कथा : आत्मसमर्पण – भुवन कुमार वाग्ले

<span class='c1'>कथा : आत्मसमर्पण –</span> <span class='c2'>भुवन कुमार वाग्ले</span>

त्यो दिन टेकमणि (टेके) का घरमा निकै चहलपहल थियो ।  अधिकांश वाहुन क्षेत्री, केही लिम्वु याखा, र फाट्टफुट्टअरु जातको वस्ती भएको त्यो गाउँका गन्यमान्य भद्रभलादमीदेखि सामान्य गाउंलेसम्म टेकेको घरमा भेला भएका थिए ।  टेकेकि वुढी फूलमाया असिनपसिन हुंदै ठुलो खड्कुलोमा पाहुनालाई चिया पकाउदै थिई । वडाध्यक्ष धनवहादुर लिम्बूले टेकेको उन्नत वंगुर फार्महाउस र रेष्टुरेन्टको उद्घाटन गर्दै भने, " हाम्रो गांउलाई चैनेकेरे टेकमणि जस्तै पौरखी करान्तिकारी युवाहरुको खांचो छ । पंडित  शिरोमणिको नाति उपाध्ये वाउनको छोरो भएर चैनेकेरे आफ्नै घरवारीमा यत्रो सुंगुर फारम खोल्नु चैनेकेरे चानचुने कूरो हैन ।अव चैनेकेरे उहिलेका कुरा खुईले । अव कल्ले के गर्न हुने के नहुने भन्ने कुरा छैन । चैनेकेरे लोकतन्त्रमा सबैले आफ्नो चैनेकेरे मनले खाएको काम गर्न पाउछ । "  भीडको तालिको गड्गडाहटले टेकेको घर गुन्जायमान भयो । गाउँका स्कुलका हेडसरले टेकेको विगत जे जस्तो भएपनि उसले यत्रो व्यावसायिक काम शुरू गरेकोले उ सबै युवाको प्रेरक भएको उल्लेख गर्दै फारमको उत्तरोत्तर प्रगतिको कामना गरे । टेकमणिलाई ऋण दिने जनहित कृषि सहकारी संस्थाका अध्यक्ष उद्धव कार्कीले उसलाई वधाई दिए । कसैले अपवाद वोल्लान कि भनेर शुरुमा अलिअलि नर्भस भएर भुंईतिर हेर्दै टोलाउंदै गरेको टेके सबैको हौसला पाएकाले खुसी भयो । कांधमा नवुझिने तिव्वती अक्षर लेखेका राता पहेँला खादाले भरिएको उसको अनुहार उज्यालो भयो । यतिकैमा टेकेकि वुढी फुलमाया र टेकेको फारमको कामदार गोरेले चिया वांडे ।  कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । वडाध्यक्ष धनवहादुर र सहकारी अध्यक्ष उद्धवलाई हतार भएकोले उनीहरु अलि छिटो निस्के । अरु पाहुना फार्म र रेस्टुरेन्ट घुमेर टेकेको कामको प्रशंसा गर्दै विदा भए । टेकेले नजिकका साथीहरुलाई पार्टी दियो ।
***
टेकमणि तीन वर्षको हुँदा नै उसका वुवा चन्द्रमणि हराए ।  गाउंका नामी पुरोहित शिरोमणिको छोरो भएपनि चन्दमणि पढाईमा कमजोर भएकोले पुरेत्याईं सिक्न सकेनन । उनलाई सामान्य स्वस्ती पढ्न र दक्षिणा समाउन वाहेक अर्थोक केही आउंदैन थियो । त्यस निहुंमा शिरोमणि छोरालाई टोकसिरहन्थे । चन्द्रमणि चुपचाप  जजमानले दिएको सीधा वोक्ने झोला भिरेर वाउको पछिपछि गाली खांदै हिड्थे । कुशे औंशीमा कुश पुर्याउने, नागपञ्चमीका दिन नाग टांस्ने र जनै पुर्णिमामा डोरो वांध्ने काम चै चन्द्रमणिको जिम्मा थियो । एकदिन वाउ विरामी  हुँदा छोरालाई श्राद्ध गर्न एउटा जजमानकोमा पठाएछन ।  