथ,खडक,सुरुड्डा लगायत नगरपालिकाको धेरै टोलमा नयाँ मान्छेको प्रवेशमा रोक लगाउनुका साथै सवारीसाधन प्रवेशमा रोक लगाएको छ ।
त्यसैगरी हनुमाननगरकंकालिनी,सप्तकोशी नगरपालिकामा पनि बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ । स्थानीयवासीले तगारो राखेर आवतजावतमा रोक लगाएपछि यसको व्यापक विरोध भएको छ । विरोधका कारण केही ठाउँमा प्रहरीको सक्रियतामा स्थानीयवासीले उक्त तगारो हटाएर आवतजावत सहज बनाएका छन् ।

अपरिचित नयाँ मान्छेको आगमन हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले स्थानीयवासीले आफ्नो गाउँ टोल छिर्ने नाकामा यसरी तगारो राखेर सडक बन्द गराई प्रवेश निषेध गरिएको छ । महादेवा गाउँपालिका–१ पकरीका जय नारायण यादवले कोरोना सङ्क्रमति एक जना नयाँ मान्छे गाउँ पसेमा सिङ्गो गाउँमा नै सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले आफ्नो गाउँका बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि बाटो बन्द गराउनुपरेको बताउनुभयो ।

स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर नै बाटो बन्द गराएको स्थानीयवासीको दाबी छ । सरकारले लकडाउन गरेको बेलामा यसै पनि आवतजावत रोकिनुपर्ने हो तर लकडाउनको उल्लङ्घन गर्दै बाहिरबाट अपरिचित व्यक्तिको आवतजावत देखिन थालेपछि बाटोमा तगारो राखेर बन्द गराएको स्थानीयवासीको भनाइ छ । यसले सरकारले लागू गरेको लक डाउनको कार्यान्वयमा सहज बनाएको उनीहरुको दाबी छ ।
जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय तहलाई जानकारी नदिई यसरी सडक बन्द गराउनु गैरकानूनी काम हो । जिल्ला प्रशासन कार्यालय सप्तरीले सडक बन्द गराएको कसैले उजुरी नदिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्