कोरोना नियन्त्रणमा सफलता पाउने छौं : मन्त्री घिमिरे

कोरोना नियन्त्रणमा सफलता पाउने छौं : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताउनु भएको छ ।
पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको बताउँदै उहाँले चाँडै प्रदेशलाई कोरोनामुक्त बनाउने विश्वास व्यक्त गर्नु भएको हो ।

प्रदेश सरकारले कोरोनालाई जित्दै जाने विधि र उपचार प्रणाली अवलम्बन गरेकोे मन्त्री घिमिरेको भनाई थियो । ‘समुदायस्तरमा देखिएको संक्रमण नियन्त्रणमा आएको छ’ मन्त्री घिमिरेले भन्नुभयो–क्वारेन्टाईनमा मात्रै संक्रमण सिमित भएकोले जित्छौं भन्ने अहिलेसम्मको विश्वास छ ।


झापाको शिवसताक्षी नगरपालिकाको छैठौं नगरसभाको बुधबार उद्घाटन गर्दै मन्त्री घिमिरेले बजेट निर्माण भन्दा पनि कार्यन्वयनमा जोड दिनुभएको छ । उहाँले निर्माण गरिएको बजेट पूर्ण कार्यन्वयन गर्न सक्षम जनप्रतिनिधि बन्नुपर्नेमा जोड दिनु भएको थियो ।
स्थानीय तहहरु समृद्धिको बाटोमा अघि बढ्न जरुरी रहेको बताउँदै वडा–वडामा विकास निर्माणका कार्यहरू भईरहेकोले आगामी दिन सुखद् हुनेमा विश्वास व्यक्त गर्नुभयो । अझ सशक्त ढंगले समृद्धिको बाटोमा अघि बढ्न जरुरी छ, मन्त्री घिमिरेले भन्नुभयो–स्थानीय तहहरुले बजेटका लागि आफ्नै स्रोतहरुको विकास गर्नुपर्नेमा मन्त्री घिमिरेको जोड छ ।

जनप्रतिनिधिहरुले गर्ने काम लुकाएर लुक्न नसक्ने भएकाले आचरण सुद्ध राखेर काम गर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, जनप्रतिनिधि खुल्ला किताब हो, जनप्रतिनिधिले गरेको क्रियाकलाप लुकाएर लुक्न सक्दैन । कुनै न कुनै बेला बाहिर आउँने भएकोले राम्रो काम गरेर देखाउन अनुरोध गर्नुभयो ।

राम्रो काम गर्दा पनि नियोजित विरोधहरु आउन सक्छन्, मन्त्री घिमिरेले भन्नुभयो–कसैले विरोधका लागि विरोध मात्रै गर्छन् भने काम गर्न चाँहि नछाड्नु ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । प्रदेश १ मा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २८५ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्