विराटनगर । प्रारम्भिक अनुमानमा नेपालमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण असर खासै नपर्ने गरिएको थियो ।
छ महिना अगाडी गत माघमा पहिलो पटक चीनबाट आएका एक युवामा संक्रमण पुष्टी भयो । त्यसपछि विदेशबाट आएकाहरुमा फाट्टफुट्न देखा परिरहेको थियो । निरन्तर सामान्य अवस्था रहिरहेको बेला गत चैतपछि संक्रमणको फैलावट बढ्न थाल्यो ।
आइतबार असार ७ गतेसम्म आउँदा संक्रमित ९ हजार २६ पुगेको छ । यसले नेपाललाई विश्वका देशहरुमा कोरोना प्रभावित राष्ट्रको ६६ औं स्थानमा सुचिवद्ध गरिदियो । मलेशिया र नर्वे लगायतका देशमा हाम्रो भन्दा अगाडी नै संक्रमण देखा परेको थियो तर उनीहरुले सक्रमणको फैलावटलाई रोक्दै नेपाललाई अगाडी पारे ।
नेपालमा भारत तथा विदेशबाट आएकाहरुको संक्रमित हुने दर ९५ प्रतिशत भन्दा धेरै रहेकोे ईमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनपछि पाण्डेले १५ देखि ५४ वर्ष उमेरका धेरै नागरिक संक्रमित भईरहेको र यिनीहरु भारत तथा विदेशबाट नेपाल फर्केका हुन् ।
नेपालमा संक्रमितको संख्या दैनिक बृद्धि भईरहेपनि कोरोना लक्षण संक्रमितहरुमा देखिएको छैन । यो अन्य देशहरुको अवस्थाका आधारमा सामान्य अवस्था मानिन्छ । संक्रमित मध्ये ९८ प्रतिशतमा कोरोनाको लक्षण देखिदैन । संक्रमित मध्ये मृत्यु भएका २३ जना पनि सबै कोरोनाका कारण मात्रै नभई जटिल रोगहरु मृगौला, दम समस्याले ग्रसित भएकाहरु रहेको डाा.पााण्डेको भनाई छ ।
कुल संक्रमितमा ८ प्रतिशत महिला र ९२ प्रतिशत पुरुष छन् । विदेशबाट फर्कने क्रम जारी रहेको र क्वारेन्टीनमा बसेकाहरुको परीक्षण बाँकी रहेकोले अझै संख्या थपिने निश्चित रहेको डा.पाण्डेको भनाई छ । तर, समुदायस्तरमा संक्रमण पुगिनसकेकोले क्यारेन्टीनमा बसेकाहरुको परीक्षण र उपचारसँगै संख्या घट्ने दावी समेत गरिएको छ ।
दैनिक नेपालका २४ प्रयोगशालामा ७ हजार भन्दा धेरै स्वाबको नमूना परीक्षण गरिदैं आएको छ । लकडाउन खुकुलो पारिएसँगै संक्रमण फैलनसक्ने आधार तयार भएकोले यस्तो बखत व्यक्ति आफैं सचेत भएर हिडडुल गर्नुपर्ने सुझाव स्वास्थ्य विज्ञहरुको छ ।
देशभर १ हजार ७७२ जना उपचारपछि आराम भएर घर फर्किसकेका छन् । यो समग्र संक्रमितको १९.६३ प्रतिशत हो । नेपालमा मृत्यु हुनेको दर ०.२६ प्रतिशत मात्रै रहेको छ ।
सरकारले लकडाउनसँगै भारत तथा विदेशमा अलपत्र नागरिकलाई ल्याउने र व्यवस्थापन गर्ने काम नगरेका कारण कोरोनना संक्रमणको समस्या सरकार सिर्जित रहेको बिश्लेषण समेत हुने गरेको छ ।