उनले पढ्न नजानेपछि ती जजमानले चित्त दुख्ने गरि नानाथरी गाली गरेछन । त्यही ईखले उसका वुवा खडानन्द पुरेत्याईं सिक्न वनारस गएका, कहिल्यै फर्केर आएनन् । कसैले मरे भने, कसैले जोगी भएर हिडे भने । तर खासमा के भएको कसैलाई थाहा थिएन । वाउ हिडेपछि हजूरवाको किचकिच सहन नसकेर टेकमणिकि आमा उसलाई लिएर माईतै वसिन । खाईनखाई गरेर, पुजा, श्राद्ध, पुराण, किरीया गराएर शिरोमणि पंडितले टन्नै खेतवारी सम्पत्ति जोडेका थिए । सबैको यो ईहलोक र परलोक सुधार्ने वुढा बुढेसकालमा रोगी शरीर लिएर एक्लै वांचे ।
****
त्यसको सातवर्षपछि  एकदिन शिरोमणि पंडित दमको वेथाले परलोक भए । दशवर्षे सानो फुच्चे टेकमणिले हजुरवाको किरीया बसो ।  दाजुभाई खालले सम्पतिमा आंखा गाडेपनि एकमात्र वारेस टेकमणि भएकोले गांउंसमाजले  सारा सम्पत्ति उसकी आमालाई संरक्षक राखेर नावालकको नाममा नामसारी गरिदियो ।  आफ्नी आमा लिएर टेकमणि  मुलघरमै वस्न थाल्यो । विस्तारै त्यो ठांउमा वाटो आयो, ट्याक्टर गाडी चले ।  स-साना होटल पसलहरू खुले । सहकारी खुले । प्रावि स्कुल उच्चमावि भयो । वोडिङ स्कुल खुल्यो ।  दुर्गमवाट वसांई सरेर आउनेहरूले घडेरी किने । दुर्गम गाउँ स-सानो गुल्जार वजारमा परिणत भयो ।
****
टेकमणि सानैदेखि एकोहोरो स्वभावको थियो । दिमाग तीक्ष्ण भएपनि मनलागेको नभैनहुने, मननपरेको छुदैनछुने भएकोले उ कसैले भनेको टेर्दैनथियो । उसकि आमाको लाड प्यार र घडेरी वेचेर आएको पैसाले उसलाई विस्तारै मात चढ्दै गयो । हजुरवाको सम्पत्ति फोस्सामा पाएकोले होला, उसलाई पैसा उडाउनु ठुलो कुरा थिएन ।  चौध वर्षको हुदै उसको स-सानो ग्याङ वनिसकेको थियो ।  उ मनलागेको दिन स्कुल जान्थ्यो । साथीहरुलाई खाजा किनेर खुवाउंथ्यो । केटाहरुसंग निहुँ खोज्थ्यो, ग्याङ लगाएर पिटाउंथ्यो । शिक्षकहरु हैरान थिए ।  उसकि आमा उल्टै शिक्षकहरूलाई नै दोष लगाउंथिन ।उसको गतिविधि देखेर उसलाई उसका वन्धुवान्धवहरु र छिमेकीहरु टेकेलाई शिरोमणि पंडितको परिवारमा जन्मेको कुलंगार भन्थे । तर पछाडि जे जे भनेपनि उसको अगाडि सबैको वोलती वन्द थियो ।  एकदिन नेपाली पढाउने सरलाई नै हात फर्काएपछि उसलाई कक्षा नौ पढ्दापढ्दै स्कुलले निकालिदियो । त्यसपछि त उ झन स्वतन्त्र र छाडा भयो ।
****
स्कुल छोडेपछि उसको दिनचर्या बदलियो ।  उसको काम आफ्नो ग्रुपका साथिहरुसंग चुरोट तान्दै तास खेल्ने, पौडी खेल्न र माछा मार्न खोला झर्ने, चोकमा वसेर गिटार बजाउदै केटी जिस्काउने, केटाहरुसंग सांझमा रक्सी खाने, सामुहिक झगडा गर्ने हुन गयो । सानो सानो जिउ, खिरिला हातखुट्टा, लामो कपाल पालेको टेकमणि रक्सी र चुरोटको लतले अनुहार भरि दाग आएर डरलाग्दो देखिन्थ्यो ‌। उसको नाम वाट मणि हराएर एकलख्खे थपिएपछि टेकमणि टेके नामले आफ्नो एरियामा कुख्यात भयो । फेरि फेरि मोटरसाइकल चढ्यो । घुम्यो । घुमायो । पैसा उडायो ।  आउने श्रोत केही नभएको र खर्च मात्र भएपछि टेकेले घर करेसाबारी र चार रोपनी वाटोको छेउको जग्गा वाहेक शिरोमणि पाध्याको सम्पत्ति टेकेले सबै सिध्यायो ।
