विराटनगर । विराटनगरको कोशी अस्पतालमा गुणस्तरीय शिशु स्याहारका लागि ‘सुसार’ कार्यक्रम सुरु भएको छ । मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन ‘सुसार’ कार्यक्रम सोमबारदेखि सुरु भएको हो ।
गुणस्तरीय सेवा सुधारअन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविधिहरु प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउने उद्देश्यले कार्यक्रम सुरू गरिएको सञ्चार विज्ञ सिर्जना शर्माले जानकारी दिइन् । उनका अनुसार अस्पताल अन्तर्गतका मातृ तथा नवजात शिशु स्याहार वडाहरुमा गुणस्तर सुधारका लागि चाहिने सीप र प्रविधिलाई प्रयोगमा ल्याई प्रसूति समयको जटिलतालाई गुणस्तरीय व्यवस्थापन गर्न कार्यक्रमले सहयोग पु¥याउने बताइन् । सुसार कार्यक्रम प्रदेश १ को कोशी अस्पतालमा मात्र कार्यक्रम शुभराम्भ भएको गोल्डेन कम्युनिटीका कार्यक्रम प्रबन्धक रेजीना गुरूङले बताइन् । ‘प्रराम्भिक चरणमा यो कार्यक्रम दुई वर्षको लागि संचालनमा आएको छ,’ उनले भनिन्, ‘नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन र माृत शिशुको मृत्युदर घटना ठूलो सहयोग पु¥याउँछ ।’
प्रसूति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय लिन सुसार कार्यक्रमले स्वास्थ्यकर्मीलाई सशक्त बनाउने उनको भनाई छ । नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मन्छन् । तीमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन् भने करिब १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्छन् । करिब १७ प्रतिशत शिशु जन्मेको पहिलो घन्टामा, ५७ प्रतिशत शिशु जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत जन्मेको पहिलो हप्तामा मर्ने गर्छन् । नवजात शिशु मृत्युको कारणमध्ये महिना नपुगी जन्मनु (३१ प्रतिशत) जन्मनासाथ श्वास फेर्न नसक्नु (२३ प्रतिशत) तथा संक्रमण हुनु (१९ प्रतिशत) प्रमुख रहेको संस्थाले जनाएको छ ।