अनसन दवावले, बन्द गरायो आरडीटी परीक्षण

अनसन दवावले, बन्द गरायो आरडीटी परीक्षण

विरााटनगर । कोरोना संक्रमणको जोखिममा रहेका नागरिकको पीसीआर विधिबाट परीक्षण गर्ने र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिको परीक्षण रोक्न सरकार तयार भएको छ ।  काठमाण्डौंमा आरडीटी परीक्षण बन्द गर्न माग गर्दै विगत १२ दिनदेखि आमरण अनशनमा बसेका ईः र पुकार बमसँग सहमति गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पीसीआर विधिबाट मात्रै नागरिकमा कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने प्रतिवद्धता जनाएको हो ।

लामो समयदेखि आरडीटी विधिको परीक्षण बन्द गरेर पीसीआर परीक्षणबाट सबै नागरिकमा कोरोना भाईरस संक्रमण भएनभएको परीक्षण हुनुपर्ने माग उठ्दै आएको थियो । तर, सरकारले तीन महिनासम्म नसुकेको नागरिक आवाजलाई काठमाण्डौंको अनसनको दवावले तह लगाई दिइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा सोमबारसम्म ३ लाख १२ हजारको आरडीटी परीक्षण गरिएको छ ।
धेरै ठाउँमा क्वारेन्टिनमा रहेकाहरुलाई आरडीटी मात्र गरेर घर पठाउने गरिएको थियो । यसरी घर गएकामध्ये केहीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिनुपर्ने माग सर्वत्र उठ्दै आएको थियो ।

सहमतिपत्रमा स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. रोशन पोखरेल र डा. समीरकुमार अधिकारी तथा अनशनरत युवाहरु ईः र पुकार बमले हस्ताक्षर गरेका छन् । सहमतिपछि दुवै जनाले पानी पिएर अनशन तोडेका छन् ।
सरकारले जोखिममा रहेकाहरूको पीसीआर परीक्षण गर्न सरकारी निर्देशिका परिवर्तन गर्ने सहमति गर्नेछ । विदेशबाट नेपाल फर्किएका सबै व्यक्ति, कोभिड १९ संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्ति, जोखिममा भएका स्वास्थ्य सेवाकर्मी र अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वाससम्बन्धी रोगका लक्षण देखापरेका, ज्वरो आएका र स्वाद लिने वा गन्ध सुघ्ने शक्ति हराएको जस्ता कोभिड १९ का लक्षण देखा परेका व्यक्ति र पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्तिको कोरोना परीक्षण गर्नेगरी हालको निर्देशिका एक हप्ताभित्र परिमार्जन गर्नेछ ।


विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर उनीहरूको इच्छाअनुसार होम क्वारेन्टिन वा होटल क्वारेन्टिन वा सार्वजनिक क्वारेन्टिनमा बस्ने व्यवस्था गर्ने र होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार गर्ने सहमति भएको छ ।
क्वारेन्टिनमा भएकाहरूलाई अनिवार्य पीसीआर विधिद्वारा परीक्षण गरी नेगेटिभ नतिजा आएमात्र समाजमा पुनर्स्थापना गराउने व्यवस्था एक हप्ताभित्र कार्यविधि र निर्देशिकामा राख्ने सहमति पनि भएको छ । कोरोना महामारीको व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीको हाल भएको व्यवस्थालाई प्रष्ट पार्दै अंगभंग र घाइते हुन सक्ने जोखिमबारे पनि प्रष्ट व्यवस्था गर्ने र स्वास्थ्यकर्मीलाई लगाइने लाञ्छना र भेदभावको अन्त्य गर्ने सहमति अनसनरत युवासँग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्