समाज परिवर्तनका लागि उदाहरण स्वेता

समाज परिवर्तनका लागि उदाहरण स्वेता

एन्जु शिवाकोटी
विराटनगर । धेरै नेपाली युवाहरु ठुलो सपना बोकेर विदेश पढ्न जान्छन् । त्यहाँको सुविधा र जीवन शैलीले मोहीत भएर नेपालमा फर्केर केही गर्ने भन्दा पनि उतै काम गर्ने गर्दछन् । विस्तारै नेपालको जीवनशैली मनपर्न छाड्छ र उतै बस्न रुचाउछन् । कतिपय युवाहरु पढाइ गर्न भन्दा पनि पढाइको बहानामा काम गर्न जाने गर्दछन् ।

सेवा सुविधाको अभाव, राम्रो रोजगारी पाउन नसक्दा अनि विदेशी जीवनशैलीको बानि परेकाले पनि पढाई सकेर युवाहरु उतै काम गर्दछन् । पढ्न गएका युवाहरु नेपाल फर्केर केही गर्दैनन् भन्ने कुरालाई भने गलत सावित गरेकी छिन् विराटनगरकी स्वेता तुलाधरले ।


२८ बर्षीया तुलाधरले स्नातक तहको पढाई भारतबाट गरिन् भने लण्डनबाट स्नाकोत्तर तहको पढाई सकिन् । एमबीएसम्मको अध्ययन विदेशबाट गरे पनि उनलाई विदेशको रहनसहनले प्रभाव पार्न सकेन । उनी पढाइ सकेर नेपालमै केही गर्छु भन्ने सोचले फर्किन ।
विराटनगर ९ मा स्थायी घर भएकी स्वेताका बुबा उमेश बहादुर तुलाधर लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आइरहेका थिए । ट्राफिक चोकमा रहेको होटल सुभ उनका बुबाले व्यवसायिक हिसाबले नभई कामको रुपमा मात्र सञ्चालन गर्दै आएका थिए ।

पढाई सकेर लण्डनबाट उनी नेपाल व्यपार व्यवसाय गर्ने सोचले नेपाल फर्किन । नेपाल गएर कुन व्यवसाय गर्ने भन्ने कुरामा भने उनी अन्योलमै थिइन् । उनले बुबाको होटेललाई व्यवसायिक रुपमा अगाडी बढाएर आफूले सञ्चालन गर्ने सोच बनाइन् ।

होटल सामान्य अवस्थाबाट त्यसलाई बढाउँदै व्यवसायिक तवरले सञ्चालन आफैं गर्ने उनको निर्णयमा परिवार त्यतिबेला सहमत भएनन् । पुरानो चिन्तन भएको उनको परिवारका लागि एक छोरी मान्छे भएर होटल सञ्चालन गर्नु राम्रो मानिएन । पछि उनले परिवर्तन आफ्नै घरबाट होस् र छोरी मान्छेप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नको लागि आफू होटल नै सञ्चालन गर्ने निर्णय गरिन् र बुबालाई मनाइन् ।
दुई बष देखि होटल सञ्चालन गर्दै आएकी स्वेता भन्छिन्, ‘हरेक नेपालीले विदेश जानै पर्छ । त्यहाँ पुगे पछि थाहाँ हुन्छ हामी कति पिछडीएका छौं भनेर ।’ ‘जति विदेशमा हामी समयलाई महत्व दिन्छौं र काम गर्छौं त्यति किन आफ्नै देशमा गर्न सक्दैनै ।’

नारी र पुरुषमा गर्ने व्यवहार हाम्रो समाजमा अझै संकोचित नै छ । होटल सञ्चालनको सुरुवाति समयमा उनीमाथि छोरी भएकै कारण धेरै प्रकारका प्रश्न उठेर मानिसक तनाव सृजना भयो । हरेक प्रश्नको जवाफ स्वेताले बोलेर होइन गरेर दिइन् । छोरी मानिस भएका कारण होटल व्यवसाय सञ्चालनमा आफूले विभिन्न प्रकारका समस्या सहनु परेको उनी बताउछिन् । भन्छिन्, ‘समाजमा रहेका शिक्षित व्यक्तित्वहरुबाटै छोरी भएका कारण होटल व्यवसाय गर्नु राम्रो होइन भनेको सुन्दा निकै दुःख लाग्छ ।’ ‘छोरा र छोरीमा गरिने विभेद हटाउनको लागि भएपनि होटल व्यवसाय गर्नेछु  ’

सुरुका दिनमा काम गर्न गाह्रो भएता पनि आजभोलि सहज वातावरण बन्दै गएको उनी बताउछिन् । समाजमा हुने महिला हिंसा र महिलालाई हेय दृष्टिले हेर्ने सोच बदल्नको लागि महिलाको पक्षमा आवाज उठाउन उनी चाहन्छिन् । होटल व्यवसायमा मात्र नभई उनले मकालु टेलिभिजबाट प्रशारण हुने डायल मकालुमा समेत काम गर्दै आइरहेकी छिन् ।

स्वेता एक होटल व्यवसायी मात्र नभई मोडल समेत हुन् । उनले चार वटा गीतमा मोडलिङ गरिसकेकी छिन् । उनी एक कुशल समाजसेवी पनि हुन् । उनी एनआइएफ, लायन्स क्लव जस्ता अन्य संस्थामा समेत आवद्ध छिन् । उनी भन्छिन्, ‘महिला पनि केही हुन र केही गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गर्न चाहन्छु ।’ हिंसा र विभेदमा भएका महिलाहरुका पक्षमा आवाज उठाउन चाहन्छु ।’


पुरानो परम्परागत सोचलाई बदल्ने युवाहरु विदेश गएर काम गर्ने संस्कारका कारण नेपाली अझै पछाडी परेको र अल्छिपना र अरुको चियोचर्चोमा समय व्यतित् गर्दै नेपाल यस्तै हो भन्ने सोचाई बोकेका नेपाली देख्दा दुःख लाग्ने गरेको स्वेता बताउछिन् । अवसर दिने भन्दा पनि खोजेर आफ्नो देशका लागि केही गर्ने हो भनी युवाले देशमा आमूल परिवर्तन गर्नसक्छन् भन्ने उनको विचार छ ।

समाज परिवतर्नका लागि स्वेता एक ज्वलन्त उदाहरण हुन् । उनको कर्म र विचारका लागि सम्मान छ । हरेक नेपाली युवाले उनीबाट प्ररणा लिन सक्छौं र बनाउन सक्छौं समिद्ध नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्