प्रदेश नम्बर १ अपडेट : संक्रमितको संख्या १६० , झापामा सबैभन्दा धेरै

प्रदेश नम्बर १ अपडेट : संक्रमितको संख्या १६० , झापामा सबैभन्दा धेरै

विराटनगर । प्रदेश १ का नौवटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या बढ्ने क्रममा छ । तर, प्रदेशका पाँचवटा जिल्ला भने अहिलेसम्म कोरोनामुक्त देखिएका छन् ।

वैशाख पहिलो साता उदयपुरको भुल्केमा एकैपटक १२ जनामा संक्रमण देखिएको थियो । उनीहरू निको भई घर फर्किएका छन् । तर, त्यसयता भारतबाट मानिसहरू घर फर्कने क्रम बढेसँगै उनीहरूसँगै आएको कोरोना संक्रमण प्रदेशका धेरै जिल्लामा फैलिन पुगेको छ ।

कोरोना संक्रमण फैलिएको र फैलन सक्ने खतराको दृष्टिले कतिपय जिल्लालाई अति जोखिमपूर्ण क्षेत्रका रूपमा सूचीकृत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार कोरोनाका संक्रमित नौ जिल्लामा देखिएका छन् । शनिबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा संक्रमितको संख्या १६० पुगेको छ । झापामा सबैभन्दा धेरै १०७ जना संक्रमित फेला परेका छन् । तीमध्ये सय जना एउटै गाउँपालिका कचनकवलका स्थानीय हुन् ।

उनीहरू सबै लकडाउनकै बेला भारतबाट आएका थिए । झापापछि उदयपुरमा ३३ जना संक्रमित फेला परेका छन् । उनीहरू सबै कोसी कोभिड १९ उपचार केन्द्रमा उपचार गरी घर फर्किसकेका छन् ।

संक्रमितहरूको संख्याका हिसाबले तेस्रो नम्बरमा धनकुटा छ । धनकुटामा ७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी सुनसरी र मोरङमा ४/४ जना संखुवासभामा २, सोलुखुम्बु, भोजपुर र खोटाङमा एक–एक जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा हालसम्म इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र ओखलढुंगामा संक्रमित फेला परेका छैनन् । ताप्लेजुङ हिमाली र बाँकी सबै पहाडी जिल्ला हुन् । कोरोना नदेखिएका कतिपय जिल्लामा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ रिर्पोट आएकाहरूको पुनः पीसीआर परीक्षण गर्दा भने नेगेटिभ रिर्पोट आएको छ ।

ती जिल्लामा संक्रमण फैलन नदिन विशेष सावधानी अपनाउनु पर्ने, एउटा प्रदेशबाट अर्कोमा प्रवेश गर्ने र भारतबाट आएकाहरूलाई अनिवार्य क्‍वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध हुनुपर्ने जनस्तरबाट माग हुँदै आएको छ ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को बर्खे अधिवेशनको उदघाटन बैठकमा बोल्दै संक्रमणको दर अझ बढ्ने देखिएकाले कतिपय जिल्लालाई रेडजोनमा राखिएको जानकारी दिएका छन् ।

मुख्यमन्त्री राईले भने, “संक्रमण बढ्ने भएकाले हामीले अस्पतालको क्षमता र परीक्षणको दरलाई बढाउन काम थालिसकेका छौं ।” मुख्यमन्त्री राईले दैनिक २ हजार जनामा कोरोना परीक्षण गर्ने सरकारको तयारी रहेको सदनलाई जानकारी गराए । मुख्यमन्त्री राईले जोखिम क्षेत्र अर्थात् रेडजोनमा प्रदेश राजधानी विराटनगरअवस्थित मोरङसहितका जिल्ला रहेको बताए ।

झापाका प्रदेशसभा सांसद श्रीप्रसाद मैनालीले झापामा पनि अधिक संक्रमित फेला परेको परीक्षणका लागि मेची अस्पतालमा ल्याब स्थापना गरी पीसीआर परीक्षणको प्रबन्ध हुनुपर्ने बताउँदै भने, “साविक मेची अञ्चलको महत्त्वपूर्ण जिल्ला भएकाले पनि झापाको मेची अस्पतालमा ल्याब स्थापना गरिनुपर्छ ।”

मैनालीले प्रदेशसभा बैठकमा झापामा ल्याब खुले यसबाट मेचीका पहाडी जिल्लाबाट समेत नमुना ल्याएर परीक्षण गर्न सहज र छरितो हुने सुझाव दिएका छन् । प्रदेश १ मा शनिबारसम्म जम्मा ६ हजार ९ सय ३६ जनामा पीसीआर र ११ हजार ९ सय ३३ जनामा आरडीटी विधिबाट कोरोना परीक्षण भएको छ ।

क्‍वारेन्टाइनमा २ हजार ७४८ जना छन् । यसैगरी आइसोलेसनमा चिकित्सकको निगरानीमा २५ जना छन् । संक्रमितहरूको कोसी कोभिड १९ उपचार केन्द्र र धरानस्थित बीपी प्रतिष्ठानमा उपचार  भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्