बेलबारीमा लोहोन्द्रा खाेलाबाट खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसारमा रोक

बेलबारीमा लोहोन्द्रा खाेलाबाट खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसारमा रोक

लोहोन्द्रा खाेलाबाट टिपर र स्काभेटरको प्रयोग गरेर खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसारमा बेलबारी नगरपालिकाले रोक लगाएको छ । ठेक्का लिने सयपत्री मल्टीपल कम्पनीले बेलबारी वाड नं. १ स्थित लोहोन्द्रा खोलामा मापदण्ड विपरीत उत्खनन गरेको कारण मंगलबारबाट नगरपालिकाले रोक लगाएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले टिपर र स्काभेटरको प्रयोग गरेर लोहोन्द्राबाट खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसार बन्द गरेको जानकारी दिनुभयाे । सुवेदीका अनुसार टिपर तथा उत्खनन गर्ने कुनै पनि मेसिनको प्रयोग गर्न नपाउने गरी बन्द गरिएको हो । तर कुनै पनि मेसिनको प्रयोग नगरी मजदुरले भने उत्खनन गर्न पाउने पनि सुवेदीले जानकारी दिनुभयाे ।

नगरपालिकाले आदेश दिए पनि स्थानीयले उत्खनन स्थल गएर रोकेपछि मात्र सयपत्रीले उत्खनन कार्य बन्द गरेको थियो । सोमबार नगरपालिकाले अनुगमन गर्दा मापदण्ड विपरीतको काम भएको पाएपछि तत्काल रोक्न मौखिक आदेश दिए पनि सयपत्रीले मंगलबारसम्म उत्खनन गरिरहेको थियो । स्थानीय उत्खनन स्थलमा पुगेर रोकेपछि मात्र उत्खनन कार्य बन्द भएको हो ।

सयपत्रीलाई नगरपालिकाले लकडाउन अघि पनि मापदण्ड विपरीत उत्खनन गरेकोमा रु.१५ हजार जरिवाना गराएको प्रशासकीय अधिकृत प्रदीप शाहले जानकारी दिनुभयाे । उहाँका अनुसार अनुगमन गर्दा मापदण्ड विपरीत उत्खनन गरेको पाइएमा रु.१५ हजारसम्म जरिवाना गर्ने नगरपालिकाको निर्णय रहेको छ ।

सोमबारै सयपत्रीलाई उत्खनन कार्य बन्द गर्न मौखिक आदेश दिएकोबारे पनि शाहले नै जानकारी दिनुभएकाे थियाे । तर मंगलबार दिउँसो ४ बजेसम्म उत्खनन कार्य भइरहेको थियो । खोलामा मापदण्ड विपरीत उत्खनन भएपछि स्थानीय विरोधमा उत्रिएका थिए भने उत्खनन रोक्न बेलबारी नगरपालिकालाई जेठ ११ गते निवेदन पनि पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्