नेपाली शान्ति विज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

नेपाली शान्ति विज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

नेपाली शान्तिकर्मी राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ । यही भदौ २७ गते इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा पुरस्कारको घोषणा गरिएको थियो । एकसठ्ठी देशका सङ्गठनको सहयोगमा समारोह आयोजना गरिएको थियो । विश्व महामारीविरूद्ध लगाइएको यात्रा प्रतिबन्धका कारण राजेन्द्रले भने आफैँ उपस्थित भएर प्रमाणपत्र ग्रहण गर्न पाउनुभएन ।

राजेन्द्रले नेपाल र अन्यत्र रहेर शान्ति र सद्भाव कायम गर्न आफ्नो जीवनवृत्ति समर्पित गर्नुभएको छ । उहाँले दक्षिण एशिया र युरोपका अधिकांश देश पुगेर शान्ति निर्माणको बारेमा आफ्नो गहन ज्ञान र अनुभव साट्दै आउनुभएको छ । अन्तरधार्मिक सद्भाव, नागरिक प्रतिरोध र अहिंसा, हिंस्रक आतङ्कवाद रोकथाम तथा नियन्त्रण, मानव अधिकार, द्वन्द्वोत्तर न्यायका साथै दिगो शान्ति निर्माणका लागि युवा र सीमान्तकृत समुदायको मूल प्रवाहीकरणजस्ता क्षेत्रमा रहेको उहाँको विशेषज्ञताका आधारमा उहाँको मुल्याङ्कन भएको थियो ।

राजेन्द्रले शान्ति र न्यायसम्बन्धी मुद्दाहरुमा स्वतन्त्र योगदानकर्ताको रूपमा नेपालको अग्रणी राष्ट्रिय दैनिकहरुमा दर्जनौँ लेख लेख्नुभएको छ । उहाँ यस वर्षको आरम्भमा अष्ट्रेलियाको इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसबाट आइईपीपिस एम्बासेडरका रूपमा समेत चुनिनुभएको थियो ।

कला, संस्कृति, शान्ति र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई दिइने यो शान्ति पुरस्कारका विजेताहरुमा अमेरिकी विविधता रिपोर्टका प्रमुख सम्पादक डेबोरा लेभिन, ईरानी÷आर्मेनियाली सङ्गीत साधक लोरिस टेक्नोवरियन, पत्रकार र आरएआई–३ का निर्देशक फ्रान्को डि मारे, पूर्व फुटबल खेलाडी डमियानो तोमसी, अभिनेता÷निर्देशक फेब्रिजियो बोर्नी, विकिपेडियाका अध्यक्ष मट्टे रफोनी आदि हुनुहुन्छ ।

यो वर्ष यस अन्तर्राष्ट्रिय पुरस्कारको चौथो वर्ष हो । यो पुरस्कारलाई सरकार, विश्वविद्यालय, गैरनाफामूलक संस्था र अभियान, युरोपेली युनियन र युनेस्कोजस्ता अन्तर्राष्ट्रिय सङ्गठनलगायत विश्वका २१ प्रतिष्ठित संस्थाहरूद्वारा समर्थन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्