बुद्धशान्ति गाउँपालिकाले कोरोना कहरका बेला रु ७० लाख खर्च गरेर हालै खरिद गरेको स्कार्पियो गाडी फिर्ता गराउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय कमिटीले आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।
नेकपा बुद्धशान्ति गाउँपालिका स्थानीय तह परिचालन विभागको आइतबार सम्पन्न बैठकले महँगो सवारी साधन आवश्यक नभएको ठहर गर्दै गाडी फिर्ता गराउन निर्देशन दिएको पार्टीका गाउँपालिका इञ्चार्ज रोशन तिम्सिनाले बताउनुभयो ।
पार्टीको गाउँ परिषद् र कार्यपालिकाको निर्णयविपरित महँगो गाडी खरिद गरी ल्याइएको हुँदा उक्त गाडी फिर्ता गराउन निर्देशन दिइसकेपछि पार्टी मातहतका जनप्रतिनिधिले गाडी फिर्ताको पहल गर्ने उहाँको भनाइ छ । बैठकमा पार्टीका गाउँपालिका अध्यक्ष टिका पाठक, सचिव प्रेम नेम्वाङ, गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेल, पार्टीबाट निर्वाचित वडाध्यक्षलगायतको उपस्थिति थियो ।
नेकपाको स्थानीय कमिटीले गरेको निर्णय स्वागतयोग्य भएको स्थानीयवासी कृष्ण कोइरालाले प्रतिक्रिया दिनुभयो । “कोरोनाले आर्थिक सङ्कट बढिरहेका बेला महँगो गाडी किन्नु ठिक हुँदैन”, उहाँले भन्नुभयो, “नेकपाले गाडी फिर्ताको सही निर्णय गरेको छ, अब यो निर्देशनको पालना हुनुपर्दछ ।”
सांकेतिक तस्विर