म्याट्रिकुलेसन, एस एल सी, एस ई ई भनेर परिचित सतासी वर्षको इतिहास वोकेको कक्षा दशको राष्ट्रिय परीक्षाको हिजो जेठ २८ गतेको मन्त्रिपरिषदको निर्णयवाट पटाक्षेप भएको छ । अन्य कुराहरू यथावत् रहेको स्थितिमा यसका कानुनी प्रक्रिया मिलाई यो लागु भएमा एस ईई परीक्षा अव कक्षा १२ मा मात्र हुनेछ । शिक्षा क्षेत्रमा मिलेनियम डेभलपमेन्ट गोल (एम डी जी) अन्तर्गत विद्यालय सुधार परियोजनाले परिकल्पना गरेको विद्यालयको तहगत पुनसंरचना अन्तर्गत कक्षा ९ देखि कक्षा १२ सम्म माध्यमिक तहको अवधारणा लागुहुने वाटो कोरोना महामारीकै वेला सही, खुला भएको छ । अव कक्षा १२ मा एस ई ई स्थापित भएपछि यो हरेक नागरिकको न्युनतम र अनिवार्य शिक्षा उत्तीर्ण गरेको मानक परीक्षाको रूपमा स्थापित हुनेछ, जुन स्वागतयोग्य र उपलब्धिमुलक छ ।
शिक्षा क्षेत्रमा चासो र अध्ययन गर्ने विद्यार्थी भएका नाताले लेखक मनदेखि नै यो प्रगतिशील निर्णयको स्वागत गर्दछ । यस निर्णयवाट यस व्याचमा भएका विद्यार्थी, अभिभावक, शिक्षकलगायतका सरोकारवाला विद्यालय शिक्षा र समग्र शिक्षा क्षेत्रमा पर्ने असरहरुको यस लेखमा विवेचना गरिनेछ ।
१. विद्यार्थीहरु
लेखकले विराटनगरमा यसवर्ष एस ई ई तयारी गरेर वसेका केही परिचित विध्यार्थीहरुसंग फोन र मेसेन्जर मार्फत प्रारम्भिक प्रतिक्रिया लिएको आधारमा हेर्दा उनीहरुले यसलाई एउटा अनिश्चयको गांठो फुकेको रुपमा लिएका छन । परीक्षा शुरु हुने लगभग १० घण्टा अघि मात्र आकस्मिक रुपमा परीक्षा स्थगित हुंदा आफ्नो मानसिक, वौद्धिक र आर्थिक लगानीको अनिश्चितता र त्यसवाट सवै परीक्षार्थी, विशेषतः मेहनती र संवेदनशील विद्यार्थीहरुलाई ठुलो मानसिक आघात परेको थियो । पढाइमा कमजोर र गम्भीरतापूर्वक नपढ्ने विद्यार्थीहरु जांच नहुंदा स्वाभाविक र सतही रुपमा खुशी देखिएपनि भित्र मनमा उनीहरु पनि दुखी नै थिए । अझ दुर्गम भेगमा घर र परीक्षा केन्द्र टाढा भएका र परीक्षा दिन परीक्षा केन्द्र आसपास डेरा लिएर पुगिसकेका विद्यार्थी र तिनको सहयोगका लागि पुगेका अभिभावकहरु अलपत्र परेका थिए ।
तर नयाँ महामारीको हल्ला र रोग सर्ने डरवाट वचेको अनुभुतिले ढिलो निर्णय र त्यसले पारेको पीडालाई दवाईदिएको थियो । कहिले महामारी सकिएला र पुन परीक्षा होला भनेर घरभित्र लकडाउनमा वसेर विद्यार्थीहरु वडो अनिष्चयपुर्ण मानसिकतामा परीक्षाको तयारी गरिरहेका थिए । धेरै विद्यालयहरुले अनलाईन र टीभीमार्फत कक्षाहरू संचालन गरीरहेका थिए । लकडाउन लम्विएको लम्विएकै गएपछि र विश्वव्यापी रुपमा कोरोना महामारीको