अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन कम्प्याक्ट (एमसिसी) लाई आवश्यकतानुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले गरेको छ । सो सम्झौता नेकपाको विवादका कारण प्रतिनिधिसभामा गत वर्षदेखि विचाराधीन छ । परिमार्जनका विषयबारे पार्टीले आगामी दिनमा थप स्पष्ट गर्नेछ । नेकपाको गत माघ १५ देखि १९ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले सोबारे अध्ययन गर्न वरिष्ठ नेता खनाल, स्थायी कमिटी सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गरेकामा त्यसले गत फागुन ९ गते नेकपा अध्यक्षद्वय ओली र दाहाललाई प्रतिवेदन दिइसकेको छ । कूल करीब रु ६४ अर्बको सो परियोजनामा सम्झौताबारे वरिष्ठ नेता खनालको संयोजकत्वमा कार्यदल गठन गरी प्रतिवेदन पेश भइसकेको छ । सो सम्झौतामा काठमाडौंँको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म, रातमाटेदेखि हेटौंँडासम्म, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण तथा रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेशन निर्माण गरिने उल्लेख छ ।