अख्तियारको डरले, मालपोत सरुवा माग्नै छोडे कर्मचारी

अख्तियारको डरले, मालपोत सरुवा माग्नै छोडे कर्मचारी

विराटनगर । मालपोत कार्यालयमा बसेर अकुत आर्जन गरेका तीनसय कर्मचारी विरुद्ध भ्रष्टचार मुद्दा लाग्न थालेपछि मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको छ । जसरी पनि मालपोत कार्यालयमा सरुवा लिएर जानुपर्ने र जग्गा कारोबारीसँग मिलेर सार्वजानिक जमिनलाई समेत नीजि बनाउन सहयोग गरेर खानुपर्ने कर्मचारी नियत पछिल्लो पाँचवर्षमा पर्दाफास भएको हो ।

सरुवा रुचीको कार्यालयमा पर्ने मालपोतमा पछिल्लो पाँचवर्षमा तीनसय बढी कर्मचारी विरुद्ध भ्रष्टचार मुद्दा छन् । अख्तियारले गरेको अप्रेशनमा पक्राउ पर्नेमा समेत मालपोतकै कर्मचारी धेरै छन् । घुस खाँदा सन्चो नहुने भएपछि अहिले मालपोतमा सरुवा माग गर्न कर्मचारी नै अभाव हुन थालेको छ ।
ठूलो संख्यामा कर्मचारी रिक्त भएपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले मालपोतमा सरुवा लिएर आईदिन कर्मचारीसँग अपिल गरेका छन् । उनले बद्नियत नराखि काम गर्दा समस्या नहुने बताउँदै मालपोतको सेवालाई सुधार गर्दै लैजानका लागि सरुवा लिएर आउनका लागि माग गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकबाटै कर्मचारीलाई मालपोतमा आउन आह्वान गरेका उनले सरुवा भई आउन चाहनेले अनलाइनमार्फत आवेदन दिन भनेका हुन् ।
मालपोत कार्यालयहरुका लागि अहिले चार सय ७० पद रिक्त छन् । प्रमुख मालपोत अधिकृत (उपसचिव)का ५९ मध्ये २६ पद रिक्त छन् । दुई सय ४९ दरबन्दी रहेको अधिकृत पदमा एक सय एक र नासुको सात सय ९४ मध्ये एक सय ३० पद रिक्त छन् । खरिदारका एक सय १०, कम्प्युटर अपरेटरको ९०, लेखा अधिकृतको १० र अन्य तीन प्राविधिक पद रिक्त छन् । यसबाहेक भ्रष्टाचारको मुद्दा चलिरहेका तीन सयभन्दा बढी कर्मचारीको पद जगेडामा राखिएको छ ।

 

पहिलेकाले अकुत कमाएको अहिले नपचेको देखेपछि नयाँ कर्मचारीले मालपोतमा आउँदा असुरक्षित हुने महसुस गर्न थालेका हुन् ।
पछिल्ला वर्षहरूमा मालपोतमा कार्यरत धेरै कर्मचारीविरुद्ध भ्रष्टाचारका मुद्दा चलेका कारण पनि अन्यत्रबाट कर्मचारी आउन डराएका छन् । प्राविधिक र कानुनी क्षेत्रको विषय भएकाले कतिपय कर्मचारीले नबुझेका कारण समेत फस्ने र नबुझेकै कारण सरुवा लिएर नआउने गरेको दावी विभागका महानिर्देशक शेष पौडेलको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तह र शिक्षा क्षेत्रपछि सबैभन्दा धेरै भूमिसम्बन्धी उजुरी पर्ने गर्छन्  । त्यस्तै, रंगेहात पक्राउ पर्नेमा पनि मालपोतका कर्मचारीको संख्या ठूलो छ । आर्थिक वर्ष २०७५÷२०७६ मा मात्र आयोगले मालपोतका कर्मचारीविरुद्ध २५ वटा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्