वाहिरका ग्याङहरुसंग समेत दुश्मनी बढेपछि टेकेले आफ्नै घरलाई अड्डा वनायो । शिरोमणि पंडितका गंगाजल हाल्ने तामाका भांडा वुईगलमा थन्काएर त्यसको ठाउँमा रक्सीका बोतलहरु आईपुगे । भगवानका फोटोका ठाउंमा वव मार्ले र हिप्पीहरुका फोटो आए । टेकेकि आमाले प्रतिरोध गरेपछि टेकेले उनलाई पनि  माईत पठाइदियो ।
उसका साथीहरु ढुक्कै त्यही वस्न थाले ।
****
त्यसगाउंमा भख्खरै तमोरपारिवाट एउटा मगर परिवार उसको घरछेवैमा वसाईं सरेर आएको थियो । त्यस घरकि जेठी छोरी फुलमायालाई आउंदा जांदा टेकमणिले जिस्काउंथ्यो, वैसले उन्मत्त उ पनि लजाउंदै मस्किन्थि । टेके गाउंको डन भएकोले अलिअलि डरले पनि काम गर्दथ्यो । आंखा आंखैमा माया गांसिईसकेको थियो ।  एकदिन अचानक घरमा कोही नभएको वेला टेके र फुलमायालाई आपत्तिजनक अवस्थामा उसको वुवाले भेटेपछि समाज भेला भएर फुलमायालाई टेकेको जिम्मा लगाईदिए । मुद्दा अन्तरजातीय भएकोले टेकेका मावली र वन्धुहरूले पैसासैसा दिएर सल्टाउन खोजे । तर गाउंलेहरुले मानेनन । गाउंका मुखिया धनवहादुरले "टेके पनि त मतवाली नै हो नि, हामीभन्दा धेरै सुंगुरको मासु र जाँड उल्लाई चाहिन्छ " भनेर जोड गरिदिएपछि उनीहरु चुप लागे। टेके र फुलमाया को मन्दिरमा विहे भयो । शिरोमणि पंडितको नातिको  यस्तो परिस्थितिमा अन्तरजातीय विहे भएकोमा गाउंका बुढापाका खुशी थिएनन् ।
****
कालीकाली भएपनि दोहोरो जीउ भएकि मोटी फुलमाया राम्री पनि थिई । जिम्मा लगाएकि भएपनि उसले टेकेलाई मनैदेखि माया गरी । टेकेलाई नभई नहुने रक्सी जांड पार्न र सुंगुरको मासु पकाउन सिपालु भएकिले टेकेले शुरुमा मन सानो गरेपनि उसलाई विस्तारै स्वीकार गर्यो । उनीहरु वीचमा माया पलायो ।
****
विहा गरेपछि अलिक सुध्रेको टेकेलाई  केही फरक र ठुलो पेशा व्यवसाय गर्न मन लागिरहेको थियो । छलफलकै क्रममा एकदिन फुलमायाले वंगुर फारम खोलौं भनी । शुरुमा उसलाई खास मन नपरेपनि वाहुनको सन्तानले सुगुर पालेर देखाइदिन पाए पुरातन समाजमा उदाहरण हुन्थ्यो भन्ने लालसा उसको मनमा आएपछि उसले वंगुरपालनवारे कृषि अफिसमा वुझ्यो । उसको विचार सुनेपछि अफिसका हाकिमले उसलाई खुब हौस्याए ।  साथै उसलाई उसका शहरका साथीहरुले "तपाईंको जस्तो जग्गा मेरो भए रेष्टुरेन्ट सहितको वंगुरफार्म हाउस वनाउथे भनेर उचालेका थिए । लामो परामर्शपछि उसले वंगुरपालन फार्म चलाउने दृढ निश्चय गर्यो । उसले रोडछेउको जग्गा सस्तैमा वेचेर ४० लाख जम्मा गर्यो । उसले केही चीजमा कम्प्रोमाइज गरेन । जो जो आएर जेजे सल्लाह थपे, उ गर्दै गयो ।  