विराटनगर जेठ ३० । जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन सुनसरीको इटहरीमा बन्ने निश्चित भएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले शुक्रबार भवनको शिलान्यास गरेका छन् ।
नेपालको जनवादी गीत संगीतको क्षेत्रमा झण्डै आधा शताब्दी अघिदेखि निरन्तर सेवारत टुहुरेका नाममा २०७५ सालमा फाउण्डेसन स्थापना गरिएको हो। उपमहानगरपालिकाले उपलब्ध गराएको १० कठ्ठा क्षेत्रफलको जग्गामा भवनको शिलान्यास गरिएको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले बताइन ।
फाउण्डेसनले भविष्यमा प्रतिभा भएका तर गरिबीले गर्दा उजागर गर्ने मौका नपाएकाहरुलाई सांगितिक क्षेत्रमा मद्दत गर्ने बताएको छ । भवन निर्माणका लागि प्रदेश नं. १ सरकारले चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ उपलब्ध गराएको छ । ७६ वर्षअघि धरानमा जन्मिएका जनगायक टुहुरे दोस्रो संविधानसभाका सदस्यसमेत रहिसक्नुभएको छ ।
टुहुले प्रतिनिधिसभाका सदस्य समेत हुन ।