कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता लिएरै छाड्छौं: प्रधानमन्त्री

कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता लिएरै छाड्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसलाई फिर्ता लिएर छाडिने बताउनुभएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा प्रस्तुत गर्नुभएकाे सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएको हो ।
उहाँले नेपाली भूभाग समेटेको नयाँ नक्सा पारित गर्न संविधान संशोधनको प्रस्ताव यही सदनमा आउने बताउनुभयो । संविधान संशोधनको प्रस्ताव पारित भएको दिन जनताले दीपावली मनाउने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

भूगोल सानो ठूलोको आधारमा राष्ट्रियता ठूलो सानो नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । कुनै कुनै देशको भूगोल सानो ठूलो हुने वा विकासमा अघि वा पछि हुनसक्छ तर राष्ट्रियता प्रयोग बराबर हुने बताउनुभयो । उहाँले सानो देशले पनि स्वाधीनता र विश्वमा आफ्ना नीति तय गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले राणा शासनपछिकाे जस्ताे एक देशको सेना अर्काे देशको सिमानामा राखेर राष्ट्रियता कमजोर हुने स्वाधीनताको परिकल्पना गर्न नसक्ने बताउनुभयो । साथै सरकार ‘जानै जान लाग्या थियो, राजदुतले अडायो’ भन्ने हल्ला गर्नेहरूका लागि यो सरकार नबनेको बताउँदै 'यो सरकारले जनताले बनाएको हो, कुनै देशले ढाल्ने कल्पना नगरे हुन्छ' भन्दै चेतावनी समेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले नयाँ नक्सा तयार गरेर ऐतिहासिक उपलब्धी हासिल गरेको र त्यसलाई संविधानलगायत पाठ्यक्रममा लोगो चिन्हहरूमा पनि कार्यान्वयन गरिने बताउनुभयो । “नक्सा नयाँ छापेर ऐतिहासिक काम भएको छ,” उहाँले भन्नुभयो, “अब संविधानमा परिवर्तन गर्ने, पाठ्यपुस्तकका लोगो परिवर्तन ल्याउनेछ ।” तर यो काम सोचेजस्तो सहज नभएकोतर्फ प्रधानमन्त्री ओलीले सचेत गराउनुभयो । “यो एकदम सजिलो हुनेछैन । हामीले विभिन्न क्रिया प्रतिकृया देखेका छौँ ।” उहाँले भन्नुभयो । भारतको राष्ट्रिय प्रतीक र नाराकै आधारमा आफ्नो भूमि नेपालले फिर्ता गर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भारतको प्रतीक चिन्हमा एउटा सिँह छ र त्यसको मुनि सत्यमेव जयते लेखिएकाे छ । अब म सोध्ने छु, भारतलाई कि सिंहमेव जयते या सत्यमेव जयते ? हामी सत्यमेव जयतेमा विश्वास गर्छौँ र हामी हाम्रो भूमि फिर्ता गर्नेछौँ ।”
- गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्