शिरोमणि पाध्या मरेको पन्ध्र वर्षपछि उनको करेसाबारीमा वंगुरका खोरहरु वने । पानीको ट्यांकीहरु वने ।  सुगुरका उन्नत जातका १०० वटा पाठापाठी हालिए । गाउंकै गोरे भुजेलका वुढावुढीलाई उसले रोजगारी दियो । स्टोर रुम वन्यो ।  ट्रकहरुले दाना र भुस झारे । एग्रोभेटले दवाईपानी दियो । छेउमा रेस्टुरेन्ट वनाउन पैसा पुगेन । उसलाई सहकारीले दशलाख थपिदियो । टेकेको मल्टिपर्पोज फार्म शुरु भयो । उद्घाटन समारोह पनि भैसकेपछि टेकेको भुईमा खुट्टा थिएन । उज्यालो भविष्यको कल्पनाले र आफ्नो क्रान्तिकारी तालको आत्मरतिमा टेके फुलेल थियो ।
****
उता उसका हजुरवाका भाईका सन्तान वन्धुवान्धवहरूको अर्कै व्यथा थियो । उनीहरु लगभग सबै पुर्खौली पुरेत्याईं पेशामै थिए । केही सरकारी सेवा र शिक्षण पेशामा आवद्ध थिए । टेकमणिका रक्सी मासु सेवन र गुन्डागर्दीजन्य गतिविधिले अरुलाई खास फरक नपरेपनि पुरेत पेशा गर्नेहरूलाई आपत परेको थियो ।  उनीहरुलाई जजमानले अव त प्रश्न मात्र हैन, शंका पनि गर्न थालेका थिए । " रक्सी मासु त खांदैनौ नि वाजे " भन्ने प्रश्नले शाकाहारी वाहुनहरूको चित्त दुख्थ्यो । टेकेलाई केही भनौ, त्यो घामट उल्टै आईलाग्ला । नभनौं, उनीहरुलाई समस्या भैरहेको थियो ।  खाउन्जेल मात्र त ठिकै थियो, अझ समाजले गराइदिएको अन्तरजातीय विवाह र यो वंगुरपालन फर्मले त उनीहरुको सातो लिएको थियो । जताततै वाहुनले धर्म छाडे, अव अनर्थ हुन्छ, गाई पालेको भए हुन्थ्यो, सुंगुर नै किन पालेको ? जात फालेर इत्यादि प्रश्नको उत्तर दिदा दिदा हैरान थिए वन्धुवान्धवहरु । उनीहरुले अघिल्लो साल एकपल्ट दशैंमा टीका थाप्न आउंदा यो कुरा टेकेलाई राखेका थिए, टेके लगाएको टीका समेत पुछेर आइन्दा टीका नलगाउने कसम खाएर फर्किएको थियो । आउने छ महीना पछाडिको देवाली कुलपुजामा उसलाई छिराउने र नछिराउने विषयमा वन्धूहरुमा ठुलो विवाद थियो ।
****
यता फुलमायाको अनुभव र गोरेको मेहनतले सुंगुर पाठा सप्रेर आए । गाउँका परम्परागत तरीकाले पालिएका भन्दा सफा र छिटो ठुला भएको देखेपछि विस्तारै उसको फारम हेर्ने मानिस वढ्दै गए । रेष्टुरेन्ट खास नचलेपनि फारमको प्रसिद्धि वढ्दै गयो । गाउँको वदमास र मस्तीखोर टेकेको छवि दिनरात उज्यालिदो थियो । पल्लोगाउँको सहकारीले त उसलाई युवा उध्धमीको सम्मान दियो ।माला र दोसल्ला ओढायो ।  एकदिन काठमाडौंका ठुला व्यापारीले उसले उत्पादन गरेका सबै बंगुर किनिदिने प्रस्ताव ल्याएको कुरा फैलिएपछि त झन गाउंमा हलचल नै भयो । गाउंलेका क्यालकुलेटरमा १०० वटा वंगुर, गोटाको सरदर ८० किलो भएर वेच्दा आउने लाखौं रुपैयाँको हिसाब थिचिन थाल्यो । त्यसपछि त  टेकमणि क्रान्तिकारी सेलिब्रेटी नै भयो । उसका पुराना दागहरु यो नयाँ ज्योतिले छोपिदै गए । टेकमणिको नामवाट हराएको मणि फेरि चम्कन थाल्यो । उ त्यस खुशीले उन्मत्त थियो ।
