मोनोक्लोनल एन्टिबडी र कोरोनाको उपचार

मोनोक्लोनल एन्टिबडी र कोरोनाको उपचार

-मनिष अर्याल
कोरोनाको उपचारमा आउन लागेको नयाँ चिकित्सा बिधि हो मोनोक्लोनल एन्टिबडी। यो पद्धति बाट उपचार गरिनु कुनै नयाँ प्रयोग होईन तर यसको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । यो बिधि बाट धेरै किसिमका क्यान्सरको उपचार भइरहेको छ। पछिल्लो समय इबोला भाइरसको उपचारमा पनि यो विधि प्रयोगमा ल्याइएको थियो। हाल अमेरिकी कम्पनिले यसको परिक्षण गरिरहेको छ। यहाँ हामी मोनोक्लोनल एन्टिबडी भनेको के हो र यसले कसरी काम गर्छ भनेर साधारण तरिकाले बुझ्ने कोशिस गरौं ।

सर्बप्रथम एन्टिबडीको बारेमा छोटकरिमा जानकारि :
एन्टिबडी भनेको हाम्रो शरिरको प्रतिरक्षा तन्त्रको रक्षक हो। कुनै पनि संक्रामक तत्व वा बाह्य प्रोटिन शरिरमा प्रवेश गर्‍यो भने त्यस विरुद्ध लड्न शरिरले एन्टिबडी तयार पार्दछ। कुनै पनि संक्रामक तत्व कुनै न कुनै प्रोटिन बाटै बनेको हुन्छ। हरेक किसिमका बाह्य प्रोटिनसँग लड्न शरिरको प्रतिरक्षा तन्त्रले अलग अलग किसिमको एन्टिबडीहरु तयार पारेको हुन्छ। कुनै एक थरिको एन्टिबडीले ती संक्रामक तत्व वा बाह्य प्रोटिनको कुनै एक सानो निश्चित अंश चिनेर त्यसैमा मात्र टासिएर आफ्नो कार्य गर्ने गरेको हुन्छ। त्यो प्रोटिनको त्यो निश्चित भागलाई प्रतिजनक निेर्धारक वा एपिटेप भनिन्छ। एउटा बाह्य प्रोटिन संग लड्न हाम्रो शरिरको प्रतिरक्षा तन्त्रले धेरै किसिमको एन्टिबडी तयार पारेको हुन्छ र हरेकले अलग अलग एपिटेप चिनेर आफ्नो कार्य गर्दछ। अझ भनौ बाह्य प्रोटिनको धेरै प्रतिजनक निर्धारक वा एपिटेप हरु पहिचान गरि त्यसमा टासिएर त्यसलाई निष्क्रिय पार्ने/मार्ने काम गर्ने धेरै थरिका एन्टिबडीहरु तयार भएका हुन्छन्।

मोनोक्लोनल एन्टिबडी :
मोनोक्लोनल एन्टिबडी भनेको प्रयोगशालामा तयार पारिएको एन्टिबडीलाई भनिन्छ। मोनो भने पछि एउटा भनेर बुझिन्छ भने क्लोन भनेको उस्तै तयार पार्नु वा अनुवंशिक हुबहु तयार पार्नुलाई बुझिन्छ। यहाँ भन्नु पर्दा एउटा एन्टिबडी बाट हुबहु उस्तै, उहीँ काम गर्ने र त्यत्तिकै कार्गर अरु धेरै एन्टिबडी तयार पारिएको लाई मोनोक्लोनल एन्टिबडी भनिन्छ। अझ मोनोक्लोनल एन्टिबडी भनिसके पछि एउटा निश्चित संक्रामक तत्व वा बाह्य प्रोटिनको एउटा निश्चित एपिटेपमा काम गर्ने एउटा निश्चित एन्टिबडीलाई प्रयोगशालामा धेरै मात्रामा तयार पारिएको भनेर बुझ्न सकिन्छ ।

कुनै निश्चित संक्रमणका लागि प्रयोगशालामा तयार पारिएको मोनोक्लोनल एन्टिबडी संक्रमितको शरिरमा सुइबाट दिइन्छ । यसले शरिरमा प्रबेश पाउनसाथ आफ्नो काम गर्न थालेको पाइन्छ। यो एन्टिबडीले शरिरमा राम्रो सँग र चाडैं नतिजा आउने गरि काम गर्ने गरेको पाइन्छ।

मोनोक्लोनल एन्टिबडीको कोरोना उपचारमा परिक्षण :

कोरोना संक्रमितको उपचारमा यो अनौठो किसिमको प्रयोग हो। बेलायतमा भइरहेको यसको परिक्षणको नतिजा निकै आश लाग्दो देखिन थालेको छ। यो परिक्षणको लागि कोभिड-१९ भाइरस बिरुद्ध लड्ने सयौं किसिमका एन्टिबडी प्रयोगशालामा तयार पारियो। ति धेरै किसिमका नव-निर्मित एन्टिबडी संक्रमित हरुमा परिक्षण गरियो। ती धेरै किसिमका मोनोक्लोनल एन्टिबडी मध्यबाट सबै भन्दा राम्रो काम गर्ने दुईवटा अलग किसिमका एन्टिबडी पहिचान गरियो। ती दुई एन्टिबडीले कोभिड-१९ भाइरसको अलग अलग भागमा वा भनौ एपिटेपमा राम्रो सँग टासिएर भाइरसलाई निष्क्रिय पारिरहेका वा मारिरहेका थिए। कोभिड-१९ को उपचारकालागि ती दुई अलग अलग किसिमका एन्टिबडी एकै ठाउमा मिसाएर प्रयोगमा ल्याइएको छ। ती मिश्रित एन्टिबडी प्रयोगमा ल्याइदा भाइरसलाई चाँडै निष्क्रिय पार्न सकिने र भाइरसले आफ्नो संरचना परिवर्तन गरिहाल्यो भनेपनि कार्गर भइरहने आश गरिएको छ। एउटा एन्टिबडीले भाइरसको संरचना पहिचान गर्न नसके अर्कोले पहिचान गरि आफ्नो कार्य गर्न सक्ने हुन सक्छ। हामिले भुल्न हुदैन भाइरसले आफ्नो संरचना परिवर्तन गरिरहने हुन्छ।

कोरोना संक्रमितहरुको उपचारमा मोनोक्लोनल एन्टिबडी सुलभ रुपमा प्रयोगमा ल्याइनु भन्दा पहिला यसमा अझ धेरै परिक्षण हुन बाँकी नै छ। यो विधिले कत्ति को सफलता हासिल गर्न सक्ला भनेर भन्नलाई पनि यसमा धेरै भन्दा धेरै परिक्षण हुन जरुरी देखिन्छ। प्लाज्मा थेरापीले काम गरिरहेको पाइएको भएर यो बिधिपनि कार्गर हुने छ भन्नेमा धेरै बिज्ञहरुको आश छ। दुबै बिधिमा मुख्यत एन्टिबडीनै संक्रमितको उपचारमा प्रयोग गरिने हो। अझ अरुको शरिरबाट निकालिएको प्लाज्मामा एन्टिबडी कत्तिको कार्गर बनेको छ भनेर राम्रो जाँच नगरि गरिने प्लाज्मा थेरापी भन्दा यो धेरै कार्गर हुनेछ भन्नेमा बिज्ञहरु आशावादि छन् । फेरि बेलायतमा चलिरहेको यसको परिक्षणको प्रारम्भिक नतिजा राम्रै आइरहेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्