नायिका बर्षा राउतले सामाजिक सञ्जालमा आलोचना भएपछि माफी मागिन

नायिका बर्षा राउतले सामाजिक सञ्जालमा आलोचना भएपछि माफी मागिन

काठमाडाैं । आफ्नै अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचनाको सिकार बनेपछि नायिका बर्षा राउतले माफी मागेकी छिन । कालापानी, लिपुलेक र लिम्पियाधुरा सिमा विवादका बिषयमा नेपालले भारतसँग टक्कर लिएका कारण आफुलाई अप्ठायारो परेको अभिव्यक्ति दिएकी राउतले आइतबार सार्वजनिकरुपमा माफी मागेकी हुन् ।

नेपालले मेरै भुमी भनेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नुपर्ने र पत्रकारहरुले अनावश्यक बिषयलाई उचालेको अर्थ लाग्ने उनको अभिव्यक्ति बाहिरिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।

उक्त अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेपछि उनले एक बिज्ञप्ति नै जारी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र त्यसलाई फिर्ता ल्याउन नेपाल सरकारले चालेको कदममा आफु पनि आफ्नो ठाउँबाट अग्रपङ्क्तिमा उभिन तयार रहेको बताएकी छिन ।

उनले भनेकी छिन -‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ ।’

उनले एउटा अन्तरवार्तालाई लिएर गरिएको हो-हल्ला आफुलाई भावनात्मक ठेस पुगेको समेत बताएकी छिन । अन्तर्वार्तामा बोल्दै जाँदा जिब्रो चिप्लिएर आफु चुकेँको उनलेस्वीकार समेत गरेकी छिन । तर जिब्रो चिप्लिए पनि मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा अलिकति पनि नचुकेकाे उनको प्रष्टीकरण छ ।

उनले भनेकी छिन -‘कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।’

यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्ने र  दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्नेतर्फ पनि सबै सचेत रहनुपर्ने उनको भनाइ छ । भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट यस्तो खतरा देखिन थालेको  भन्दै उनले असभ्य र असत्य पत्रकारिता नेपाली मिडियाले पनि नगरोस् भन्न आफुले खोजेको उनले प्रष्ट पारेकी छिन ।

उनले अगाडि भनेकी छिन -‘समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।’

नेपाली चेली मनिषा कोइरालाले भनेका कुरालाई आफुले गर्वका साथ सेयर गरेको भन्दै उनले त्यसरी नै नेपाली भावनलाई पनि खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार रहेको बताएकी छिन । आफुले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती भएको हुनसक्ने भन्दै उनले क्षमायाचना गर्दै आगामी दिनमा बोल्दा पक्कै हेक्का राख्ने बाचा गरेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्