विराटनगर । भारत हुँदै सलहको एउटा बथान नेपाल छिरेको छ । बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएको कृषि मन्त्रालय स्रोतले जनाएको छ ।
भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो। सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज शनिबार आकस्मिक रुपमा बैठक बोलाएको छ ।
कृषि विकासका स्थानीय अधिकारीहरुले हामीलाई सर्लाही र बारामा सलहको एक झुण्ड देखिएको जानकारी गराउनु भएको छ, कृषि मन्त्रालयका एक अधिकारीले भने, तर कति ठूलो समूहमा आएको हो भन्ने पूर्ण जानकारी आइसकेको छैन ।
उनले बाराको निजगढ र सर्लाहीको नवलपुर आसपास क्षेत्रमा सलहको बथान देखिएको जानकारी आएको बताए । पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पुर्याएको छ।
सलह भारतको उत्तर प्रदेशमा आइपुगेपछि नै नेपालको कृषि मन्त्रालयले क्षति न्युनिकरण गर्न समिति गठन गरेको थियो । सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पु¥याउँछ । हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको एक वर्गकिमीको समूहले ४ देखि ८ करोडसम्मको संख्या हुने कृषि वैज्ञानिकहरू बताउँछन्।
यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको नष्ट गर्ने वैज्ञानिकहरू बताउँछन्।