सर्पदंशका बिरामीलाई झारफुक गर्न थालेपछि धेरैको ज्यान गयो

सर्पदंशका बिरामीलाई झारफुक गर्न थालेपछि धेरैको ज्यान गयो

ताप्लेजुङको फक्तताङलुङ गाउँपालिका—५ तापेथोककी धनमाया मावो गत असारको अन्तिम साता घर नजिकैको सुङ्गुरको खोरमा झार उखेल्दै हुनुहुन्थ्यो । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो ।

त्यसपछि श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल हिँडेर धामी (फेदाङ्वा) बोलाएर झारफुक गर्न लगाउनुभयो । भोलिपल्ट बिहान ४ बजे धामीकै अगाडि धनमायाको मृत्यु भयो । ‘‘हामीले बेलुका मात्रै थाहा पायौँ’’ छिमेकी रामले भन्नुभयो, ‘‘झारफुक गर्दागर्दै उनको मृत्यु भयो ।’’ उक्त गाउँबाट नजिकैको लेलेप स्वास्थ्यचौकी तीन घण्टा पैदल दूरीमा छ ।

मिक्वाखोला गाउँपालिका–४ थलङ निवासी अमरसिं थलङ रोजगारीको क्रममा फक्ताङलुङ गाउँपालिका– ६ लेलेप सडकको ग्याबिन बुन्न पुग्नुभयो । राति छिमेकीको घरमा मोबाइल चार्ज गर्न जाने क्रममा रुखमा लुकेर बसेको सर्पले गत भदौ २० गते रातको १२ बजे गालामा डस्यो । गालामा डसेपछि शरीरमा विष फैलन नदिनका लागि डोरीले बाँध्न पनि समस्या भयो र झारफुक गरे । तर सिकिस्त अवस्थामा पुगेपछि थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा पु¥याइयो । जिल्ला अस्पताल ताप्लेजुङमा एक रात राखेपछि अवस्था निकै गम्भीर भयो र थप उपचारको लागि २२ गते झापाको चारआली सर्पदंस अस्पतालमा पु¥याइयो । उहाँको अहिले उपचार जारी छ ।

फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका १३ वर्र्षीय फाल्गुनन्द तुम्बाहाम्फेलाई विसं २०७६ वैसाख २६ मा घरमै सर्पले डस्यो । सुतिरहेको समयमा हातमा सर्पले डसेको थियो । तर परिवारले उपचारमा लगेनन् बरु धामी बोलाए । धामीले घाउ नजिकै डोरीले बाँधे र झारपात पिसेर लगाइदिए । यसरी धामीले १५ दिनसम्म विष झार्न प्रयास गरिरहे । निको हुनुको साटो हात सुनिन्दै गयो । निको नलागेपछि छिमेकीको आग्रहमा तापेथोक स्वास्थ्य चौकी लगियो ।
स्वास्थ्यचौकीले यहाँ उपचार सम्भव नहुने भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाहा दियो । उपचारका लागि झापातर्फ लैजाने क्रममा इलामको फिक्कल पुग्दा उनको मृत्यु भयो । स्थानीयवासी दीपक लिम्बूका अनुसार बालकलाई निको बनाउन इसाई धर्मको विधिअनुसार पटकपटक बाइबल पढाइएको थियो । अनि निको हुन्छ भन्दै परिवारका सदस्यलाई बाहिर कतै नलैजान भनिएको थियो । सर्पले डसेर घाइते बनेकी फक्ताङलुङ– ४ इखाबुकी नैनरानी लिम्बूलाई पनि परिवारले झारफुक गर्न लगाए । धामीले निको पार्छु भनेपछि दुई दिनसम्म बाटो हेरे । बिरामीको अवस्था नाजुक बन्दै गयो । धामीले पार लगाउन नसकेपछि जिल्ला अस्पताल पु¥याइयो ।

