लामो दूरीमा चल्ने विद्युतीय मिनी बस सञ्चालनमा

लामो दूरीमा चल्ने विद्युतीय मिनी बस सञ्चालनमा

नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा आएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गर्नुभएको हो । कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् ।

सो अवसरमा उहाँले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युत्बाट सवारी साधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले विद्युत्लाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिए भोलिका दिनमा विद्युत् खपतको समस्या नरहने र आयातित इन्धनको निर्भरता कम गर्न सकिन्छ भन्नुभयो । विश्वका अधिकांश मुलुकहरुले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको अवस्थामा विद्युतीय सवारी साधनलाई कर लगाउनु उपयुक्त होइन भन्नुहुँदै पूर्व प्रधानमन्त्री नेपालले यस्ता सवारीलाई प्रोत्साहन पुग्ने गरी नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।

बीस सिट क्षमता रहेका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट भित्र्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोवाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट रहेका छन् । गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको उहाँले जानकारी दिनुभयो ।

बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले यस्ता किसिमका बिजुली बसले वातावरण संरक्षणमा योगदान गर्नुको साथै आफ्नै देशमा उत्पादित बिजुलीको खपत भई आयातित इन्धनको समेत प्रतिस्थापन हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्