प्रदेश सरकार असक्षम भएको प्रतिपक्षी काँग्रेसको आरोप, तत्काल एक हजार शैय्याको अस्पताल सञ्चालनमा ल्याउन माग

प्रदेश सरकार असक्षम भएको प्रतिपक्षी काँग्रेसको आरोप, तत्काल एक हजार शैय्याको अस्पताल सञ्चालनमा ल्याउन माग

विराटनगर । प्रदेश १ सरकारलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भेन्टिलेटर सविधासहितको एक हजार शैय्याको कोभिड अस्पताल १५ दिन भित्रै सञ्चालनमा ल्याउनका लागि मााग गरेको छ ।
प्रदेश सभाको प्रमुख पतिपक्षी दल नेपाली काङ्ग्रेसले मङ्गलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि तत्काल कोरोना संक्रमितको उपचारको लागि आवश्यक व्यवस्थापन मिलाउन माग गरेको हो ।

आयोजित पत्रकार सम्मेलनमा विपक्षी दलका नेता राजीव कोइराला र प्रमुख सचेतक केदार कार्कीले १ हजार शय्याको कोभिड अस्पतालको निर्माण गरिनु पर्ने माग गरेका हुन् ।
नेता कोइरालाले लकडाउनका अवधिमा प्रदेश सरकारले कोभिड अस्पतालको निर्माण गर्ने प्रशस्त अवसर भएपछि अक्षमता र अकर्मण्यता देखाएकोले चुकेकोे आरोप लगाए ।
प्रदेश सरकारले विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाउन आग्रह गर्दै चौतर्फी सङ्कटका बेला राज्य उदासीन र एकलकाँटे भइरहेको टिप्पणी गरे।

 

नेता कोइरालाले साउन ९ गते प्रदेशको बजेट अधिवेशन समाप्त गरिएको जानकारी दिँदै हिउँदे अधिवेशन तुरुन्त सञ्चालन गर्न आग्रह गरे।
उनले भने, ‘यस विषम परिस्थितिमा प्रदेश सभामा सरकारले जनताका आवाज सुन्नुपर्छ त्यसैले तुरुन्त अधिवेशन बोलाउन हामी माग गर्छौं।’

प्रदेश सभाका प्रमुख सचेतक कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै साउनको अन्तिम हप्तामा यस प्रदेशका माननीय मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी विराटनगरमा एक महिनाभित्र एक हजार शय्याको कोभिड अस्पतालको निर्माण गर्ने घोषणा गरेको स्मरण गराए।

विज्ञप्तिमा कार्कीको प्रश्न छ, ‘यो घोषणा उहाँले सार्वजनिक रूपमा गर्नुभयो। राजनीतिक दलहरूको बैठकमा पनि गर्नुभयो र सञ्चारमाध्यमबाट प्रचार–प्रसार पनि गर्न लगाउनु भयो। तर, आज कहाँ छ कोभिड अस्पतालरु’ उनले भने, ‘अर्कातिर भेन्टिलेटरयुक्त उपचार नपाएर प्रदेशमा कोभिड–१९ का बिरामीहरू घरघरमै छटपटाएर मरिरहेका छन्। प्रदेश सरकारलाई यसको कुनै वास्ता छैन। मुख्यमन्त्री र अन्य मन्त्रीहरू सार्वजनिक उद्घाटन र शिलान्यासमै व्यस्त देखिएका छन्। प्रदेश सरकारमा अलिकति पनि मानवीय संवेदना र करूणा देखिएको छैन।’

कार्कीले प्रदेश नम्बर १ कोरोना सङ्क्रमणको हट स्पट बनेको बताए ।

उनले दिनानुदिन अनपेक्षित रूपमा सङ्क्रमितको सङ्ख्या बढिरहेको चर्चा गर्दै सरकारी कार्यक्रम र समारोह होस् वा गुदरी, शहर, हाटबजार कतै पनि स्वास्थ्यसम्बन्धी प्रोटोकलको ख्याल नगरेको जिकिर गरे।

उनले भने, ‘मास्कको प्रयोग नगरी र दूरी कायम नगरी तीन तहकै सरकारका बैठक, समारोह र कार्यक्रम भइरहेका छन्। अगुवा भनेको सरकारकै अवस्था असभ्य र अशिक्षित प्रकारको देखिएको छ।’

कार्कीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालका ८ भेन्टिलेटरमध्ये ५ वटा बिग्रिएको र कोशी कोभिड अस्पतालका ५ मध्ये २ वटा बिग्रेको जानकारी गराए। उनले प्रदेशमा कोभिड–१९ का बिरामीले सामान्य न्यूनतम उपचारसमेत नपाउने अवस्था उत्पन्न भएको उल्लेख गरे।

कार्कीले नोबेल, न्यूरो र विराट जस्ता निजी क्षेत्रका अस्पतालका भेन्टिलेटर यहाँका बिरामीका लागि अपर्याप्त भएको स्पष्ट पारे।
उनले भने, ‘अत्यधिक बहुमतप्राप्त प्रदेश सरकारबाट हामीले गरेको अपेक्षा चकनाचुर भएको छ । प्रदेशका नागरिक कोरोनाको सङ्क्रमणबाट कोही मरून् वा बाँचुन् त्यसको मतलब मुख्यमन्त्री र अन्य कुनै मन्त्रीलाई छैन। प्रदेशको नागरिक उपचार नपाएर आफ्नै घर वा डेराको आइसोलेसनमा अत्यन्त दयनीय र पीडादायी रूपमा मर्न बाध्य छन् तर पनि सरकारको आँखा खुलेको छैन। प्रदेश सरकारलाई साधन, स्रोत र बजेटको अभाव पनि भएको होइन। अभाव त कार्यशैलीको, कार्यक्षमताको र योग्यताको देखिएको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्