चुच्चे नक्सा र राजेन्द्र महतोको राष्ट्रवाद – भुवन कुमार वाग्ले

चुच्चे नक्सा र राजेन्द्र महतोको राष्ट्रवाद – भुवन कुमार वाग्ले

इतिहासमा कहिल्यै कुनै विदेशी शक्तिको दास नवनेका नेपालीहरुको मनमा लामो समयदेखि परेको गांठो हिजोको संसदीय कारवाहीले फुकाउने शुरुवात गरेको छ । यो निशाना छाप संसोधन विधेयक पारित भएसंगै यो राजनैतिक र कुटनैतिक मुद्दा अव संवैधानिक भएको छ । भारतको वलमिच्याईको सारा राष्ट्र एक भएर प्रतिरोधको थालनी भएको छ । यस महान कार्य शुरूवातको हिम्मतका लागि नेकपाको वहुमतको सरकारका प्रधानमन्त्री केपी ओली र यसलाई एकमतले पारीत गर्ने सम्पुर्ण राजनितिक दलहरु धन्यवादका पात्र छन । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले भने झै हाम्रा आन्तरीक विषयमा जे जस्ता विमति र विवाद भए पनि सीमाना र राष्ट्रिय अखण्डताको सवालमा देखिएको यो अभुतपूर्व एकताले आम नेपालीलाई आनन्दित तथा गौरवान्वित वनाएको छ ।

विक्रम संवत २०७२ मा संविधानसभावाट संविधान जारी गर्नेवेला भारतले गरेको ठाडो हस्तक्षेप र नाकाबन्दीका वेला विवादित गतिविधि गर्ने तथा अभिव्यक्ति दिने हालको समाजवादी जनता पार्टीका नेता राजेन्द्र महतोको हिजोको मन्तव्यले अझ जनमानसमा खुशी फैलाएको छ । यस लेखमा उनको सोही वक्तव्यमा अन्तर्निहित भाव र विषयवस्तुको विविध पाटोमा चर्चा गरिने छ ।
यो चर्चा शुरु गर्नु अघि केही तथ्यहरु स्पष्ट गर्न जरुरी छ । लेखक पहाडमा जन्मेपनि वाल्यकाल देखि नै सिराहा महोत्तरी मोरङ जस्ता मधेसी वाहूल्य क्षेत्रमा हुर्केकोले मधेसको रहनसहन संस्कार मनोविज्ञान र मैथिली भाषाको राम्रो जानकारी राख्दछ । पहाडी समुदायले नेपाली मधेसी दाजुभाई र भारतीय वीचमा फरक नछुट्याई भेदभाव गर्दा एक आम नेपाली मधेशीलाई हुने पीडा र त्यसबाट उत्पन्न हुने प्रतिरोधी भावनालाई नजिकवाट नियालेको र उक्त ग्रसित मानसिकतावाट आफु मुक्त रहेको हिसाबले यस लेखमा राष्ट्रियतालाई मात्र केन्द्रीय विन्दुमा राखेर तथ्यहरु प्रस्तुत गरिएका छन । धोती कुर्ता लगाउंने नेपालीलाई भारतीयको ठप्पा लगाइदिएर आफु दौरासुरुवाल कोट भिरेर देशविरुद्ध खेल्नेहरु प्रति सबै सजग हुन जरुरी छ । मधेसी हरुलाई काठमाडौंको सत्ताले हेर्ने संकीर्ण दृष्टिकोण कमजोर भैसके पनि अझै सकिएको छैन ।नेपालकाे सामान्य राजनैतिक सुझवुझ राख्ने मान्छेलाई राजेन्द्र महतो नयाँ नाम हैन । सर्लाही जिल्लामा सद्भावना पार्टी वाट राजनिति शुरु गरेका उनलाई नेपालको अस्थिर राजनीति खुव फाप्यो । उनी पटक पटक सर्लाहीवाट सांसद चुनिए, मन्त्री भए र विभिन्न मधेशी क्षेत्रिय पार्टी तोडिदै जोडिदै जाने क्रममा हालै विभिन्न घटक जोडिएर वनेको जनता समाजवादी पार्टीको उच्च नेतृत्वमा पुग्न सफल भए । कानुनमा स्नातकोत्तर गरेका उनको जन्मस्थान सर्लाही ववरगन्ज जनाईए पनि उनको भारतीय रुझान र नेपाली नागरिकताको विषय पटकपटक चर्चाको विषय हुनेगरेको छ । उनले सामान्यतया मधेसीहरुको नागरिकताको विषय, पहाडी समुदायले मधेसीलाई गरिएको भेदभाव र नेपालको वर्तमान संविधानमा गम्भीर असहमति रहेको विषय उठाउने गरेका छन । तर आफु सत्तामा रहुन्जेल यो विषयमा केही नगर्ने र सत्ताबाट निस्केपछि चर्का कुरा गर्ने भएकोले आम मधेशी जनताको मधेसी नेताहरुप्रतिको विश्वास कमजोर भएको छ ।

