सामाजिक दूरी कायम गर्दै वाग्मती सफाइ महाअभियान

सामाजिक दूरी कायम गर्दै वाग्मती सफाइ महाअभियान

वाग्मती सफाइ महाअभियानको ३८३ औँ हप्तामा गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा सफाइ गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहँदा पनि भौतिक दूरी कायम गरी करिब ६० जना अभियानकर्मीको सक्रियतामा सफाइ अभियानलाई निरन्तरता दिइएको हो । नदी किनारमा आउन नसक्ने अभियानकर्मीले भने आफ्नो टोलमै सफाइ अभियानलाई निरन्तरता दिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिनुभयो ।
सफाइमा पूर्व मुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेललगायत अभियानकर्मीको सक्रियता रहेको सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।
मुहानदेखिकै वाग्मती सफाइ अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले ३४२ औँ हप्ताको सफाइ गोठाटार पुलमुनिको नदी किनारमा सम्पन्न गरेको छ । भौतिक दूरी कायम गर्दै सफाइ गरेर कुहिने र नकुहिने फोहर वर्गीकरण गरिएको थियो । कुहिने फोहर नदी किनारमै गाडिएको थियो । नकुहिने फोहर भने नगरपालिकाको गाडीले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले सुनाउनुभयो । रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका विभिन्न भागमा पनि भौतिक दूरी कायम गर्दै सफाइ अभियान सञ्चालन गरिएको जनाइएको छ ।

फायल तस्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्