****
तर युवा उद्यमी टेकमणिलाई यता पैसाको ठुलो खांचो थियो, जुनकुरा गाउंलेलाई खास थाहा थिएन ।  वंगुर नवेचुन्जेल खर्चमात्र हुने र आम्दानी नहुने भएकाले उसलाई निकै सकस परिरहेको थियो ।  यता सहकारीको किस्ता वुझाउनु थियो । फार्म स्थापना, वैंकको ऋण, छ महिनाको  तलव, औषधि दाना पानी आदिको खर्च गर्दा उसको ७५ लाख खर्च भैसकेको थियो । उसले वाध्य भएर सयकडा तीन व्याज तिर्ने शर्तमा पन्ध्र लाख पनि लिएको थियो । यता उसको खर्चिलो जीवनशैली फेरिएको थिएन ।  पैसाको अभावमा दाना व्यापारीले पुरानो उधारो नतिरी नयाँ माल नझार्ने भनेकोले जोगाएर थोरथोरै दाना दिंदा सुंगुर दुव्लाउन थालेका थिए । पीरले उ विहानैदेखि मात्न थालेको थियो । साथीभाईको जमघटमापनि उसले ऋणको कुरा झिक्न थालेपछि साथिहरु आउन छोडेका थिए । उ एक्लै मातेर लडिरहन्थ्यो । पैसाको प्रेसरले वंगुर जत्रो भएपनि अव वेच्ने निर्णयमा टेके र फुलमाया पुगे ।
एकदिन विहानै त्यसैले उसले काठमाडौंको व्यापारीलाई फोन गर्यो । व्यापारीले स्वाईन फ्लुको हल्लाले प्रतिकिलो २०० भन्दा दिन नसक्ने र ढुवानी र विक्री पछि मात्र पैसा दिने शर्त राख्यो ।  टेकमणिले उसलाई अनुरोध गर्यो, तर व्यापारीले नमानेपछि उसले अश्लिल गालीगलौज गरेर फोन काटिदियो । उसले अन्य व्यापारीहरूसंग पनि कुराकानी गर्दा त्यत्रो ठुलो संख्यामा किन्न कोही तयार भएन । उ अत्तालियो । उसले उसका ससुरालाई अनुरोध गरेर सुंगुर काट्न मनायो । आधाजति उधारो जाने र हप्तामा एउटा मात्रैको मासु विक्ने भएपनि ससुराले ज्वाईँ लाई सुंगुर काटि वेचिदिएर सघायो ।  उसले महिन्द्रा पिक अप गाडीको डालामा दशवटा सुंगुर हालेर सदरमुकाम लग्यो । वजार चहार्दा चहार्दा  मासुपसलेहरुले काटेर वेचिसकेपछि पैसा दिने शर्तमा दुखले सुंगुर विक्यो । दुईदिन सदरमुकाम वसेको खर्च, गाडीको भाडा र सस्तोमा सुंगुर वेचेर फर्कदा हातमा खास पैसा परेन ।
*****
यही पाराले त हुदैन भन्ने ठम्याईपछि उसले पुनः काठमाडौँको व्यापारीलाई फोन लगायो । पुरानो नंवर नउठाएपछि  उसले अर्को नंवरमा फोन गरेर माफी माग्यो र सुंगुर किन्न अनुरोध गर्यो । अर्कोदिन ठुलो ट्रक लिएर साहु आयो । खोरवाट निकालेर ट्रकमा लोड गर्दाको सुंगुरको आवाजले गांउं गुन्जियो । रमिता हेर्न गाउंभरिका मान्छे भेला भए । सबैले टेकमणिको तारीफ गरे । केहीले उसले जस्तै फर्म खोल्ने घोषणा पनि गरे । यता टेकमणिको  मन हिसाबकिताब सम्झेर उम्लिरहेको थियो । उसले कसैलाइ केही भनेन । सुंगुर लोड गरेपछि एड्भान्स स्वरुप टेकमणिलाई एक लाख थमाएर मालिक वाटो लाग्यो । टेकमणिलाई पांचलाख त दिए हुने, भन्न मन थियो तर उसको मुखवाट आवाज आएन । सुंगुरहरूको आवाज ट्रकको टायरको धुलोमा धुमिल भयो।
त्यतिनै वेला दानाको साहु टुप्लुक्क आइपुग्यो । उसले टेकमणिलाई सुगुर वेचेकोमा वधाई दिदै आफ्नो साढे तीन लाखको हिसाव तेर्स्यायो । गाउंलेहरू त्यहीं भएकोले उसले त्यो साहुले दिएको एकलाख दाना सप्लायर्सलाई तिर्न बाध्य भयो । वांकि पेमेन्ट काठमाडौवाट पैसा आएपछि दिने शर्त राखेर रिसाउंदै त्यो व्यापारी वाटो लाग्यो । वेलूकि सहकारीबाट फोन आयो, मिटरव्याजीवाट फोन आयो, एग्रोभेटवाट फोन आयो । उसले सबैलाई एउटै उत्तर दियो ।
*****
सात दिनपछि विहानै उसले काठमाडौंको साहुलाई फोन गर्यो । उसले फोन उठाएन । दश पन्ध्र मिनेट पछि फेरी गर्यो, उठेन ।  फुलमाया को नंवरवाट पनि उठेन । ससुराको नंवरवाट गरेपछि वल्ल फोन उठ्यो। उसले फोन नउठाएको गुनासो सहित पैसा माग्यो । उसले चार पांच दिन अरु लाग्छ भन्यो । उसले निराश भै फोन राख्यो ।
चार पांच दिनपछि उसले फेरि फोन गर्यो । तर एक रिङ जाने र काटिने गर्नथाल्यो । उसले सबै उपायले फोन गर्यो तर फोन उठेन । यता खोर खालि, उता दाना एग्रोभेटवालाको  किचकिच, उता फोन नउठेपछि उसले तनावले आंखा देखेन । त्यही वेलुकी  नाईटवस चढेर उ काठमाडौं गयो ।  विहान पुग्यो ।  सरासर साहुजीको फर्ममा गयो । करीब एघार वजे साहु आईपुग्यो । रातभरिको यात्रा, निन्द्रा, भोक र टेन्सनले ग्रस्त टेकमणिलाई देखेर साहु पहिले झस्कियो । अनि उसलाई अफिसमा लग्यो । स्वाइन फ्लुको हल्लाले सुंगुरको मासु  नविकेको र पैसा नउठेकोले फोन नउठाएको उसको जिकीर थियो । यो डिलमा घाटा लागेको भन्दै उसले अर्को लटमा हेर्ने आश्वासन दियो । टेकमणिलाई सास रोकिएला जस्तो भयो । उसले नयाँ लट सुंगुर हालेको थिएन । उसको पैसा उसलाई जसरी भएपनि चाहिने भनेर वार्गेनिङ गर्यो ।
साहुले उसलाई पैसा नउठी दिन नसक्ने कुरा दोहोर्यायो ।
पैसा दिन नसक्ने भए किन  सुंगुर उठाईस ? विक्षिप्त टेकमणि जंगियो । रिसले उसका आंखा आगोका गोलाजस्तो भए । साहुजी अलि हच्कियो र "तंतं मम नगरौ, वसेर सेटल गरौं, तपाईंले वोलाएर त मैले सुंगुर उठाएको हो, अहिलेलाई पचास हजार लैजानुस्, यो पनि मैले तपाईको ईज्जतको लागि दिएको, वांकी पैसा  एकाउन्ट नं दिनोस् म चांडै हालिदिन्छु" भन्यो ।  टेकमणिले केही भन्न सकेन । एकछिन सोचेपछि उसले बोल्यो, "मलाई अरुकुरा थाहा छैन चेक दिनोस्  सातदिन पछिको,  त्यसमा पैसा आउनुपर्छ, नत्र म पूलिसमा जान्छु " पुलिस भन्ने शव्द सुनेपछि साहुजीले चेकवुक झिक्यो, त्यसमा लेख्यो र चेक तेर्सायो । चेक र पचास हजार रुपैयाँ वोकेर उ एउटा होटलमा गयो। वंगुरपालनले गराएको घाटा र त्यही घाटाको पैसा पाउन भोगेको सास्ती सोचेर उसलाई भाउन्न भयो । पुर्खौली पैसा उठाउन र व्यवसाय गरेर कमाउनु वीचको अथाह दुरी नाप्दै उसले रक्सी मगायो, खायो अनि भोकैपेट चुपचाप सुत्यो ।
