विराटनगर । सुनसरीको धरानमा बुधबार थप दुई जना र विराट मेडिकल कलेजमा बुढीगंगाको एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
मोरङको बेलबारी नगरपालिका १० का ३७ वर्षीय पुरुष र सुनसरीको इटहरी उपमहानगरपालिका ६ की ६० वर्षीय महिलाको वीपीमा मृत्यु भएको हो। यसैगरी मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीका कोरोना संक्रमित पुरुषको मंगलबार राती विराटमा मृत्यु भएको छ ।
वीपीमा मृत्यु हुने पुरुषमा २१ असोजमा कोरोना पुष्टि भएको थियो। विपी कोभिड अस्पतालमा २७ गते भर्ना गरिएको उनमा दिर्घरोग रहेको जानकारी परिवारले दिएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी इटहरी उपमहानगरपालिका ६० वर्षीय महिलालाई असोज २४ गते कोरोना पुष्टि भएको थियो। मधुमेह रोगी उनको बिहान ४ बजे मृत्यु भएको हो।
योसँगै बिपी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ५३ पुगेको छ।
बुढीगङ्गास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषमा असोज १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका उनमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको कलेजका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनुभयो ।