सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बस्न आग्रह

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बस्न आग्रह

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्दा झ्याल खुला राख्ने, बसमा चढ्दा ओर्लदा स्यानिटाइजर प्रयोग गर्ने र कार्यालयभित्र जाँदा अनिवार्यरुपमा साबुन पानीले हात धुनसमेत अनुरोध गर्नुभयो ।

“अत्यावश्यक कामका लागि घरबाहिर निस्कनै पर्दछ, सबैले आ–आफ्नो जीवन समान्यीकरण गर्दै लैजानुपर्दछ”, उहाँले भन्नुभयो, “आफ्नो काममा निस्कनका लागि सार्वजनिक यातायात नै चढ्नपर्ने हुन्छ, एक व्यक्ति र अर्को व्यक्ति दुई मिटर टाढा लाइन बसेर चढ्नु पर्दछ ।” सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पुरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

सार्वजनिक यातायात सरकारले सङ्क्रमणलाई नियन्त्रण गर्दै जिवनलाई सामान्यीकरण गर्नका लागि सञ्चालन गरेको उहाँले बताउनुभयो । सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नभएका कारणले काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्दै गएको उहाँको भनाइ छ । स्वास्थ्य मापदण्ड अपनाइ यात्रा गरौँ र आफू, आफ्नो परिवार तथा समाजलाई सङ्क्रमणबाट जोगाउन आवश्यक छ ।

यस्तै ६० वर्षका वृद्धवृद्धा, बालबालिका र दिर्घरोगीलाई घरबाट ननिस्कनसमेत उहाँले अनुरोध गर्नुभयो । कोभिड–१९ को सङ्क्रमणको बारेमा केही विज्ञले समाजमा भ्रम सिर्जना गर्न थालेकाले त्यस्ता विज्ञको कुरा नपत्याउन समेत सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारले सङ्क्रमणको उपचारका लागि धेरै नै मिहनेत गरेको उल्लेख गर्दै हाम्रो जस्तो गरिब देशले सर्वसाधारणको उपचार निःशुल्क गर्नु भनेको सन्तोषजनक रहेको बताउनुभयो । अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण र ४७ हजार २३८ जना सङ्क्रमण निको भई घर फर्किसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्