अहिले को परिस्थितिमा कोभिड १९ का कारण विश्व नै आक्रान्त भएको अबस्थामा छ। विकसित भनाउदा राष्ट्रहरु झन बढी ग्रसित भएको अबस्थामा यसको प्रभाव ले हाम्रो देश अछुतो रहन सक्दैन ।हामी गरिब छौ भन्ने कुरा हाम्रा कयौ पुस्ता हरु ले भन्दै आए हामी पनि भन्दैछौँ । र अब हाम्रा सन्ततिले के भन्लान त्यो अर्को पाटो हो । आजको मुख्य प्रश्न हो यो गरिब भन्ने शब्दलाई धनीमा कहिले प्रतिस्थापन गर्ने ?
हामी ले किताबमा मात्र पढ्यौ" हाम्रो देश कृषि प्रधान देश "हो तर यसलाई व्यवहार मा कहिल्यै लागू भएको पाएनौं । हामीले पढ्यौ जल स्रोत को धनी देश यसलाई कहिल्यै सदुपयोग गर्न तिर लागेनौं।हाम्रा पुस्ता हरुले गर्दै आएको परम्परागत कृषि प्रणलीमा सुधार गरेर आधुनिकीकरण गर्नु पर्छ भन्ने सोच्नु को सट्टा आफ्नो भए भर को जमीन बाँझो राखेर खाडी को पचास डिग्री तापक्रममा भेडा चराउन वा विदेशी भूमिमा आफ्नो श्रम पसिना बेचेर ती शहर ती देश हरूलाइ सम्बृद्ध बनाउन हाम्रो एउटा पुस्ताले आफ्नो जवानी बितायो । र ती देश आज संवृद्धि को यात्रा मा छन् । तर हामी भने हाम्रा ती युवा हरु ले जीवनको माया नगरी आफ्नो देश र परिवार त्यागेर कमाएको पैसा जुन रेमिट्यान्सको रूप मा नेपाल भित्रियो त्यसै मा रमायौ।
मोजमस्ती र रमाइलोमा त्यो पैसा खर्च भयो तर उत्पादन मुलक काममा पैसा प्रयोग हुन पाएन । त्यसैले हामी हाम्रो देश गरीब छ भन्ने लघुताभासमै हरायौ ।
धेरै पछि महामारीकै रूपमा भएपनि हामीले यसलाई अवसरका रूपमा ग्रहण गर्नुपर्दछ । किनभने संसार नै कोरोनाको महामारीका कारण स्तब्ध छ र धेरै देशले धमाधम रोजगारीका अवसरहरु कटौती गर्दै कामदार लाई आफ्नै देश फिर्ता गर्दैछन् । हाम्रो देशको परिप्रेक्ष्य मा पनि हजारौंको संख्यामा युवा स्वदेश फर्कनेमा दुई मत छैन । आफ्नो जीवनको उर्वर समय विदेशको भूमि मा बिताएका युवाहरुले आर्जन गरेको सीप र क्षमता लाई स्वदेशमा प्रयोगगर्दै देशलाई संवृद्धिको बाटोतर्फ अघि बढाउन नितान्त आवश्यक छ ।
कृषिको आधनिकीकरण अब किन पनि सम्भव छ भने विदेशका मरुभूमिलाई हराभरा बनाउने काम हाम्रै दाजु भाइले गरेका थिए र अब फर्कनेमा पनि धेरै त्यस्ता दाजुभाइहरु नै अग्रपंक्तिमा आउँछन् । उनीहरुले त्यहा आर्जन गरेको सीप र दक्षता लाई हाम्रो देशको बाँझो जमीनमा पोख्न लाउनुपर्छ। पहिले छाडेर गएका बाँझो जमीन हराभरा पार्ने काम अब तिनै दाजु भाइले यहां गर्नेछन र हामीले उनीहरुलाई हौसला दिँदै यहां भएका बेरोजगार युवाहरु लाई समेत परिचालन गरी कृषि को आधुनिकीकरणमा अघि बढ्नुको विकल्प छैन ।
अब आयात गरेर खाद्य वस्तु उपभोग गर्ने हैन ठूलो परिणाममा खाद्य वस्तु जडीबुटी फलफूल तरकारी उत्पादन गरी निर्यात गर्ने परिवेशमा पुग्नका लागि कति पनि गार्हो छैन । मात्र कमी छ त हाम्रो इच्छा शक्ति को । हो अबका दिनमा हामीले यसलाई बढाउनु पर्छ । अब हामीले आफ्नो विवेकलाई सही ठाउँमा प्रयोग गर्नु पर्छ ,सकेसम्म नेपाली वस्तुको उपभोगमा हाम्रो ध्यान केन्द्रित गर्नुपर्छ । सरकार वा नेतालाई दोष देखाएर म गरीब छु र गरीब भए भनेर रुने कराउने हैन अब हाम्रै बलबुतामा गरीब छौं भन्ने लघुताभास लाई चिर्नु पर्छ ।
लेखक प्राइभेट अस्पतालहरुको साझा संगठन (अफिन )प्रदेश एक का उपाध्यक्ष तथा नेपाल जेसिज को राष्ट्रिय अभियान मेरो देश आफै बनाउछु का राष्ट्रिय संयोजक हुन ।