आत्मबलले कोरोनालाई जित्न सकिन्छ : स्वास्थ्यकर्मी

आत्मबलले कोरोनालाई जित्न सकिन्छ : स्वास्थ्यकर्मी

भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थाल्नु भएको एक वर्ष भयो । उहाँ दन्तरोग विशेषज्ञ हुनुहुन्छ । बिरामीको नियमित उपचारमा खटिने क्रममा उहाँलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो ।

“कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उहाँले भन्नुभयो,“त्सपछि आत्मबल बलियो बनाएँ । स्वास्थ्यकर्मी भएकाले निको भएर सेवामा फर्किनु छ भन्ने अठोट बुनें”, उहाँलाई कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएको थिएन । एक्काइस दिनको अस्पतालको बसाइँपछि उहाँ कोरोनामुक्त हुनुभयो । अस्पतालबाट घर फर्किदा उहाँलाई लिन बुबाआमा अस्पताल परिसर पुग्नुभएको थियो । “दैनिकजसो मेडिटेसन गर्थेे, बेसारसहितको तातो पानी पिउथेँ”,उहाँले भन्नुभयो,“खानासँगै फलफूल पनि प्रशस्त खानुपर्छ, आत्मबल बलियो बनाउदा सजिलै कोरोनालाई जित्न सकिन्छ ।”

एक हप्ता घर बसेपछि बिरामीको उपचारमा फर्किने पौडेलको भनाइ थियो । देश र जनताको लागि सेवा गरिरहँदा आफू सङ्क्रमित हुन पुगेको भन्दै उहाँले कोरोनालाई आत्मबल उच्च राखेमा सजिलै जित्न सकिने बताउनुभयो । जिल्लाका कोरोना सङ्क्रमितमध्ये १५ प्रतिशत स्वास्थ्यकर्मी हुनुहुन्छ । स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन थालेपछि यहाँ चुनौती थपिएको थियो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई यहाँ दुव्र्यवहारको प्रयाससमेत भएको थियो । घटनाको चौतर्फी आलोचना भयो ।

डा पौडेलको बसाइँ होस्टलमा भएकाले उहाँले नमिठो अनुभव बटुल्न परेन । आइसोलेशनमा बसेका बेला स्वास्थ्यकर्मीलाई अपमान गरेको समाचार सुनेपछि उहाँलाई एकदमै नराम्रो लाग्यो । कोरोना सङ्क्रमण भएकै बेला उहाँले सामाजिक सञ्जालमा प्रत्यक्ष आएर यसको विरोधसमेत गर्नुभयो ।

कोरोना पोजेटिभ भई आइसोलेशनमा बस्नुभएकी पोखरा निवासी डा श्रेया गौतम पनि दन्तरोग विशेषज्ञ नै हुनुहुन्छ । “बिरामीको उपचारमा खटिएकी थिएँ”,उहाँले भन्नुभयो,“मलाई शुरुमा सुख्खा खोकी देखा पर्यो । विस्तारै कोरोनाका लक्षण देखिएपछि स्वाब सङ्कलन गरँे । रिपोर्ट पोजेटिभ आउँदा सारै डर लाग्यो ।”

कोरोना लाग्यो भनेर डराउन नहुने उहाँको भनाइ थियो । यसबाट छुट्कारा पाउन र अरुलाई पनि सङ्क्रमण हुन नदिन भने विषेश सावधानी अपाउनुपर्ने डा गौतम बताउनुहुन्छ । मानव व्यवहार परिवर्तन हुनसके कोरोनालाई परास्त गर्न सकिने उहाँको तर्क छ । साबुनपानीले हात धुने, मास्क लगाउने र स्यानीटाइजरको प्रयोगले धेरैसम्म कोरोना लाग्नबाट बचाउने डा गौतमले बताउनुभयो ।

कोरोनालाई आत्मबलले सजिलै परास्त गर्न सकिने भएकाले सङ्क्रमितलाई हेलाको दृष्टिले नहेर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । घरपरिवार र आफन्तको हौसला र प्रेरणाले आफूले कोरोनालाई सजिलै जितेको गौतमको प्रतिक्रिया थियो । उहाँ २० दिनको अस्पताल बसाइँपछि कोरोनामुक्त हुनुभएको थियो ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको बेला क्यान्सर अस्पताल भरतपुरमा सबैभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भए । क्यान्सरको उपचार गर्न देशभरबाट बिरामी आउने भएकाले यहाँको सङ्क्रमण दर उच्च थियो । क्यान्सर अस्पतालको आकास्मिक वार्डमा कार्यरत नर्स सविता बस्नेत पनि यसबाट अछुतो रहनसक्नु भएन । उहाँ अस्पतालले उपलब्ध गराएको क्वाटरमा परिवारसँगै बस्ने गर्नुहुन्थ्यो । “तीन वर्षको छोरा र दीर्घरोगी ससुरासँगै हुनुहुन्थ्यो”,उहाँले भन्नुभयो,“छोरालाई स¥यो कि भन्ने ठूलो डर लाग्यो । अस्पतालको एक वार्डमा आइसोलेनमा बसेँ, १४ दिनपछि फेरि काममा फर्किएँ ।” आत्मबल बलियो बनाएर आफू अहिले पनि कोरोना सङ्क्रमितको अग्रपंक्तिमा बसेर काम गरिहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्