अस्पतालले झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लैजान भन्यो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा विर्तामोडमा गत साउन १३ गते नैनरानीको मृत्यु भयो । घरबाट आधा घण्टा पैदलमा रहेको अलैँची बगानमा घाँस काट्न जाँदा उहाँ सर्पको शिकार हुनुभएको थियो ।
फक्ताङलुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार उक्त गाउँपालिकामा मात्रै पछिल्लो तीन वर्षमा १५ जनाको सर्पले डसेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा सात जना, २०७५÷७६ मा चार जना र २०७४÷७५ मा चार जनाको सर्पको टोकाइबाट नै मृत्यु भएको भट्टराईको भनाइ छ । यो अवधिमा सर्पले डसेर घाइते हुने २० भन्दा बढी छन् ।अन्य पालिकामा पनि सर्पको बिगबिगी उस्तै छ । गत जेठ २१ गते फुङलिङ नगरपालिका—२ लहरेगाउँका ६८ वर्षीय प्रातलाल बम्जनलाई सुतेकै ठाउँमा सर्पले डस्यो । राति धामी बोलाएर विष झार्न लगाइयो । एक घण्टा दूरीमा रहेको जिल्ला अस्पताल लैजानेतर्फ कसैले चासो दिएनन् । बिहान ५ बजे उहाँको मृत्यु भयो ।
फक्ताङलुङ गाउँपालिका—४ का मणिप्रसाद लावुङका अनुसार त्यो भेगमा पाइने सर्प गुर्भे र हरियो (सतुवा) हुन् । यी सर्पले अलैंची बगानमा काम गर्दा र घाँस दाउरा गर्दा मानिसलाई आक्रमण गर्ने गरेका छन् । सर्पले डसेपछि झारफुक गर्ने, डोरीले कस्ने, झारपात माडेर लगाउने, बुटी बाँध्ने जस्ता परम्परागत उपचार पद्दति व्याप्त छ ।
निकै ढिलो भएपछि मात्रै स्वास्थ्य संस्थामा लैजाने चलन रहेको लावुङले बताउनुभयो । गाउँघरमा विष निक्लियोस् भनेर डसेको ठाउँमा चिरेर रगत बगाउने र मुखले चुसेर रगत झिक्ने चलन छ । यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिनुका साथै विभिन्न प्रकारको सङ्क्रमणको जोखिममा समेत वृद्घि हुने चिकित्सक बताउँछन् ।

यी सर्प विषालु नभए पनि डसेको ठाउँमा अन्य सङ्क्रमण भएर बिरामीको ज्यान जाने गरेको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा सोनिङ लामाको भनाइ छ । ‘‘सर्पले डसेपछि उहाँहरु घरेलु उपचारमा लाग्नुहुन्छ, कतिको घरमै मृत्यु हुन्छ, कोही अन्तिम अवस्थामा मात्रै हामीकहाँ आइपुग्नुहुन्छ,’’ लामाले भन्नुभयो, ‘‘गलत उपचारले रगतमा इन्फेक्सन हुन पुग्छ र अन्य सङ्क्रमणले ज्यान गएको उदाहरण छ ।’’

सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न डा लामाको सुझाव छ । जतिसक्दो छिटो स्वास्थ्य संस्थामा पु¥याउनु नै उत्तम उपाय भएको लामाल बताउनुहुन्छ । ‘‘सर्पले टोकेको अङ्गलाई चलाउनु हुँदैन, त्यस अङ्गलाई सकेसम्म हलचल नगरी बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्ने सुझाव उहाँको छ । गाउँघरमा सर्पदंशका कारण नागरिक पीडित हुने गरेका छन् । तर यस क्षेत्रमा उपचारको राम्रो र सुलभ प्रबन्ध छैन । देशका तीनै तहका सरकारको यस समस्याप्रति कुनै योजना र ध्यान नै छैन । खासगरी यस समस्याबाट न्यून आय भएका सर्वसाधारण व्यक्ति बढी प्रभावित भइरहेका छन् । आफ्नो पालिकामा अन्य भन्दा सर्पदंशको समस्या जटिल रहेको फक्ताङलुङ गाउँपलिकाका अध्यक्ष सरोज लिम्बूको भनाइ छ । ‘‘हाम्रो क्षेत्रका नागरिकलाई सर्पले धेरै दुःख दिइरहेकोले यो वर्षदेखि टोलटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको लिम्बूले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्