लकडाउन : आजको परिप्रेक्ष्यमा चालिनुपर्ने कदम – आकाश दुलाल

लकडाउन : आजको परिप्रेक्ष्यमा चालिनुपर्ने कदम – आकाश दुलाल

२०७६ पौष १५ गते निमोनियाका बिरामीको सङ्ख्या वुहानमा एक्कासि बढ्दै गयो । त्यसको एक सातापछि नयाँ कोरोना भाइरस आएको पुष्टि भयो । आजका दिनसम्म पचास लाखभन्दा बढी सङ्क्रमित छन् र तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ । संसारका लगभग सबै देशलाई यसले छोएको छ ।

यस महामारीको उपचारका लागि विभिन्न अनुसन्धान भइरहेका छन् । कम्तीमा पनि खोप बन्न नौ महिनादेखि चौबीस महिना लाग्ने अनुमान गरिएको छ । अहिले पहिलो चरणको सफलतापछि दोस्रो चरणमा परीक्षण सुरु भएको अवस्था छ । खोप नआउन्जेलसम्म यसलाई रोकथाम गर्ने एउटै विकल्प लकडाउन हो । चिनको वुहान सहरमा पनि लकडाउनकै कारण यो महामारी थप फैलिन पाएन र नियन्त्रण हुन सक्यो । धेरैजसो देशले लकडाउन नै गरेको पाइन्छ ।

आजसम्म आइपुग्दा हामीले दुई महिनाको लकडाउन अवधि पार गरिसकेका छौँ । लकडाउनकै कारण भाइरस फैलिने क्रम तुलनात्मक रूपमा कम भएको हुनुपर्छ तर यसले अर्कातिर भने अर्थतन्त्रलाई धराशायी बनाएको छ । कोरोना भाइरसलाई हामी एउटा आइस वर्गका रूपमा लिन सक्छौँ । यसमा देख्दा एक भाग सानो देखिन्छ तर नदेखिने भागले धेरै प्रभाव पार्दछ । यस महामारीले स्वास्थ्य क्षेत्रमा मात्र नभएर आर्थिक र सामाजिक क्षेत्रमा धेरै नै असर पु¥याएको छ ।
देशले आज कहिल्यै कल्पना नगरेको आर्थिक, सामाजिक र स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेको छ । साना तथा मझौला उद्योगदेखि लिएर ठुला उद्योगका साथै होटल व्यवसाय सबै ठप्प छन् । उद्योग व्यवसाय बन्द हुँदा यसको असर लगानीकर्ता, मजदुर, तिनका परिवार, बैङ्क तथा वित्तीय संस्थालगायत उत्पादन र बजारीकरणमा पर्छ ।

नेपालमा साना तथा मझौला उद्योग चार लाख अठार हजार छन् भने ठुला उद्योग सात हजार आठ सय छन् । यिनले तीस लाख रोजगारी सृजना गरेका छन् । उद्योग र व्यवसायले नेपालको कुल गार्हस्थ्य उत्पादनमा पच्चीस प्रतिशत हिस्सा ओगटेका छन् । यी कल–कारखानाहरूमा बैङ्कको करिब रु.३२ खर्ब ५० अर्ब लगानी छ ।

त्यसै गरी विकास–निर्माणमा बीस लाखले रोजगारी पाएका छन् भने झन्डै ७.५ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान छ । करिब आठ हजारको सङ्ख्यामा होटल रहेका हुनाले यस व्यवसायसँग आठ लाखभन्दा बढी रोजगारी जोडिएका छन् । प्रतिवर्ष नेपालमा नयाँ जनशक्ति करिब पाँच लाख बाह्र हजार तयार हुने तथ्याङ्कले देखाउँछ भने एक लाखले मात्र रोजगारी पाउने गर्छन् । अझ अहिलेको विषम स्थितिमा २० प्रतिशतभन्दा बढी नेपालीले विदेश वा छिमेकबाट स्वदेश फर्कन रुचाएको देखिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले यो कोरोना भाइरस जीवनभर नै रहन सक्ने आशङ्का गरेको छ । यो आशङ्का सत्य भयो भने हामीले कोरोना भाइरससँगै अगाडि बढ्नुपर्ने स्थिति आउनेछ । यस्तो भएको खण्डमा हामीले रोग प्रतिरोधक क्षमता बढाएर सङ्क्रमणका कारण हुने सम्भावित मृत्युबाट बच्नुपर्छ भने यसलाई एच.आई भी एड्सजस्तै सामान्य मानेर हिँड्नुको विकल्प हुँदैन ।
नेपालमा हालसम्म ८५ प्रतिशत उद्योग र व्यवसायको नाफा घटिसकेको पाइन्छ भने १२ लाखले भन्दा धेरैले रोजगारी गुमाएका छन् ।

