विश्वव्यापी बजारमा छालाको मूल्यमा निरन्तर गिरावट आएपछि तयारी वस्तु उत्पादन गर्दै नेपाली उद्योगी

विश्वव्यापी बजारमा छालाको मूल्यमा निरन्तर गिरावट आएपछि तयारी वस्तु उत्पादन गर्दै नेपाली उद्योगी

विराटनगर । अन्तराष्ट्रिय बजारमा छालाको माग र मूल्यमा निरन्तर मन्दि आएपछि नेपाली उद्योगीले तयारी वस्तु उत्पादनमा लगानी बढाएका छन् । मूल्यमा ह्रास आएसँगै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले छाला निकासी रोकेर तयारी वस्तु उत्पादनमा लगानी बढाएका हुन् ।

अन्तराष्ट्रिय बजार मूल्यमा आएको गिरावटले नेपाली छाला उद्योगको उत्पादन निकासी पछिल्लो तीनवर्ष यता प्रभावित बन्दै आएको हो ।
विराटनगर भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६÷२०७७ मा २३ लाख ४९ हजार ६४० वर्गफिट मात्रै छाला निकासी भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ मा ५८ लाख ८३ हजार वर्गफिट छाला निर्यात भएको थियो । आर्थिक वर्ष ०७४÷०७५ मा ७९ लाख ८२ हजार ७६४ वर्गफिट र आर्थिक वर्ष २०७३÷०७४ मा ७२ लाख ३२ हजार ५०३ बर्गफिट छाला निकासी भएको देखिन्छ ।


भारत तथा तेस्रो मुलुकमा विराटनगर भन्सार नाका हुँदै तीनवटा छाला उद्योगले आफ्नो वस्तु निकासी गर्दै आएका छन् । एसियन लेदर, नेपाल ट्यानिङ र युनाइट्ड लेदर इण्ड्रट्रिजले छाला उत्पादन गरेर भारत तथा समुद्रपारका मुलुकमा निकासी गर्दै आएका थिए ।
अन्तराष्ट्रिय बजारमा ४० देखि ७५ प्रतिशतसम्म मूल्यमा आएको ह्रासको प्रभावले नेपाली छाला उद्योगको निकासी प्रभावित बनेपछि छालाबाट बन्ने उपभोग्य वस्तु उत्पादनमा लगानी समेत बढाइएको छ । चीन, इटली, फ्रान्स, टर्की, ल्याटिन अमेरिका लगायत सबैजसो मुलुकका क्रेताले अर्डर रद्द गर्न थालेसँगै सुनसरीको दुहबीको युनाइटेड ट्यानरिजले छालाबाट बन्नेसामाग्री उत्पादन सुरु गरेको हो । उद्योगका सञ्चालक परवेज अख्तरका अनुसार काँचो, अर्ध प्रशोधित, प्रशोधित र तयारी छाला गरी ५० करोडभन्दा बढीको मालवस्तु मौज्दात रहेपछि २० करोड लगानी थप गरेर छालाका सामाग्री उत्पादन गर्ने युनाइटेड रियल लेदर कारखाना स्थापना गरिएको छ ।

युनाइटेडले वार्षिक १५ लाख वर्ग फिटसम्म तयारी छालाको निर्यात गर्दै आएको थियो । नेपाल प्रहरी र नेपाली सेनाले लगाउने बुटका लागि युनाइटेडले नै छालाको आपूर्ति गर्दै आएको छ । विश्वका विकसित मुलुकका उद्योगले तयारी वस्तु बनाएर निर्यात गरिरहेकोले नेपालमा समेत ब्राण्डेड सामाग्री उत्पादन गरेर निर्यात गर्ने लक्ष्य राखिएको उद्योगीहरुले दावी गरेका छन् ।
उद्योगले उत्पादन गरेका जुत्ता अहिले नेपाली बजारमा ल्याईसकिएको छ । युनाइटेड रियलले आफ्ना उत्पादन छालाका जुत्ताको पहिलो सो रुम विराटनगरमा खोलेको छ । विराटनगरको मेनरोडको सेन्ट्रल मलमा सो रुम स्थापना गरिएको हो ।
उद्योगका अर्का सञ्चालक मजहर हकका अनुसार २० करोड रुपिँयाको लगानीमा तत्काल जुत्ताको सानो कारखाना सञ्चालन सुरु गरिएको छ । व्यापार विस्तारसँगै उद्योगको क्षमता बढाइने योजना समेत राखिएको छ । उद्योगमा १० प्राविधकसहित ५० जनालाई रोजगारी दिएर सामाग्री उत्पादन सुरु गरिएको हो ।

प्रारम्भिक चरणमा युनाइटेडले जेन्स, लेडिज र बालबालिकाका गरी २८ प्रकारका जुत्ता उत्पादन गरेर बजारमा ल्याएको छ । स्कुलका छात्रछात्राले प्रयोग गर्ने जुत्ता पनि समावेश छन् । युनाइटेडका जुत्ता खुद्रामा एक हजार ५०० देखि पाँच हजार रुपिँयासम्मका रहेका छन् । उद्योगको उद्देश्य जुत्ताको निर्यात भएकोले नेपालमै रहेको कच्चाबाट सामान निमाण गरिने भएको उद्योगी परवेजले दावी गर्नुभयो ।
नेपालमा काँचो छाला पर्याप्त मात्रामा पाइने र यसैको सङ्कलन र प्रशोधन गरेर आफ्नो उद्योगले तयारी छालाको उत्पादन गर्ने उद्योगी मजहरको भनाई छ । छाला नेपालकै प्रयोग गरिने भएपनि जुत्ताको सोल भने चीनबाट पैठारी गरिने बताइएको छ ।

युनाइटेडले बाख्रा, भैँसी र राँगाका छालाबाट जुत्ता उत्पादन गरिरहेको छ । उद्योगले विराटनगरपछि दशैँ अगाडि नै काठमाडौंको सात दोबाटोस्थित सेल्सबेरी स्टोर, नयाँ सडकस्थित विशाल बजार र पोखराको सेल्बेज स्टोरमा पनि सो रुम खोलिसक्ने योजना बनाएको छ । जुत्ताको बजार विस्तार र स्थापित भएपछि दोस्रो चरणमा बेल्ट, वालेट, लेडिज ब्याग र ल्यापटप ब्यागको उत्पादन गरिने दावी छ । उद्योगी मजहरका अनुसार आयात प्रतिस्थापनलाई मद्दत गर्ने गरि अन्तर्राष्ट्रिय गुणस्तरको तयारी छालाका सामाग्री उत्पादन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्