हामी त्यो फराकिलो देशका वासीन्दा हौं -
जहाँ पृथ्वी भन्दा पहिला ब्रह्माण्डलाई पुजिन्छ,
कर्म भन्दा पहिले वचनबद्धता भजिन्छ,
परिवार भन्दा अगाडि देशलाई ठानिन्छ,
एक्लो मानव भन्दा अग्लो मानवता मानिन्छ ।
प्रश्न आउछन् मनमा धेरै आजकाल -
टुहुरो साथी सडकमा कता डुलिरहेको छ?
शासक किन अध्यात्मको महत्व भुलिरहेको छ?
गाह्रो भई सक्यो अनुमान गर्न पनि,
कर्मविर योद्धाले अनाज कहिले पाउने छ?
कल्पनाहरु आउछन् मनमा धेरै आजकाल -
प्रकृतीबाट विज्ञान भासिएकै हो,
शासकबर्गको चरित्र नासिएकै हो,
चाणक्य-सोचको त खडेरी नै छ,
आर्थिक दुरावस्था देशमा छाएकै हो,
गलेर हाम्रो ज्ञानको सुमेरु,
हाम्रो नेपालीत्व सङ्कट्मा आएकै हो ।
चिच्याउछौं धेरै, हामी स्वतन्त्र छौ भनेर,
बिदेशी प्याटेण्टको औषधी खाइन्छ,
आफ्नो छोडेर सबै शिक्षा,
बिदेशी नक्कल गर्न लाग्द बेरोजगारी बढेको पाइन्छ
बिकासको नाममा नेपालीपन पनि हरायो,
निर्यात भन्दा आयात धेरै भएको पाइन्छ ।
आऊ साथी, अब ढिलो नगरौं,
आफ्नो नेपालीत्व जगाउने हात बढाऔं,
आफ्ना आदित्य, रुद्रको पहिचान गरौ,
वाशुदेब कुटुमबकंको मर्यादा कायम राख्दै,
भावी पुस्तालाइ वास्तविक नेपालको उपहार चडाऔं ।
- मनिष कुमार साह