विराटनगर रानी अस्पतालमा दरबन्दी अनुसारको चिकित्सकको अभाव,सयौ विरामीलाई सास्ती

<span class='c1'>विराटनगर रानी अस्पतालमा दरबन्दी अनुसारको</span> <span class='c2'>चिकित्सकको अभाव,सयौ विरामीलाई सास्ती</span>

प्रेम देवान
विराटनगर । रानी अस्पताल मा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । विराटनगर–१५ मा रहेको उक्त अस्पताल नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ‘प्रथम सेवा बिन्दु’का रूपमा तोकिएको भए पनि पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरू घण्टौँ लाइन बस्न बाध्य छन् । अस्पतालमा दैनिक तीन सयभन्दा बढी सेवाग्राही बीमा सिफारिस तथा स्वास्थ्य परीक्षणका लागि पुग्ने गरेका छन् । तर हाल करारमा नियुक्त एक जना छात्रवृत्ति चिकित्सककै भरमा बिरामी जाँचदेखि बीमासम्बन्धी सिफारिससम्मको सम्पूर्ण काम सञ्चालन भइरहेको छ ।

सरकारको झन्झटिलो स्वास्थ्य बीमा प्रक्रिया र अस्पतालले दैनिक १२५ वटा मात्र टोकन वितरण गर्ने व्यवस्थाका कारण थप समस्या उत्पन्न भएको सेवाग्राहीहरूको गुनासो छ । टाढाटाढाबाट उपचारका लागि आउने बिरामीहरू घण्टौँ कुर्न बाध्य हुने गरेका छन् ।

विराटनगर–११ रामपुरका आदित्य कुमार साहले एक जना डाक्टरको भरमा सयौँ बिरामी हेर्नुपर्ने अवस्थाले सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको बताए । “टाढाबाट आएका बिरामी दिनभर लाइनमा बस्न बाध्य छन,” उनले भने ।अस्पतालका मेडिकल अफिसर डा। अशिष भगतले आफू स्वयं बिरामी हुँदा पनि औषधि खाएर सेवा दिन बाध्य भएको बताए । “म एक्लै छु । बिरामी हुँदा पनि उपचार सेवा रोकिएको छैन,” उनले भने । अस्पतालमा व्यवस्थापन समिति नहुँदा थप समस्या सिर्जना भएको उनको भनाइ छ ।

“केही वर्षअघि अस्पताल व्यवस्थापन समिति थियो । अहिले न पर्याप्त चिकित्सक छन, न प्रभावकारी व्यवस्थापन समिति,” डा.भगतले भने, “चाँडोभन्दा चाँडो व्यवस्थापन समिति गठन गरेर अस्पताललाई व्यवस्थित बनाउन आवश्यक छ ।”अस्पतालमा बिरामीले निःशुल्क पाउनुपर्ने औषधिसमेत नियमित रूपमा उपलब्ध नभएको गुनासो पनि बढ्दै गएको छ । बिरामीहरूका अनुसार चिकित्सकले लेखिदिएको औषधि वितरण कक्षमा पुग्दा ‘औषधि सकियो’ भन्दै फर्काइने गरिएको छ । कहिले कर्मचारी अभाव त कहिले औषधि अभावका कारण समस्या हुने गरेको उनीहरूको भनाइ छ ।

अस्पतालका कार्यालय प्रमुख मनिकचन्द भगतका अनुसार अस्पतालमा हाल १८ जना करार र ५ जना स्थायी कर्मचारी कार्यरत छन् । तर एक जना मात्रै मेडिकल अफिसर हुँदा सेवा प्रवाह प्रभावित भएको उनले बताए । “अस्पतालको समस्याबारे पटक–पटक विराटनगर महानगरपालिकालाई जानकारी गराएका छौँ, तर हालसम्म ठोस समाधान हुन सकेको छैन,” उनले भने ।

यता विराटनगर महानगरपालिका का स्वास्थ्य महाशाखा प्रमुख दिलीपकुमार यादवले रानी अस्पतालमा चिकित्सक अभाव रहेको स्वीकार गरे । चिकित्सक तथा कर्मचारी नियुक्त गर्ने अधिकार स्थानीय तहसँग नरहेको भन्दै उनले प्रदेश सरकार र संघीय सरकारलाई पटक–पटक पत्राचार तथा इमेलमार्फत जानकारी गराइएको बताए ।

“महानगरले अस्पताल व्यवस्थापनसम्बन्धी कार्यविधि तयार गरिसकेको छ । बोर्ड बैठकबाट समेत निर्णय भइसकेको छ,” यादवले भने, “अब चाँडै व्यवस्थापन समिति गठन हुनेछ । त्यसपछि समस्या समाधानतर्फ अघि बढ्ने अपेक्षा गरेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्