विराटनगरका मजदुरको पीडा : लकडाउनले ऋणमा डुबायो, भन्छन्– गुजारा कसरी गर्ने ?

विराटनगरका मजदुरको पीडा : लकडाउनले ऋणमा डुबायो, भन्छन्– गुजारा कसरी गर्ने ?

एन्जु शिवाकोटी
विराटनगर । विराटनगर वडा नं. ९ भुमि प्रशासन चोकमा प्राय जसो मानिसहरुको भिड देख्न सकिन्छ । कोरोना भाइरस महामारीका कारण भएको लकडाउनसंगै सुनसान भएको यस ठाँउ केही दिन यता विराटनगर बजार खुलेसंगै मानिसहरुको भिड निकै हुन थालेको छ । यस ठाउँमानिसहरु झुण्ड झुण्ड भएर बसेका हुन्छन् । अधिकांश मानिसहरु ज्याला मजदुरीमा काम गर्ने मानिसहरु हुने गर्दछन् ।

विराटनगर र विराटनगर आसपासका मानिसहरु यस ठाउँमा कामको खोजीमा जम्मा हुने गर्दछन् । यस ठाउँमा भेला भएका मानिसहरु कोही ठेला चलाउने गर्दछन् भने कोही घर बनाउने ज्यामीको काम गर्ने गर्दछन् ।

ज्याला मजदुरी काम गर्ने मानिसहरु आफ्नो काम अनुसार झुण्ड–झुण्ड भएर बस्ने गर्दछन् । उनीहरु घर बनाउनको लागी ज्यामी काम गर्ने देखी लिएर ठेला(भ्यान)मा सामाहरु बोक्ने गर्दछन् ।
विराटनगरबासीहरुले ज्यालादारीमा काम गर्नको लागी उनीहरुलाई यस ठाउँमा सम्पर्क गर्ने गर्दछन् । हरेक झुण्डको एक मुखिया हुने गर्दछ, र मुखियाले कामको बाडफाड गरेर सबैलाई काममा लगाउने गर्दछ । उनीहरुलाई विहानीको ८ बजे देखि बेलुकीको ५ बजेसम्म यस ठाउँमा देख्न सकिन्छ । उनीहरु कसैले केही काम गर्न बोलाउन आउनेहरुको पर्खाइमा बसिरहेका देखिन्छन् ।

सधै झै आज पनि यस ठाउँमा मानिसहरु कामको खोजीमा आएका थिए । कोही चौतारामा बसेर गफ गर्दै थिए, कोही ठेलामा निदाइ रहेका थिए भनी कोही सडक पेटीमा बसि रहेका थिए ।
लामो समय सम्म भएको लकडाउनका कारण ज्याला मजदुरी गर्ने मानिसहरु निकै मारमा परेका छन् । विराटनगर ८ का ६५ वर्षीय नवल सहनी भन्छन्,‘ मैले ठेला चलाएको ४० बर्ष भयो तर यस्तो पिडा कहिल्यै भएको थिएन ।’बेला बेला हुने गरेको बन्द हडतालले भन्दा पनि हाल भएको लकडाउनको कारण आफूहरु समस्यामा परेको बताउछन् उनी । ‘सरकारले राहत त दियो तर १० जनाको मेरोे परिवारलाई १२ किलो चामलले ५ दिन पनि पुगेन ।’ राहत सकिएपछि छिमेकी साउसँग ऋण लिएर गुजरा चलाइरहेको छु ।’

धनपालथान गाँउपालिका ६ का छेदी राम विहान ७ बजे घरबाट निस्किएका उनी ८ बज्दा यहाँ आइपुग्छन् । ७५ वर्षीय छेदी ५० बर्षदेखि ज्याला मजदुरी गर्दै आइरहेका छन् । उनी भन्छन्, लकडाउनले ऋण माथि ऋण थपिदियो, साउको ऋण तिर्नुकी हातमुख जोड्नु , सारै गाह्रो छ गुजरा गर्न ।’ सावधानीका उपाय अपनाउन सक्ने अवस्था नभएका कारण रोग र भोक दुबैले मरिन्छ भनेर डर लाग्ने गरेको उनले बताए ।

भारतबाट कामको सिलसिलामा नेपाल आएका ३८ वर्षिय रहमन अन्सारीको पनि व्यथा त्यस्तै छ । उनी विराटनगर १० मा भाडाको घरमा बसोबास गर्दै आएका छन् । उनी ज्यामीको काम गर्ने गर्छन् । लकडाउनले बजार बन्द भए पछि आफ्नो काम ठप्प भएको उनी बताउछन् । भन्छन्,‘ मैले पैसा सापट लिएर पानीसंग बिस्कुट खाएर दिन कटाएको छु, बजार खुलेकाले अलिकती भए पनि आराम महशुस भएको छ ।’ बजार खुले पनि काम पाउन मुस्किलै रहेको उनले बताए ।

छेदी, सहनी र अन्सारीको मात्र न भई यस ठाउँमा कामको खोजीमा आएका सबैको व्यथा एउटै छ । उनीहरु लकडाउन भन्दा अगाडी दैनिक ८ सय देखि हजारसम्म कमाई गर्दथे भने हाल २ सय देखि ५ सय कमाउन पनि मुस्किल रहेको उनीहरू बताउछन् । उनीहरुलाई एउटै कुराले पिरोली रहेको छ अब साहुको ऋण कसरी तिर्ने र  गुजरा कसरी गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्