कोरोना निको भएर घर फर्कने बढ्दै

कोरोना निको भएर घर फर्कने बढ्दै

पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको सङ्ख्या बढ्दै गएको हो । कोरोना निको हुनेको सङ्ख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ सङ्क्रमित थपिँदा दुई हजार २८७ जना कोरोना मुक्त भई घर फर्केका छन् । आजसम्म कुल सङ्क्रमितमध्ये ६८.५प्रतिशत डिस्चार्ज भएका छन् ।

सोमबार मुलुकभर ९७९ नयाँ सङ्क्रमित थपिँदा एक हजार ७३६ जना डिस्चार्ज भएका थिए । यस्तै आइतबार पनि सक्रिय सङ्क्रमति (९८० जना) को तुलनामा झण्डै दोब्बर (एक हजार ८१४ जना) कोरोजना जितेर घर फर्केका थिए । हालसम्म कुल ३२ हजार ९६४ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ८६८ रहेको छ । जसमध्ये छ हजार ८१५ होम आइसोलेसनमा रहेका छन् भने आठ हजार ५३ संस्थागत आइसोलेनसमा छन् ।

उपत्यकामा ३९६ सङ्क्रमित थपिए
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९६ नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ सङ्क्रमित फेला परेका छन् । १० हजार ६११ नमूना परीक्षणमा देशभर ९०२ जनामा कोरोना सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कैलालीमा ७७, मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, कास्कीमा ३०, मकवानपुरमा २४, रुपन्देहीमा २१, चितवनमा २०, सप्तरी, सुर्खेत र गोरखामा १८/१८, झापामा १६, पर्सामा १४, ओखलढुङ्गामा १३, बारामा १२, वाग्लुङमा १०, कञ्चनपुरमा नौ, रौतहट, धादिङ र रामेछापमा आठ/आठ सङ्क्रमित फेला परेका छन् ।

बर्दिया र नवलपरासी पूर्वमा सात/सात, सर्लाहीमा छ, बाँकेमा पाँच, सिरहा र महोत्तरीमा चार/चार, नुवाकोट, दाङ र तनहुँमा तीन/तीन, उदयपुर, दोलखा र काभ्रेपलाञ्चोकमा दुई/दुई, इलाम, नवलपरासी, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, स्याङ्जा, सिन्धुपाल्चोक, रोल्पा र दैलेखमा एक/एक सङ्क्रमित थपिएका छन् । मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

थप ६ को मृत्यु
कोरोना भाइरसबाट नेपालमा थप छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६०, काठमाडौँका ८५ र कपिलवस्तुको ६२ वर्षीय पुरुष तथा काठमाडौँकै ८० वर्षीया महिला छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३०६ पुगेको छ । जुन कुल सङ्क्रमितको तुलनामा ०.६३ प्रतिशत हो । विश्वभर दुई करोड ७४ लाख ९२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको छ भने एक करोड ९५ लाख ९२ हजार २८० जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्