फैलावट भएपछि उत्पन्न थप अनिश्चयपछि त्यही आलोकमा आएको यो पछिल्लो निर्णयमा उनीहरु केही असमन्जस देखिएको पाईयो । उनीहरु सेन्टअप परीक्षाको परीणामलाई नै मान्ने हो कि प्रथम त्रेमासिकदेखिको समग्र मुल्यांकन गरिने हो भन्ने विषयमा दोधारमा रहेछन । ती परीक्षामा विषय लागेका र अनुत्तीर्ण विद्यार्थीहरुको के हुन्छ भन्ने प्रश्न पनि उनीहरुले उठाए । सबै कक्षा दश पढ्नेहरु ११ कक्षामा पठाईए मेहनतीहरुले आफ्नो मेहनत खेर गएको पनि महसुस गरेको पाईयो । उनीहरुजे जस्तो तयारी थियो, परीक्षा दिएरै नतीजा निस्केको भए चित्त बुझ्थ्यो भन्ने उनीहरूको धारणा पाईयो ।
पढाइमा कमजोर विद्यार्थीहरु अन्योल र खुशीको वीचमा रहेको पाइयो ।
२. अभिभावक, शिक्षक र विद्यालय
लेखकले अभिभावकसंग प्रत्यक्ष कुराकानी नगरेपनि विद्यालयको प्रधानाध्यापक भई लामो समय अभिभावकहरुको नजीक रही काम गरेकोले उहाँहरुको मनोभाव लेखकले अनुभुत गरेको छ । पहिले देखिनै एस ई ई परीक्षालाई बच्चाको पढाई मात्र नभई भविष्यकै महत्वपूर्ण ढोकाको रुपमा लिएको हुनाले अभिभावकहरुले आफ्ना कक्षा १० मा पढ्ने छोराछोरीको पढाईलाई गम्भीरतापूर्वक लिने गर्दछन् । उनीहरुलाई पढ्न मनोवैज्ञानिक दवाव दिने, खेलकुद, आराम, र मनोरञ्जन को समय कटाएर विद्यालय र शिक्षकहरुको समन्वयमा विहानैदेखि रातिसम्म, ट्युसन, कोचिङ र अतिरिक्त कक्षाहरूको व्यवस्थापन गरिदिएका हुन्छन् । आफ्ना वच्चाको उच्च परीक्षाफल निकाल्न उनीहरु जेसुकै (वैधानिक/अवैधानिक) गर्न तयार हुन्छन् । चिट चोराउन परीक्षा केन्द्रमा हुने अभिभावकको भीड र परीक्षामा हुने अनियमितताका पछाडी यही तत्परताले काम गरेको हुन्छ ।
यता विद्यालयको इज्जत तथा गुणस्तरीय पढाई हुने प्रमाण र मानकको रुपमा एस ईईको परीक्षाफललाई लिईने भएको ले सरकारी होस वा निजी, सबै विद्यालयले एस ई ई तयारीलाई उच्च प्राथमिकतामा राखेका हुन्छन् । अझ निजी विद्यालयमा त एस ईईको परीक्षाफलले विद्यार्थी भर्नामा प्रत्यक्ष असर गर्ने भएकोले उनीहरुले अतिरिक्त शिक्षकहरु राखेर विद्यार्थीहरुलाई निकै ठुलो दवावमा राखेका हुन्छन । कोईसन वैक, मोक टेस्ट हरु गराएर, परीक्षाका गहन विश्लेषण र प्राविधिक पक्षहरुको सालभर तयारी गराईने हुनाले निजी विद्यालयहरुको परीक्षाफल उच्च हुने गर्दछ ।
सरकारी विद्यालयमा यी परीक्षाकेन्द्रित गतिविधि तुलनात्मक रुपमा कम हुनेहुँदा परीक्षाफलमा उनीहरु पछि परेका हुन् ।
