आन्तरिक राजश्व संकलनमा सुधार, असारको लक्ष्य भेट्न सक्ने संभावना

आन्तरिक राजश्व संकलनमा सुधार, असारको लक्ष्य भेट्न सक्ने संभावना

विराटनगर । चापमा परेको मुलुकको अर्थतन्त्रलाई असार लागेसँगै केहि राहत मिलेको छ । जेठसम्म आन्तरिक राजश्व संकलनमा देखिएको समस्या असार लागेसँगै आसा लाग्दो ग्राफमा देखिएको हो ।
चैत देखि जेठ महिनासम्म आन्तरिकतर्फ कर संकलन भईरहेको थिएन । असार महिनामा भने परिस्थिति सहज बन्दै गएको छ । चालु महिना असारमा सरकारले लकडाउन केही खुकुलो पारेपछि आन्तरिक राजश्व संकलन दैनिक एक अर्ब हाराहारीमा पुगेको हो ।

आन्तरिक राजस्व विभागका अनुसार २२ असार सम्म ३५ अर्ब रुपैयाँ राजस्व संकलन भइसकेको छ ।
विभागका महानिर्देशक विनोद कुँवरले करदाताले कठिन परिस्थितिका वावजुद राजस्व बुझाउन थालेका हुन् । लकडाउनका बीच भन्सार राजस्व केही कम भए पनि निरन्तर उठेको थियो । तर, आन्तरिक राजस्व भने चैत र वैशाखमा लक्ष्यभन्दा निकै कम उठेको थियो । जसले गर्दा सरकार दबाबमा आएको थियो ।
लकडाउन केही खुकुलो बनाएपछि राजस्व संकलनमा समेत वृद्धि भएको हो । खासगरी भ्याट तिर्नुपर्ने व्यवसायीको कर जनताकै पैसा भएका कारण यो रकम तिर्नुपर्ने नैतिक दबाव व्यवसायीमा थियो । त्यसमाथि सरकारले समेत रकम उठ्न सक्ने स्थानमा अप्रत्यक्ष रुपमा दबाव सिर्जना गरेको थियो । यसले क्रमशः राजस्व खातामा रकम बढ्दै गएको हो ।

सर्वोच्च अदालतले सर्वोच्च अदालतले कर तिर्न सक्ने व्यवसायी, व्यक्ति, तथा प्रतिष्ठानलाई लकडाउन पूर्ण रुपमा खुलेको एक महिना भित्र कर तिर्न सक्ने व्यवस्था मिलाउन र तत्काल सेवा तथा उद्योग संचालन सम्भव नभएकाहरुलाई भने कर तिर्ने समय पुनरावलोकन गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशलाई सरकारले असारबाट गणना गरेको छ । सरकारी अधिकारीहरु कर कार्यालय खुलेको समयलाई आधार मानेर १ असारबाट यो समय गणना हुनुपर्ने पक्षमा छन् ।
सर्वोच्चको अर्को फैसला आइसकेको छैन । सोहीकारण सरकारले सर्वोच्चको अन्तरिम आदेश विपरित हुने गरी करदाताका लागि कुनै सूचना निकाल्न सकेको छैन । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बुझाउनु पर्ने कर सम्भव भएसम्म यसै वर्ष बुझाएमा आगामी दिनमा लाग्न सक्ने जरिवाना तथा थप महसुलबाट जोगिन सकिने बताउँदै आएको छ ।

 

आर्थिक वर्षको अन्तिम महिना भएका कारण असारमा सामान्यतया बढी राजस्व उठ्छ । सामान्य अवस्थामा असार महिनाका लागि आन्तरिक राजस्व विभागलाई सरकारले दिएको लक्ष्य ५० अर्ब रुपैयाँ छ । २२ दिनमा ३५ अर्ब रुपैयाँ संकलन भइसकेको छ ।
लकडाउन केही खुकुलो भएसँगै वैदेशिक व्यापारको ग्राफसमेत उकालो लागेको छ । भन्सार विभागको तथ्यांकमा चैतमा शुन्यमा झरेको वैदेशिक व्यापार असारमा क्रमशः उकालो लाग्दै गएको हो । विभागका महानिर्देशक सुमन दाहालका अनुसार ११ चैतमा करीव शून्यमा झरेको वैदेशिक व्यापार अहिले ८५ प्रतिशत सुधारमा पुगेको छ ।
लकडाउन हुनुभन्दा अगाडिको सामान्य अवस्थाको तुलनामा वैदेशिक व्यापार ८५ प्रतिशतसम्म सुधार भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्