भूकम्पपीडितबाट घुस लिने प्राविधिक जागिरबाट निकाला

भूकम्पपीडितबाट घुस लिने प्राविधिक जागिरबाट निकाला

भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानूनी हिसाबले रकम लिएका पुनःनिर्माणका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो ।
मापदण्ड विपरीत बनेका घर पास गर्नका लागि प्राविधिक खतिवडाले लाभग्राहीबाट रकम लिएका थिए । पहिलो र दोस्रो किस्ता लिइसकेका तर अन्तिम किस्ता लिन बाँकी लाभग्राहीबाट खतिवडाले रु १० देखि १५ हजारका दरले गैरकानूनी ढंगले रकम असुलेको पाइएको समाचार आइरहेको थियो । स्थानीयवासीको गुनासोसहितका समाचार सार्वजानिक भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले छानबिन थालेका थिए ।
छानबिनका क्रममा लाभग्राहीबाट लाखौंँ रकम उठाएको प्रमाण फेला परेपछि प्राविधिक खतिवडालाई जागीरबाट बर्खास्त गरिएको जिल्ला आयोजना कार्यालयका निमित्त प्रमुख रीता लम्सालले जानकारी दिनुभयो । लाभग्राहीबाट रकम उठाएको विषयमा अनुसन्धान गर्दा प्राविधिकले रकम उठाएको पुष्टि भएको र आरोप लागेका प्राविधिक आफैँले पनि गल्ती स्वीकारेपछि लाभग्राहीबाट लिएको रकम फिर्ता गर्ने शर्तसमेत राखेर जागीरबाट बर्खास्त गरिएको निमित्त प्रमुख लम्सालको भनाइ छ । ‘जसको पैसा हो उसैलाई फिर्ता दिनू भनेका छाँैं ।’ निमित्त प्रमुख लम्सालले भन्नुभयो, ‘जागीरबाट पनि बर्खास्त गरिसकेका छौंँ ।’
श्रीचौरमा खटिएका डकर्मी कर्णबहादुर तामाङ र प्राविधिक खतिवडाले भूकम्पपीडित लाभग्राहीबाट घर पास गर्न घुस रकम लिएको भन्दै लाभग्राहीले गुनासो गरेका थिए । श्रीचौरका करीब ३० लाभग्राहीबाट डकर्मी तामाङ र खतिवडाले रु १० देखि १५ हजारका दरले रकम उठाएको खुलेको छ ।
प्राविधिक खतिवडाले स्थानीयवासीबाट रकम उठाउन पुनःनिर्माणमा खटिएका डकर्मी तामाङलाई परिचालन गरेका थिए । डकर्मी तामाङलाई पनि कारवाहीको प्रक्रिया थालिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नागरिकले खबरदारी गरेमा यस्ता गलत कार्य नहुने जनाउँदै जिल्लाका अन्य ठाउँमा पनि त्यस्तो भएको भए जानकारी गराउन जिल्ला आयोजना कार्यालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्