विराटनगर । लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदनअनुसार कुल बचत २३ करोड ६३ लाख ६९ हजार ५३४ रुपैयाँ पुगेको छ भने कुल लगानी २६ करोड ९६ लाख १६ हजार ३०० रुपैयाँ रहेको छ।




संस्थाले विभिन्न एकाइमा विभाजन गरी साधारण सभा आयोजना गरेको हो। यसअन्तर्गत एकाइ नम्बर १ को कार्यक्रम विराटनगर–१६ स्थित मिल्स माध्यमिक विद्यालयमा र एकाइ नम्बर २ को कार्यक्रम विराटनगर महानगरपालिका–१७ स्थित न्यू मुन सेकेन्डरी बोर्डिङ स्कुलको प्राङ्गणमा सम्पन्न भएको हो।


एकाइ नम्बर १ को कार्यक्रम संस्थाका अध्यक्ष प्रमोदकुमार शाहको अध्यक्षतामा सम्पन्न भएको थियो। त्यस्तै, एकाइ नम्बर २ को साधारण सभा संस्थाका उपाध्यक्ष उज्ज्वलकुमार यादवले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।
संस्थाका अनुसार हाल सहकारीमा करिब २ हजार ९ सय सदस्य आबद्ध छन्। संस्थाले सदस्यलाई अधिकतम २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको छ। ऋणको ब्याजदर १२ देखि १४ प्रतिशतसम्म रहेको छ। आपत्–विपत्का समयमा समेत सदस्यको आवश्यकताअनुसार ऋण उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ। आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल लागत ४ करोड ६० लाख ९४ हजार १२० रुपैयाँ रहेको छ।


साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारीलाई सम्मान गरिएको थियो। उत्कृष्ट बचतकर्तातर्फ देवनारायण महतो, तुलसी पासमान, रेनुदेवी मण्डल, रेनुदेवी गुरुङ र नवीनकुमार शर्मा सम्मानित भएका छन्। त्यस्तै, उत्कृष्ट ऋणीतर्फ पप्पु सिन्हा, विजयकुमार खड्का, दिनेशप्रसाद दास र मेनकुमारी श्रेष्ठ सम्मानित भएका थिए। संस्थाका ऋण अधिकृत रविकुमार शाह र सुजाता श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।


कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार निराजनकुमार शाहलगायतको उपस्थिति रहेको थियो। साधारण सभामा सांस्कृतिक कार्यक्रमअन्तर्गत नृत्य प्रस्तुतिका साथै रक्तदान कार्यक्रममा सहयोग पुर्याउने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष प्रमोदकुमार शाह, सचिव सञ्जय पण्डित, कोषाध्यक्ष गोविन्द साहलगायत पदाधिकारी तथा सदस्यहरूको सहभागितामा साधारण सभा सम्पन्न भएको हो।