विराटनगरमा कोरोना संक्रमितलाई होटल र पार्टी प्यालेसमा राख्ने तयारी, मेन्यूमा मासु र भात

विराटनगरमा कोरोना संक्रमितलाई होटल र पार्टी प्यालेसमा राख्ने तयारी, मेन्यूमा मासु र भात

विराटनगर । प्रदेश सरकारले विराटनगरका होटल, पार्टी प्यालेस र सामुदायिक भवनमा एक हजार बेडको आईसोलेशन केन्द्र बनाउने प्रक्रिया सुरु गरेको छ । प्रदेश कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को निर्णय बमोजिम विराटनगर केन्द्रित एक हजार बेडको आइसोलेसन बनाउने भन्दै सम्बन्धित सरोकारवाला नियकासँग प्रस्ताव माग गरिएको हो ।

सामाजिक विकास मन्त्रालयले होटल, पार्टी प्यालेस र सामुदायिक भवनका सञ्चालकसँग आईसोलेशन केन्द्र बनाउन ईच्छा रहेको अवस्थामा प्रस्ताव पेश गर्न आह्वान गरेको छ । गत भदौ १८ गते बसेको सीसीएमसीको बैठकले विराटनगरमा लक्षण नभएका कोरोना संक्रमित राख्न एक हजार बेडको कोभिड आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको थियो ।

आइसोलेसन निर्माणको व्यवस्थापकीय नेतृत्व सामाजिक विकास मन्त्रालयले गरेको छ । मन्त्रालयले गत मंगलबार होटल, पार्टी प्यालेस तथा सार्वजनिक, सामुदायिक भवनहरुलाई प्रतिदिन प्रति व्यक्तिका लागि लाग्ने खर्चको दररेटसहित आफ्नो प्रस्ताव पेश गर्न सूचनामार्फत आह्वान गरेको हो ।

प्रदेश १ राजधानी रहेको विराटनगरमा मात्रै कोरोना संक्रमितको संख्या १ हजार ३५७ जना पुगेको छ । सीसीएमसीको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले विराटनगरमा एक हजार बेड क्षमताको आइसोलेसन यथासिघ्र निर्माण गर्नेगरी अगाडि बढ्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिनु भएको थियो ।

आइसोलेसन निर्माणका लागि स्थानीय तह र निजी क्षेत्र लगायतसँग समेत समन्वय र साझेदारी गर्ने बैठकले निर्णय गरेको छ । संक्रमितको संख्या दैनिक बढेका कारण महानगर क्षेत्रमा पाँचसय संख्यामा संक्रमित होम आईसोलेशनमा बसेका छन् । होम आईसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य परामर्श नपाएको भन्दै गुनासो बढ्दै गएको छ । सरकारले नागरिकको स्वास्थ्य सुरक्षा प्रत्याभूत गर्नका लागि संस्थागत रुपमै आईसोलेशन सञ्चालनमा ल्याउने योजना अनुरुप प्रस्ताव माग गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले जानकारी दिनुभयो ।

महानगरपालिकाले होम आइसोलेसनमा बसेकाहरुलाई नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन सकेको छैन । रंगेली नगरपालिकाले आफैं आईसोलेशन सञ्चालनमा ल्याएर नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मेवारी लिएको भएपनि विराटनगर महानगरले प्रदेश सरकारको मुख ताकेपछि महानगरपालिकाभित्रै एक हजार बेडको आइसोलेसन तयारी गर्ने प्रक्रिया अघि बढेको हो ।

सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको सूचना अनुसार होटल आइसोलेसनरपार्टी प्यालेस तथा सामुदायिक भवनहरुलाई तीन दिनभित्र प्रस्ताव पेश गर्न भनिएको छ । होटलमा राख्ने कोरोना संक्रमितहरुका लागि विहानको खाजा र खाना तथा दिउँसोको खाजा र बेलुकाको खाना, हरियो तरकारीसहित दुईवटा तरकारी, हप्तामा दुई पटक खसीको मासु खुवाउनु पर्ने शर्त छ ।

होटल तथा पार्टी प्यालेसले आइसोलेसन सञ्चालनका लागि आवश्यक पर्ने सबै व्यवस्था आफैं मिलाउनु पर्ने मन्त्रालयले शर्त राखेको छ । सार्वजनिक तथा सामुदायिक भवन प्रदायकहरुले भने भवनमात्रै पनि मन्त्रालयलाई उपलब्ध गराउन सक्ने गरी प्रस्ताव माग गरिएको हो ।

त्यस्ता भवनहरुमा मन्त्रालय आफैंले आइसोलेसन सम्बन्धी कार्यको व्यवस्थापन गर्ने जनाइएको छ । विराटनगरमा केही होटलहरुले भने सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासँगको सहकार्यमा आफैंले पैसा तिरेर बस्न मिल्ने गरी होटल आइसोलेसन सुरुवात गरिसकेका छन् ।

विराटनगरका साथै सरकारले भोजपुरको भोजपुर नगरपालिका–६ देउरालीस्थित शैक्षिक तालिम केन्द्रको भवनमा २५ बेड र उदयपुर सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताललाई आइसोलेसनका रुपमा सञ्चालन गर्न उदयपुर अस्पताललाई अनुमति दिनेसमेत निर्णय गरेको थियो । सोही बमोजिम उदयपुरमा भने आइसोलेसन सञ्चालनका लागि अन्तिम तयारी भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्