विराटनगरका साना तथा मझौला होटल : सञ्चालन गर्ने की जायजेथा बुझाउने ?

विराटनगरका साना तथा मझौला होटल : सञ्चालन गर्ने की जायजेथा बुझाउने ?

एन्जु शिवाकोटी
विराटनगर । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम नियन्त्रणका लागि चैत्र ११ गतेबाट लकडाउन जारी गरेको थियो । लामो समयदेखि जारी लकडाउनका कारण साना तथा मझौला होटल भने सबैभन्दा धेरै अफ्ठ्यारोमा परेका छन् ।
कतिपय होटल बन्द हुने अवस्थामा पुगेका हुन् । हाल लकडाउन केही खुकुलो बन्दै गएपछि फाट्टफुट्ट होटलहरु खुल्न थालेका छन् । तर, व्यापार छैन ।

खासगरी सार्वजानिक यातायातमा यात्रा गरेर आउने यात्रु, व्यापार तथा बजारीकरण गर्ने साना व्यवसायी, सार्वजानिक तथा सरकारी कामका लागि विराटनगर आउनेहरुले चिया, नास्ता तथा खाना खाने साना तथा मझौला होटलहरु सबैभन्दा बढी समस्यामा परेका हुन् ।


सानो लगानी गरेर दैनिक गुजारा चलाउनका लागि खोलिएका साना होटलका स्वावलम्बी व्यवसायीहरुको अवस्था नाजुक भएको साना तथा मझौला होटल व्यवसाय संघ विराटनगरका अध्यक्ष सूर्यकिरण घिमिरेले जानकारी दिनुभयो ।
धेरै मुनाफा कमाएर बचत राख्न समेत नसक्ने भाडाका सटरमा खोलिएका होटल सञ्चालकसँग घरधनी भाडा मागे जायजेथा नै त्यागेर भाग्नुपर्ने अवस्था आउने देखिएको छ । होटल बन्द भएको चार महिनाको व्यवसाय कर समेत बुझाउनुपर्ने अवस्था आएपछि झन् समस्या थपिएको घिमिरेको गुनासो छ ।

दैनिकी कमाएर गुजार गर्दै आएका होटल सञ्चालकले लकडाउन खुलेपनि होटल सञ्चालन गर्नसक्ने अवस्था अझै छैन । स्वास्थ्य सुरक्षाको विधि अपनाउनु पर्ने भएपनि तयार रहेका सञ्चालकका लागि ग्राहक छैनन् । सार्वजानिक यातायात नखुलेका कारण बाहिरबाट कोहि पनि आएका छैनन् । विराटनगरमा रहेकाहरुले होटललाई रोज्ने परिस्थिति अझै तयार भईसकेको छैन ।
सरकारलाई कर बुझाएर साना होटल चल्नसक्ने अवस्था छैन, अध्यक्ष घिमिरेले भन्नुभयो– एकहजार २६५ वटा साना होटलहरु संघमा आवद्ध छन्, ती होटलमा आश्रित परिवार र रोजगारीको कुरा समेत हराएको छ ।

साना होटलका सञ्चालकलाई लकडाउन अवधीको भाडा मागेर घरधनीले हैरान पारिरहेका छन्, घिमिरेले भन्नुभयो–कतिपयमा चावी लगाईसकेका छन् । गम्भीर संटकको संकेत देखिएको बताउँदै अध्यक्ष घिमिरेले सानो लगानी र धेरै परिवार आश्रित होटल बन्द हुँदा त्यसको व्यवस्थापन राज्यका लागि महंगो पर्नेछ ।

साना तथा मझौला होटल व्यवसायीको अध्यक्ष भएपनि आफैंले होटल बन्द गर्नुपर्ने अवस्था आएको घिमिरेको गुनासो छ । आफ्ना सदस्यको गुनासो सुनुवाई गर्नुभन्दा पहिल्यै आफैं भाग्नुपर्ने अवस्था आयो, अध्यक्ष घिमिरेले भन्नुभयो–धेरै साथीहरु पलायन हुनुहुँदैछ ।
विराटनगर–१० स्थित आर.के. होटल तथा सेकुना कर्नरका सञ्चालक रोशन राजबंशीले बैंकबाट ऋण लिएर एकवर्ष अगाडी सुरु गरेको व्यवसायले उल्टै ऋणमा डुबायो । यति लामो समय बन्द भएपछि बैंक र घरधनीको दवाव थेग्न नसक्ने अवस्था आएको सञ्चालक राजबंशीको भनाई छ ।

होटल सञ्चालन नहँुदा होटल व्यवसायी मात्र हैन कृषकहरु पनि मारमा परेका छन् । खाद्य उत्पादनका सामाग्री खपत हुने होटल बन्दले किसानका खेतमा तरकारीजन्य वस्तु त्यसै खेर गएको छ । त्यति मात्रै नभई दुधको खपत घटेका कारण किसानलाई समस्या परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्