प्रदेश १ मा कोरोना संक्रमण : अस्पताल बस्ने भन्दा घर फर्कनेको संख्या बढ्दै

प्रदेश १ मा कोरोना संक्रमण : अस्पताल बस्ने भन्दा घर फर्कनेको संख्या बढ्दै

नवराज कट्टेल

विराटनगर । प्रदेश १ मा कोरोना भाईरस (कोभिड–१९) लाई पराजित गरेर घर फर्कनेको संख्या क्रमशः बढ्दै गएको छ । कोरोना भाईरसबाट संक्रमित हुनेको दर भन्दा उपचारपछि निको भएर घर फर्कनेको संख्या पछिल्लो दिनमा बढ्दै गएको हो ।
समुदायस्तरको संक्रमण नियन्त्रणमा आएपछिको पछिल्लो ढेड महिनायताका संक्रमित क्वारेन्टीनमा बसेकाहरु मात्रै छन् । क्वारेन्टीनबाट अस्पताल भर्ना भएकामध्ये ६७ प्रतिशत संक्रमण परास्त गरि घर फर्किसकेका हुन् ।

गत बैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । त्यसयता बैशाख महिनामा ४५.७१ प्रतिशत। जेठ महिनामा ४४.६४ प्रतिशत संक्रमित उपचारपछि घर फर्किएका थिए । तर, असारको दोस्रो सातासम्म आउँदा संक्रमितको तुलनामा उपचारपछि निको हुने ११५.३० प्रतिशत पुगेको छ ।
प्रदेशका १४ जिल्ला अन्तर्गत ५८ स्थानीय तहका नागरिकमा कोरोना संक्रमण देखिसकेको छ । जसमध्ये छ वटा जिल्लामा संक्रमित देखिएका नागरिक उपचारपछि निको भएर घर फर्किएका छन् ।

सामाजिक विकास मन्त्रालय, अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाँईका अनुसार मंगलबारसम्म ५७८ जनामा संक्रमण पुष्टि भएकामध्ये ३२ महिलासहित ३९२ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । मंगलबार प्रदेश १ मा थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।
उदयपुरको भुल्के र धनकुटा अस्पतालमा देखिएको समुदायस्तरको संक्रमणको अन्त्य भएपछि अन्य कुनैपनि जिल्लामा समुदायस्तरमा संक्रमित फेला परेका छैनन् । महाशाखा प्रमुख प्रसाँईका अनुसार यो अहिलेसम्मका लागि सबैभन्दा सुखद् समाचार हो ।
क्वारेन्टीनमै सिमित रहेको संक्रमणलाई बाहिर निस्कन नदिन परीक्षणलाई बढाउँदै लगिएको छ । प्रदेश १ मा हालसम्म २३ हजार ५७७ जनाको पीसीआर र १७ हजार ७६२ जनाको आरडीटी परीक्षण गरिएको छ । आरडीटी परीक्षणलाई पछिल्लो समय घटाउँदै लगिएको छ । बैशाखमा २ हजार ४३९ जनाको पीसीआर परीक्षण गरिएको थियो । जेठ महिनामा त्यसमा बृद्धि गर्दै १२ हजार ९२१ जना र असारको दोस्रो सातासम्ममा ८ हजार २१७ जनाको पीसीआर परीक्षण गरिएको महाशाखा प्रमुख प्रसाँईले जानकारी दिए ।


जहाँ चुनौती त्यहि परीक्षणको विधिलाई प्राथमिकतमा राखिएको, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मंगलबार पत्रकार सम्मेलनमा दावी गरेका छन् । शंकास्पद सक्रमित पहिचानका लागि कुनैपनि कमजोरी नगरिएकोले अहिलेसम्म संक्रमितलाई सुरक्षित उपचार र घर फिर्ताको वातावरण निर्माण हुँदै आएको उनले बताएका हुन् ।