****
उ काठमाडौंवाट गाउँ पुगेको भोलिपल्ट गाउंमा उसका वन्धुवान्धवहरुको देवाली कुलपुजा रहेछ । कुल पुजाको अघिल्लो दिन नै वन्धुवान्धव भेला हुनुपर्ने नियम भएकोले उ घरै नगई देउराली डाँडाको कुलपुजास्थल गयो । सबै कुल धामी, मस्ट, पुजारी र कुलका गन्यमान्यले टेकमणिलाई देखेपछि कानेखुसी गरे । उ चुपलागेर एककुनामा वसिरह्यो । टेकमणिको चालचलन र संगतवाट जानकार र होसियार   कुलधामी माधव उपाध्यले एकछिनपछि डराउंदै शव्द तौलदै भने, " हेर टेकमणि, दुख नमान । तैले कुलधर्म छोडेर जांडरक्सी खाईस, अन्तरजातीय विहे गरिस, सुंगुर पालिस । आफ्नै हजूरवूवा शिरोमणि पंडितलाई नरक पुर्याईस,  पैसा नाम जति कमाईस, हामीलाई चासो छैन, तर तंलाई थानमा छिरायो भने यहाँ अनिष्ट हुन्छ । त्यसले सबै वन्धुवान्धवलाई घच्च पर्छ । नराम्रो नमान्, तं यहाँवाट जा ।"  समाजको सकारात्मक भाषाभित्रको यो वहिस्कारले उसको मुटु वेस्सरी चहर्यायो । उसको अथाह पीडामाथिको नूनचुक थियो यो । उसले गरेको क्रान्तिकारी वंगुरपालन र खाएको हन्डर र घाटा समाजलाई पत्तो थिएन ।  यो वहिष्कार देखेर आफ्नो उत्पादनको आधा दामको उधारो चेकले उसलाई गोजिवाट गिज्याइरहेको जस्तो लाग्यो । उ उदेक र पश्चात्ताप महसुस गरिरहेको थियो । यसरी समाजले नै उसलाई वहिष्कार गर्छ भन्ने थाहा भए म किन बंगुर पाल्थें ? " उसको गिडिएको मनको क्रान्तिकारीताको ठुटोमा पलाएको पामर मनले सोच्यो ।  एकछिन किकर्तव्यविमुढ भएपछि उ फुस्फुसायो ।
" माधव ठुलोवुवा, मैले थानमा आउन पाउने कुनै विधि छैन ? "
यो प्रश्न आफैमा अनपेक्षित थियो । सबैले फेरि मुखामुख गरे ।
" तं सक्दैनस् केटा, जा " माधव वोले ।
यतिकैमा मस्ट धामी यज्ञ उपाध्ये वोले, "केश खौरेर गौदान गरेर गहुंत खाएर चोखिने र आइन्दा सुंगुर नछुने नपाल्ने हो भने हुन्छ भन्दिनोस न कुलंगारलाई। " वहुमत वान्धवको आत्मविश्वास उनको आवाजमा गर्जेको थियो ।
"म तयार छु ।"
" म समाजवाट हटक भएर क्रान्तिकारी भैरहन सक्दिन । तपाईंहरुले जे भन्नुहुन्छ, आइन्दा त्यसै गर्छु "
आजित टेकमणिको आवाज निस्किएपछि सबै वन्धुवान्धव चकित भए । समाजले यस आत्मसमर्पणकारी प्रस्तावलाई सहजतापूर्वक अनुमोदन गर्यो ।
***
खौरिईरहेको टेकमणिको घुंग्रिएका कपालका केस्रासंगै उसका अभिमान र क्रान्तिकारी विचार पनि माटोमा झरिरहेका जस्ता देखिए । त्यतिकैमा कपाल खौरदाको दुखाईले उसको आंखावाट एक थोपा आंसु पनि त्यसैमाथि झर्यो । अलिपर मस्ट देवतालाई वलि दिएको वोकाको टाउकोमा आंखा टल्किरहेका थिए ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्