यस निर्णयले विद्यालय र अभिभावकहरुपनि खुशी छन ।एक तरीकाले हेर्दा सारा लगानी खेर गएको जस्तो देखिएपनि तत्कालै परीक्षा गर्न सम्भव नदेखिएकोले र परीक्षा, कापी परीक्षण र नतीजा प्रकाशित गर्दा एक शैक्षिक सत्र नै क्षति हुने सम्भावना टरेको हुनाले उनीहरु उत्साहित भएका हुन । अव अनलाईन वा अन्य विधिवाट उनीहरु कक्षा ११ पढ्न योग्य भएका छन र विद्यालयहरू कक्षा १२ सम्म कक्षा सन्चालन गर्न समर्थ भएका छन ।
३. कक्षा ११ र १२
अव कक्षा ११ को पनि एस ई ई जस्तै आन्तरिक मुल्यांकनवाटै निर्णय गरिदिदा समस्या समाधान हुन्छ । हुन त हालको व्यवस्था अनुसार कक्षा ११ को परीक्षामा अनुत्तीर्ण भए पनि कक्षा १२ पढ्न पाइन्छ । तर कक्षा ११ लाई हतार छैन भनेर अन्योलमा राखिराख्नु ठीक हुदैन । त्यसैले यस पक्षमा सम्वन्धित सबैको ध्यान जान आवश्यक छ ।
कक्षा १२ का विद्यार्थीहरुको सवालमा केही समयपछि परीक्षा संचालन गरेर केही सहजीकरणका साथ ५० प्रतिशत आन्तरिक मुल्यांकन र ५० प्रतिशत पुर्णांकंको परीक्षा गरेर वाटो खोलिनु पर्दछ । यसरी परीक्षा गर्दा परीक्षा कापी परीक्षण र नतीजा प्रकाशन छिटो गर्न सम्भव हुन्छ । तर कक्षा १२ को परीक्षाको संरचना चलाउंदा एकातिर कक्षा १२ पछि विश्वविद्यालय पढ्न चाहने विद्यार्थीहरुलाई भोलि स्नातक तहमा विश्वव्यापी रुपमा सर्वस्वीकार्य हुने वैधानिकता ख्याल गर्न जरुरी छ भने अर्कोतर्फ विध्यार्थीहरुको एक शैक्षिक सत्र क्षति हुन नदिनु उति नै महत्वपूर्ण छ । विज्ञान तथा प्राविधिक र प्रयोगात्मक विधिमा आधारित विषयहरुका संवेदनशीलतामा थप विचारविमर्श गर्नु तथा छलफल गर्न आवश्यक देखिन्छ ।
४. निष्कर्ष
दिनानुदिन नेपाल र भारतमा कोरोनाका विरामी र मृतकहरु वढिरहेकोले तत्काल विद्यालयहरु खुल्ने तथा परीक्षा सन्चालन हुने सम्भावना छैन । मेरो निजी विचारमा लकडाउन अहिले जस्तो लहडी रुपमा नभई अत्यन्त सजगताका साथ स्टेप वाई स्टेप खोल्नुपर्छ ।
विराटनगरमा देखिएको व्यापारी तथा सर्वसाधारणको लापरवाही हेर्दा यो अत्यन्त जोखिमपुर्ण छ । यही तरीकाले कहिल्यै विद्यालय खोल्नूपर्छ वा खोलियोस भन्नु असाध्यै प्रत्युत्पादक हुनेछ । विचारणीय कुरा के हो भने विद्यालयहरु अन्त्यमा मात्र खुल्ने संवेदनशील सोसियल युनिट भएकोले महामारी को प्रकोप कम नहुन्जेल र अझ भनौ, यस महामारीको खोप पत्ता नलागुन्जेल हामीहरु संयम र धैर्यतापुर्वक पर्खन जरूरी छ ।
अझ खोप पत्ता लागेपछि पनि सो खोप हाम्रो देशमा उपलव्ध हुन र स्थिति सामान्य उन्मुख हुन समय लाग्छ । त्यसैले सजगतापुर्वक पर्खनू आजको आवश्यकता हो ।
अन्त्यमा मन्त्रीपरिषद् तथा शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई धन्यवाद ।