क्याम्पसहरु आजबाट खुल्ने, पठनपाठन नहुने

क्याम्पसहरु आजबाट खुल्ने, पठनपाठन नहुने

विराटनगर । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबार (आज) बाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ ।

क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो ।

त्रिवि प्रशासन, प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो । यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेरसँगै ७ गतेदेखि क्याम्पस सुचारु हुने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिएका हुन् ।

सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सन्चालन गर्ने निर्णयसमेत गरेको छ । सोहीअनुसार त्रिविले भदौ पहिलो साताबाटै परीक्षाहरु लिन सुरु गर्ने तयारी थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्