विर्तामोड । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट सातजनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईंको घरमा उनीहरु जुवा खेलिरहेको अवस्थामा शनिबार राती पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार विशेष सूचनाको आधारमा खटिइएको प्रहरी टोलीले नगद ७१ हजार १० रुपैयाँसहित १६ थान कौडा र सातजना जुवाडेलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कनकाई–३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकाश चापागाईं, कनकाई–४ का ३८ वर्षीय मानबहादुर श्रेष्ठ र ३५ वर्षीय हरिबहादुर श्रेष्ठ रहेका छन् ।
नगदसहित पक्राउ परेका जुवाडेहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।