२०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू

२०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू

मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।

जोर गते जोर नम्बरका गाडी सञ्चालन गर्ने र बिजोर गतेमा बिजोर नम्बरका गाडी सञ्चालन गर्ने गरी आजदेखि उक्त व्यवस्था लागू भएको छ । आज बिहानैदेखि जोरबिजोर प्रणाली कार्यान्वयनमा प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आज जोर नम्बरका मात्रै गाडी चलाउन पाइन्छ ।

गृह मन्त्रालयले बेलुका ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाउने गरेको निर्णय कार्यान्वयनमा थप कडाइ गर्नसमेत स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाका शहरी इलाकामा आजदेखि लागू हुने गरी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाइका साथ पालनाका लागि कडाइका साथ प्रस्तुत हुन पनि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । मापदण्ड नमान्नेलाई दण्ड जरिवाना गर्ने र उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमानाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने तथा होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र÷स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने र थप परीक्षणको व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ । काठमाडौँ जिल्ला प्रशासनले भने मानिसहरुले स्वास्थ्य मापदण्ड नअपनाएकाले त्यसको अनुगमनमा कडाइ गरी कारवाही थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्