साना तथा घरेलु उद्योगले घरभाडा, कामदारको तलबका साथै ब्याज तिर्न सकेका छैनन् । रेमिट्यान्समा २० प्रतिशतभन्दा बढी प्रभाव परेको देखिन्छ । उद्योग व्यवसाय प्रभावित हुँदा धेरै रोजगारी जोखिममा परेका छन् । रोजगारीका लागि पहिलो गन्तव्यमा पर्ने खाडी मुलुक तेलको मूल्यमा आएको गिरावटका कारण आर्थिक मन्दीमा जान सक्ने अनुमान छ । त्यहाँ रहेका नेपालीको रोजगारीमा यसबाट प्रत्यक्ष असर पर्ने देखिन्छ ।

अब यो लकडाउन कति समय सम्म लम्ब्याउने रु खोल्दा कति चरणमा खोल्ने रु आजका धेरै मानिसको मनमा यही प्रश्न उब्जेको छ । यदि लकडाउन लम्बिँदै गयो भने धेरैले रोजगारी गुमाउनेछन्, जसका कारण जीवनयापन थप कष्टकर हुन पुग्ने निश्चित छ ।
छिमेकी मुलुक भारत, जससँग हाम्रो संस्कृति, जीवनशैली, रितिरिवाजलगायत खाद्यप्रणाली पनि मिल्छन् । त्यहाँ कोरोना भाइरसका कारण मृत्यु हुनेमा ६० देखि ७५ वर्ष उमेरसमूहका ४२ प्रतिशत छन्, ४५ देखि ६० वर्ष उमेरसमूहका ३४ प्रतिशत छन्, तीमध्ये पनि मधुमेह, हृदय विकार र मृगौलाको खराबीका कारण मृत्यु हुने ७८ प्रतिशत रहेका छन् ।

नेपालको तथ्याङ्कअनुसार ७१.५ प्रतिशत अर्थात् दुई करोडभन्दा बढी जनसङ्ख्या काम गर्ने वर्गमा पर्दछ भने युवा जनशक्ति (१७–४५ वर्ष) ५७ प्रतिशत छन् । यस्तो युवा जनशक्ति भएको देशले उचित योजना कार्यान्वयन गर्न सक्ने हो भने त्यति धेरै त्रास लिनुपर्ने देखिन्न । अहिलेको परिस्थितिमा भाइरसका कारण प्रभावित धेरै देशले लकडाउन खोलिसकेका वा यसलाई सहज बनाउँदै आएका छन् । स्पेन, जर्मनजस्ता देशमा रेष्टुराँ, बारलगायत पार्क सञ्चालनमा आइसकेका छन् भने भारतमा भने क्रमिक रूपमा सुरक्षा अपनाएर लकडाउनलाई सहज बनाउने क्रम जारी छ । यसको मतलब हाम्रा देशमा पनि सबै कुरा खोल्नुपर्छ भन्ने होइन तर जीवन सहज बनाउन ठोस कदम चाल्नुपर्ने बेला चाहिँ आइसकेको छ भनेर सचेत गराउनु हो ।

साधारण मानिसहरूलाई रोजगारी गुमाउने डर एकातिर छ भने अर्कातिर लकडाउनका कारण डिप्रेसन र तनावले गाँज्न सक्ने देखिन्छ । आफूले चाहेको मान्छे वा साथीसँग आफ्ना कुरा राख्न नपाउँदा र सामाजिक सञ्जालले फैलाएको त्रासले गर्दा मनोरोगीको सङ्ख्या नबढ्ला भन्न सकिन्न । यसबाट मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने र रचनात्मकतामा ह्रास निम्तिने कुरालाई नकार्न सकिँदैन । दैनिक ज्यालामजदुरी गरेर हातमुख जोर्ने निम्नवर्गीय परिवारको जीवन अहिले नै ज्यादै कष्टकर बनिसकेको छ भने यसै गरी लकडाउनलाई लम्ब्याउँदै जाँदा भाइरसले नभई भोकमरीले ज्यान गुमाउनेको सङ्ख्या दिनानुदिन अवश्य बढ्नेछ । त्यसबाट विद्रोह पनि जन्मन सक्छ र यसको प्रमुख जिम्मेवार सरकार हुनेछ ।

व्यक्तिगत रूपमा जर्मनी, स्पेन, इटली र भारतजस्ता देशहरूले गरेको निर्णयलाई म एउटा बौद्धिक निर्णय ठान्दछु । आज यस महामारीले प्रत्यक्ष रूपमा ५० लाखलाई असर गरेको होला तर अप्रत्यक्ष रूपमा करोडौँको जीवनलाई तहसनहस पारिदिएको छ । यसकै कारण आगामी दिनमा आर्थिक र सामाजिक क्षेत्रमा पुग्ने असरका कारण बाँच्न गाह्रो हुने देखिन्छ । त्यसकारण नेपालमा पनि अब लकडाउनलाई सहज बनाउँदै लानुपर्छ र अर्थतन्त्रसँग सोभैm सम्बन्ध राख्ने क्षेत्रलाई सुचारु गराउँदै दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने जनशक्तिको जीवन सहज बनाउनुपर्छ । यसबाट अर्थतन्त्रमा टेवा पु¥याउने औद्योगिक, व्यापारिक, वित्तीय आदि क्षेत्रको भविष्यमा सुधार हुन जान्छ भने भोकमरीले निम्त्याउने भयावह परिस्थितिलाई रोक्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्