अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्दाको दुखद घटना

अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्दाको दुखद घटना

सहदेव बस्नेत / ललित बसेल

जाजरकोट/सुर्खेत, जेठ १४ गते । अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको छ ।

बेहुली ल्याउन भनी शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुग्नुभएका जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका २४ वर्षीय नवराज विकसहित तीन युवाले ज्यान गुमाउनुभएको हो ।

विकसहित १९ युवाको टोली जब बेहुलीको घरनजिक पुग्यो, गाउँलेको आक्रमणबाट ज्यान जोगाउन भागाभाग भयो । त्यति मात्र होइन, ज्यान बचाउन भेरी नदीमा हामफालेका भनिएका ६ मध्ये विकसहित तीन जनाको शव फेला परेको छ । अन्य तीन जना मङ्गलबारसम्म बेपत्ता छन् । १२ युवा घाइते भएका छन् ।

विकसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार र जाजरकोट भेरी नगरपालिका–४ का गणेश बुढाको शव फेला परेको छ भने अन्य तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोरकुमार श्रेष्ठले बेपत्ता ६ जनामध्ये मङ्गलबार दिउँसोसम्म तीन जनाको शव फेला परिसकेको बताउनुभयो । यस्तै भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक अझै बेपत्ता रहेको जानकारी उहाँले दिनुभयो । डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान थालिएको र बेपत्ता भएकाको खोजी जारी राखेको बताउनुभयो ।

विकको चौरजहारी–८, सोतकी मल्ल थरकी किशोरीसँग लामो समयदेखि प्रेमसम्बन्ध थियो । आइतबार ती किशोरीलाई ल्याउन विकसहितको युवाको टोली किशोरीको गाउँ पुगेको थियो । विकको टोलीसँगै जानुभएका भेरी नगरपालिका–४, खलङ्गाका सुदीप खड्काले किशोरी लिन जाँदा पूरै गाउँ उर्लेर आई युवाहरूलाई आक्रमण गर्दै खेदेको बताउनुभयो ।

त्यस्तै सँगै जानुभएका भेरी नगरपालिका–४ का सरोज भडेलले गाउँ नै उर्लेर आएपछि भागेर ज्यान बचाएको बताउनुभयो । उहाँले आक्रमण गर्न आएका महिला केटाकेटीका हातहातमा दाउराको चिर्पट, लाठी रहेको उल्लेख गर्नुभयो । बेपत्ता अन्य एक जना रुकुम चौरजहारीका गोपाल बुढाथोकी आइतबार नै सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । केही घाइते र सँगै गएकाहरूले पूरै गाउँ उर्लेर आएको र घेरा हालेर कुटपिट गरी ६ जनालाई भेरीमा फालिदिएको दाबी गरेका छन् ।

स्थानीयवासीका अनुसार जाजरकोटबाट केटाहरू आएको थाहा पाएपछि गाउँमै भलिबल खेलिरहेका युवा र खानेपानीसम्बन्धी बैठकमा बसेका युवा, महिला तथा अन्य पुरुषले आक्रमण गरेका थिए । नवराज सहितको युवा समूहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै गाउँलले आक्रमण गरी ढुङ्गामुढा प्रहार गर्दै लखेटेर भेरीमा फालिदिएकोे प्रत्यक्षदर्शीले बताएका छन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त पन्तले घटनाको छानबिन सुरु भइसकेको बताउनुभयो ।

घटनापछि चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र प्रेमिकासहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार उहाँहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी आएको प्रहरीले जनाएको छ । नवराजका बाबु मुनलाल विकले किटानी जाहेरी दिनुभएको हो । बुवा मुनलाल विकले छोराले न्याय पाउनुपर्ने बताउनुभएको छ । केटीले बोलाएर नै गएको भन्दै उहाँले घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्