प्रदेशका १४ जिल्लाकै नागरिकमा संक्रमण देखिएको भएपनि उनीहरु स्थानीयवासी नभई बाहिरबाट स्थानीय हुन आएकाहरु रहेका छन् । भारत वा विदेशबाट आएर क्वारेन्टीनमा बसेकाहरुमा देखिएको संक्रमणलाई त्यहिं सिमित राखिएका कारण प्रदेश १ का छवटा जिल्ला शुन्य संक्रमित घोषणा भएका छन् । मन्त्री घिमिरेले खुकुलो बन्दै गएकोे लकडाउनमा स्वास्थ्य सावधानी अपनाउन नसके संक्रमणको चुनौती अझै पनि रहेको बताएका छन् । समुदायस्तरमा संक्रमण फैलिएको अवस्थामा नियन्त्रणका लागि कठिन हुनसक्ने मन्त्री घिमिरेको चिन्ता छ ।
भारत र विदेशबाट नेपाल आउने नागरिकलाई क्वारेन्टीनमा राखेर सातदिनसम्म कुनै लक्षण नदेखिएको अवस्थामा होम क्वारेन्टीनका लागि सिफारिस गरिदैं आएको छ । तर, त्यसबीचको अवधीमा उनीहरुको परीक्षणमा समेत गरिदैं आएको छ ।

प्रदेश १ का धनकुटामा ८ जना, भोजपुर ६ जना, ताप्लेजुङ ४ जना, तेह्रथुम ३ जना, पाँचथर ३ जना, सोखुखुम्बु १ जनाले कोरोना भाईरस जितेर घर फर्किसकेका छन् । यी जिल्लामा समाचार तयार गर्दासम्म एकजना पनि संक्रमित छैनन् । संक्रमण देखिएका र शुन्य संक्रमितमा झारिएका जिल्लामा जोखिम न्यूनीकरणका लागि उस्तै प्रकारको सावधानी र विधिलाई प्रयोगमा ल्याइएको छ । त्यसका लागि कन्ट्याक्ट ट्रेसिङ टोलिलाई प्रत्येक स्थानीय तहमा परिचालन गरिएको हो ।
हालसम्म झापाका १४ स्थानीय तहमा २१७ जना संक्रमित देखिएकामध्ये १७२ जना, मोरङका १२ स्थानीय तहमा १५३ जना संक्रमित देखिएकामध्ये ८७ जना, सुनसरीका ११ स्थानीय तहमा ८६ जना संक्रमित देखिएकामध्ये ५ जना र उदयपुरका ७ स्थानीय तहमा ६७ जना संक्रमित देखिएकामध्ये ४१ जना डिस्चार्ज भईसकेको महाशाखा प्रमुख प्रसाँईले जानकारी दिएका छन् । यसैगरी खोटाङका २ स्थानीय तहका ८ जनामध्ये ४ जना, इलामका २ स्थानीय तहका ८ जनामध्ये २ जना, ओखलढुंगाका १ जनासहित मंगलबार नै थपिएका ११ जनासहित १७८ जना उपचारतः रहेका छन् । संखुवासभामा ३ जना, झापामा ५, खोटाङमा १ र सुनसरीमा २ जनालाई मंगलबार संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा १०० शैयाको कोशी कोभिड–१९ उपचार केन्द्रमा हालसम्म १३२ जना भर्ना भएका छन् जसमध्ये १०५ जना उपचारपछि घर फर्किसकेका छन् । यसैगरी १०० शैयाको बीपीमा २१७ संक्रमित भर्ना भई १७७ जना निको भएर घर फर्किसकेका छन् । सुन्दरहरैंचाको १२५ शैया पीयू कोभिड–१९ आईसोलेशनमा २०० जना संक्रमित भर्ना भएर ११० जना घर फर्किसकेका छन् ।
प्रदेश भित्रको कोरोना संक्रमणको अवस्थालाई दैनिक पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्न थालिएको । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले मंगलबारदेखि प्रदेश भित्रको तथ्यांक सार्वजानिक गर्ने जिम्मा सामाजिक विकास मन्त्रालयले दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्