विराटनगर सिङ्घिंया खोलाको बाढी किनारको वस्तीमा, त्रिपालको ओतमा स्थानीय (फोटो फिचर)

विराटनगर सिङ्घिंया खोलाको बाढी किनारको वस्तीमा, त्रिपालको ओतमा स्थानीय (फोटो फिचर)

विराटनगर । लगातारको वर्षाले विराटनगर र कटहरी गाँउपालिकाको सिमानाबाट बग्ने सिङ्घिया खोलाको बहाव बढेसँगै कटहरी–१ खोला किनारका स्थानीयवासी विस्थापित हुन थालेका छन् । केहि दिनयता निरन्तर परिरहेको पानीले विराटनगरका खोला किनारका वस्ति डुबानमा पर्न थालेका हुन् ।


किनाराका वस्तिमा खोलाको पानी पसेसँगै स्थानीयवासी भने त्रिपालको ओतमा भर परेर सरेका छन् । ‘शहरमा बस्ने पैसा छैन, यहि खोला किनारमा बस्नु रहर कहाँ होर बाध्यता हो’ ६० वर्षीया दिलसरिया पासवानले भनिन् । उनीसँगै ६ जनाको परिवार कटहरी–१ टाइगर टोलमा ११ वर्षदेखि बस्दै आईरहेका हुन् ।


श्रीमान् ठेला चलाउछन्, त्यहिँबाट रोजिरोटी चलिरहेको त्यो परिवार अहिले घर छोडेर पानीसँग तर्कदैं उचाई स्थानमा सरेका हुन् । भर्खरै कोरोनाको त्राससँग जोगिदैं दैनिकी गुजार्नु प¥यो, उनले भनिन्–बन्दाबन्दीपछि डुबानले जीवन डुबाउन लाग्यो ।
गत सालको बाढीमा लगाएको लुगा र ज्यान मात्रै जोगाउन पाएको अनुभव उनीसँग छ, लामो स्वास तान्दै भनिन्–यो वर्षलाई कति पीडा भोग्न लेखेको छ । .शनिबार बिहान ५ बजे खोला बढ्दै गएर उनको घरभित्रै परेको हो । त्यसपछि पोकापन्तरा बोकेर परिवारसँग घर छोड्नुको विकल्प रहेन । उनले भनिन् पोहोर सालको ठूलो बाढीको बेला राहतमा पाएको त्रिपाल यसवर्षका लागि सहयोगी बन्यो, त्यहि टाँगेर बसेका हौं ।


उनको जस्तै पिडा छ, प्रमिला सरदारको पनि । ‘ठूलो बाढीमा राहतमा दिएको त्रिपाल च्यातिएको छ, त्यहिपनि टाँगेर बसेका छौं’ सरदारले भनिन्–ज्यान त जेनतेन जोगाउँनै प¥यो ! खोला बढेसँगै वर्षेनी डुबानको सास्ति भोग्नु यहाँका स्थानीयवासीका लागि सामान्य दिनचर्या हुन् । सामान्य जीवनका सामान्य दिनचर्याको हिसाब गर्नुपर्ने बाध्यता बाहेक अर्को विकल्प नभएको सरदारको भनाई छ ।


गतवर्षको बाढीले भाडा, लुगाकपडा सबै बगाएर लगेको थियो । खोला किनारमा ८० घर छन् । चुनावको बेला भोटको जोहो गर्ने नेताहरु बाढीको समस्या हेर्न भने नआउने पीडितहरु बताउँछन् । अर्का स्थानीय गोपी सिंहले अधिकांश घरका नागरिक दैनिक ज्याला मजदुरी गर्नेहरु छन् । दिनभरी कमायो र साँझ–बिहान पेट भर्नुपर्ने उनीहरुको बाध्यता छ तर परिश्रम दैनिकी हो । जीविकोपार्जनको दैनिकीलाई व्यवस्थापन गर्दै रातको निन्द्राका लागि वास टुङ्ग्याउनु वर्षाका लागि उनीहरुको थप पीडा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्