बिराटनगर, २४ अशोज । स्थानिय स्टार बहुउद्देश्यीय सहकारी संस्था लि. मोरङ्गको २३ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कोरोना महामारीका कारण स्वास्थ्य सम्वन्धि मापदण्डहरुको पालना गर्दै सहकारी बिभागको निर्देशन अनुसार प्रतिनिधिमूलक साधारण सभा सम्पन्न गरिएको हो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मंत्री हिकमत कुमार कार्किले समाज रुपान्तरणका निमित्त सहकारी संघ/संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको कुरा बताउनु भयो । उहांले मुलुकको बर्तमान महामारीको अवस्थामा ब्यापक रोजगारी सृजना गरी नेपाली जनतालाई देशमानै बस्न सक्ने अवस्था सृजना गर्नु अहिलेको आवश्यक्ता रहेकोमा जोड दिदै सहकारी क्षेत्र अब उत्पादन, प्रशोधन र बजारीकरणमा अगाडि बढ्नु पर्छ, भन्नु भयो । राष्ट्रिय उत्पादनमा देखिनेगरी १ नं. प्रदेशका सहकारीहरु लाग्न उंहाले आग्रह गर्नु भयो ।
संस्थाको प्रतिबेदन वाचन गर्दै संस्थाका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारीको बिकास र विस्तार नै मुलुक सम्बृद्धिको आधार हो भन्नु भयो । उंहाले संस्थाले ग्रामिण समुदायमा आधारित सदस्यहरुको आर्थिक उन्नतीका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको र कोरोना महामारीको यो बिषम परिस्थितीमा संस्थाका सदस्यहरुको भरपर्दो सहयोगी बन्न सहकारी सफल भएको कुरा बताउनु भयो ।
कार्यक्रममा संस्थाले यो बर्ष कुल १ अरब ७० करोड १९ लाख ९ हजार ८ सय १० रुपैया बराबरको कारोवार गर्न सफल भएको र २ हजार भन्दा बढी सदस्यलाई आवद्ध गरेको बताईएको छ । त्यसैगरी संस्थामा ३ करोड ८० लाख शेयर रकम सहित २५ करोड भन्दा बढी बचत मौज्दात हुनुका साथै करिव २६ करोड रुपैया सदस्यहरु माझ कर्जा प्रवाह गरिएको संस्थाका सदस्य सचिव डिल्ली पोखरेलले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा उद्योगपति दिनबन्धु गोयल र संस्थाद्धारा स्थापित “स्व. ओम प्रकास -स्टार सहकारी छात्रवृति” वितरण गरिएको थियो । बिभिन्न सामुदायिक बिद्यालयवाट एस.ई.ई. उतिणर् ११ जना छात्रछात्रालाई जनही रु.७ हजारका दरले उक्त छात्रवृति संस्थाको साधारणसभाका दिन वितरण गर्ने गरिएको छ । छात्रवृतिका लागि रु. ७ लाखको अक्षयकोष स्थापना गरिएको छ । यस बर्ष छात्रवृति पाउँनेहरुमा स्तुती खतिवडा, श्री पोखरिया माध्यमिक विधालय विराटनगर, अन्जना कुमारी राय, श्री श्रीमाध्यमिक विधालय बर्जु-६, सुनसरी, सुनैना कुमारी राजवंशी, श्री दुर्गा माध्यमिक विधालय बुधनगर, मन्जुला कुमारी तत्मा, श्री मिल्स माध्यमिक विधालय विराटनगर, सुनिता ढकाल, श्री देवी माध्यमिक विधालय तेतरिया, राहुल कुमार साह, श्री राम सीता माध्यमिक विधालय बर्जु-२, सुनसरी, सृजना सरदार, श्री विराट महेन्द्र रात्री माध्यमिक विधालय विराटनगर, पिन्टु पासवान, श्री जनपथ माध्यमिक विधालय विराटनगर, कविता रिषिदेव, श्री जनपथ माध्यमिक विधालय विराटनगर, कामना अधिकारी, श्री सरस्वति उच्च माध्यमिक विधालय विराटनगर र शकुन्तला ढकाल, श्री देवी माध्यमिक विधालय तेतरिया रहेका छन् ।
कार्यक्रममा माननिय बसन्ती देवी यादव, विराटनगर महानगरपालिका वडा नं. १२ का अध्यक्ष हिरालाल कामत, जिल्ला सहकारी संघ लि. मोरङ्गका बरिष्ठ उपाध्यक्ष विजय कुमार माझी, सचिव बिरेन्द्र यादव लगायतले बोल्नु भएको थियो ।