हिजो संसदमा उनले के भने ?
संविधानको निशान छाप सच्याउन प्रस्तुत विधेयक मा संवोधन गर्ने क्रममा तेस्रो वक्ताको रुपमा उनी पोडियममा आए र सभामुख अग्नि सापकोटाले उनलाई दिईएको १० मिनेटको समयमा असहमति जनाउँदै यसलाई मधेसी माथिको भेदभाव भन्न भ्याए । त्यसपछि उनको पार्टीको यस संसोधनप्रतिको ऐक्यवद्धता जाहेर गरे । उनले मधेसीहरु राष्ट्रवादी छन र नेपाल भारत सीमामा पहरेदार भएर वसेको कुरा उल्लेख गरे । उनले नेपालकोे वर्तमान संविधान मधेसी जनजाति र अल्पसंख्यकको हुननसकेकोले यसमा आफ्ना असहमति थाती रहेको जिकिर गरे । उनले महाकाली सन्धि तथा अन्य राष्ट्रियता विरोधी काम गर्ने नेताहरुलाई पनि कारवाही गर्नूपर्ने वताए । लगभग १७ मिनेट वोलेका उनी नक्सा मात्र प्रकाशित गर्ने नभई कुटनैतिक वार्तामार्फत जमीनपनि फिर्ता ल्याउनुपर्ने कुरामा जोड दिए ।

उनको यो असाध्यै अनपेक्षित सकारात्मक अभिव्यक्तिपछि उनको व्यापक चर्चा भयो । सर्वप्रथम त उनको पार्टीले यस संसोधनसंगै विवादास्पद माग सहितको अर्को संसोधन पनि गरिनुपर्ने अडान लिएको थियो । संसदमा हिन्दी भाषामा यस कालापानी लिपुलेक लिम्पियाधुराको नक्सा पारीत गर्नुअघि भारतलाई सोध्नुपर्ने अभिव्यक्ति दिने सांसद सरीता गिरीकै लाईनमा जनता समाजवादी पार्टी रहेको सबैलाई अनुमान थियो । नेपाली कांग्रेसका मधेसी मुलका सांसदहरुले समेत यही लाईनको संसोधन विधेयक दर्ता गरेपछि यो अनुमान झन सघन भयो । तर यस विधेयकको पक्षमा नेपालकोे अभुतपूर्व जनमत हुनु र मनिषा कोईराला प्रतिको लज्जास्पद भारतीय मिडियाको टिप्पणी, भारतीय सेनापति नरवणेको विवादास्पद अभिव्यक्ति र नेपाल चीनको रणनीतिक चालमा फसेको कपोलकल्पित आरोप जस्ता घटनाक्रमले यो जनमत झन आक्रामक भयो । यस अवस्थामा यसको विपक्षमा जांदा खुला रुपमा जनतासामु नांगिने र राजनिति सिद्दिने डरले वाध्यात्मक परिस्थितिमा यस विधेयकमा समर्थन भएको जोसुकैले अनुमान गर्न सकिन्छ । सरीता गिरीको हास्यास्पद संसद वहिर्गमनलाई हिजो भारतीय मिडियाले फोकस गर्नु, उपेन्द्र यादवको अभिव्यक्तिलाई साभार गर्नु तर राजेन्द्र महतोको नाम उल्लेख समेत नहुनुवाट उनी अव क्षेत्रिय संकिर्ण राजनिति वाट उठेर राष्ट्रिय स्तरमा आईपुगेको रुपमा लिन सकिन्छ ।

राजेन्द्र महतोको अभिव्यक्तिवाट अव भारतीय फेर नपक्रिकन नेपालमा राजनीति गर्न सकिन्छ भन्ने प्रवृत्ति विकास भएमा हाम्रो प्रगति र अग्रगमन सुनिश्चित हुन्छ ।

निष्कर्षमा परिस्थिति जे भए पनि भारतीय गुप्तचरसंस्था प्रमुख, पुर्व सेना प्रमुख, नेपाल भारत सम्वन्धका विज्ञहरुले समेत खुल्ला रुपमा आफ्ना एसेट्स भनिएका पार्टीका नेताहरुको देशकाे पक्षमा यस्तो एकता प्रदर्शन हुनु स्वागतयोग्य छ । यही नक्सा छापको संवैधानिक संसोधनलाई लिएर भारतीय संस्थापन आत्तिएको छ । उसको यो छटपटी आफैमा उसले आजसम्म नेपाललाई हेर्ने दृष्टिकोणमा ल्याउन अति आवश्यक भैसकेको कुराको स्वीकारोक्ति हो । धर्म, संस्कृति, परम्परा र ऐतिहासिक सम्वन्धको दुहाई दिएर हाम्रो आन्तरीक मामिलामा हस्तक्षेप गर्ने र हाम्रो सार्वभौमिकता मा धावा बोल्ने भारतीय रवैया अव डेट एक्सपायर भैसकेको छ । नेपाललाई एक सार्वभौम स्वतन्त्र देशको रुपमा स्वीकार गर्न उ जति ढिलाई गर्छ उति नै उसलाई घाटा हुन्छ । पारमाणविक हतियार सम्पन्न पाकिस्तान र चीनसंग लगभग युद्धको स्थितिमा रहेको र कोरोना महामारी तथा आर्थिक संकटले अलगथलग भारतलाई नेपालको रणनैतिक र सामरीक महत्व राम्रोसँग थाहा छ । यहाँ उसले कुनैपनि हार्ड वा सफ्ट गलत कदम चाल्यो भने त्यो उसको लागि प्रत्युत्पादक हुनेछ ।

आगामी दिनहरुमा यस सीमा समस्याको समाधानका लागि ठुलो कुटनैतिक पहल र त्यसको व्याक अपमा यही अभुतपूर्व जनसमर्थनको आवश्यकता छ । राजेन्द्र महतोहरूको यो राष्ट्रवादी अडान अवको पेचिलो अभियानमा पनि वरकरार रहने छ भन्ने सवैको अपेक्षा छ ।

धन्यवाद
भुवन कुमार वाग्ले, विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्